|

बैतडी : बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आएपछि सडक निर्माणलाई प्राथमिकता राखेका छन्। सडक मुख्य आवश्यकता भएकाले सडक प्राथमिकतामा राखेको जनप्रतिनिधिहरुले बताएका छन्।

निर्वाचित भएको अढाई वर्षको अवधिमा बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मा साढे १८ किलोमिटर सडक निर्माण गरिएको वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए। गुरुखोला खाल कलौन सडक निर्माणमा २० लाख खर्च भएको र १२ किलोमिटर सडक निर्माण गरिएको हो।

यस्तै गुरुखोला–सतबाँझ ३ किलोमिटर सडक निर्माणमा ३ लाख, खालिकाचौर कैलपालमाण्डौं सडक निर्माणमा १० लाख र पारीकलौन सडक निर्माणमा ३ लाख खर्च गरिएको वडा कार्यालयले जनाएको छ। स्थानीयहरुको मागअनुसार सडक निर्माणलाई प्राथमिकतामा राखिएको वडा अध्यक्ष भट्टको भनाइ छ।

गुरुखोला खाल–कलौन सडकलाई द्यौमडा सम्म विस्तार गर्न २ करोडमा ठेक्का भएर काम समेत भईरहेको वडा अध्यक्ष भट्टले बताए। यस्तै पुराना सडकहरुलाई पनि अढाइ वर्षको अवधिमा स्तरोन्नती गर्ने काम भएको वडा कार्यालयले जनाएको छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका केही कुरा अघि बढेको छ।

ग्रामीण सडक निर्माण हुँदा आफूहरूलाई कृषि उपज बजारसम्म पुर्‍याउन सजिलो भएको दशरथचन्द नगरपालिका १ का परमानन्द भट्टको भनाई छ। उनले भने, 'आफूले फलफूलको नर्सरी समेत स्थापना गरेकाले नर्सरीबाट उत्पादित बोटविरुवाहरु विक्रिका लागि बजार सम्म पुर्याउन पनि सहज भएको छ।' ग्रामीण सडकलाई छिट्टै स्तरोन्नति गर्न पनि उनले आग्रह गरे।

गाउँमा सडक पुगेपछि बालबालिकादेखि वृद्धवृद्धा सम्मलाई सजिलो भएको छ। गाउँमा सडक पुगेपछि आफूहरुलाई निकै खुसी लागेको स्थानीय बयोवृद्ध शेरबहादुर पाण्डेले बताए। उनले भने, 'आफ्नै जीवनकालमा गाउँमा सडक पुगेपछि निकै खुसी लागेको छ।'

 गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुर्‍याउन होस अथवा अन्य बिरामीहरुलाई अस्पताल पुर्याउन सडकले सजिलो भएको महिला स्वास्थ्य स्वयंसेविका ईश्वरी भट्टले बताइन्। उनले भनिन्, 'सकेसम्म नागरिकका आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.