|

काठमाडौं : संयुक्त राष्ट्रसंघले विश्वव्यापी रुपमा शून्य भोकमरीका लागि स्वस्थ आहार खानुपर्नेमा जोड दिएको छ। संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन एफएओले विश्व खाद्य दिवसको अवसर पारेर सार्वजनीक गरेको रिपोर्टमा भोकमरी अन्त्यका लागि स्वस्थ आहारमा जोड दिएको हो।

एफएओका अनुसार अझैपनि विश्वभर ८२ करोड मानिस खाद्य अभाब झेलिरहेका छन् । विश्वभरी हरेक ९ जनामा एकजना भोकै छन्। जसका कारण प्रत्येक ३ जनामा एक जना कुपोषणको शिकार हुन बाध्य छन् । हरेक ५ सेकेन्डमा बिश्वमा भोकमरीका कारण ५ वर्ष मुनिका एक जना बालबालीकाको मृत्यु हुनेसमेत तथ्याङ्कले देखाएको छ।

एसिया तथा प्यासिफिक क्षेत्रमा विश्वको कुल जनसंख्याको आधा हिस्सा रहेको छ भने कूल भोकमरीबाट ग्रस्त जनसंख्याको दुइ तिहाई जनसंख्या यही क्षेत्रमा रहेका छन् । दक्षिण एसीयाली मुलुकहरुमा मात्र ५० करोडभन्दा बढि मानिस दीर्घकालीन खाद्य असुरक्षाको अवस्थामा रहेका छन्। 

संयुक्त राष्ट्रसंघीय निकायले जनाएअनुसार विश्व अहिले खाद्य संकटबाट गुज्रीरहेका बेला धेरै मानिसहरु असुरक्षित खानपानका कारण मोटोपनको समस्या झेलिरहेका छन् । मौसमी, बोटविरुवामा आधारित, फाईबरयुक्त व्यञ्जनको साटो रिफाइन्ड गरिएका पदार्थ, चिनी, नुन, बोसोयुक्त पदार्थ सँगै मासुको अत्‍यधिक सेवनका कारण मानिसहरुमा मोटोपन बढेको छ। 

विश्वव्यापीकरण, शहरीकरण र आय बृद्धिसँगै मानिसहरुले घरमा खाना बनाउन कम गरेका छन् भने बाहिर तयारी अवस्थाका खाना, प्याकेटका खानाहरु बढी प्रयोग गर्न थालेका छन् । अर्को तर्फ विश्वस्तरमा धेरैजसो मानिस खाद्य असुरक्षाबाट पिडीत छन्। सामान्य विकास र विकासका लागि पर्याप्त मात्रामा सुरक्षित तथा पौष्टिक भोजनको अभावले मानिसहरु सक्रिय र स्वस्थ जीवनबाट टाढा रहनुपर्ने बाध्यता छ।

अस्वस्थ आहारले  विश्वभर रोग र मृत्युको जोखिम बढाईरहेको भन्दै राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले चिन्ता व्यक्त गरेको छ । एफएओले सबैलाई तत्काल सस्तो एवं सुलभ रुपमा स्वस्थ र स्थायी आहार आवश्यक रहेको पनि बताएको छ। अर्कोतर्फ भोजनको कम क्षतिले पनि खाद्य असुरक्षासँग लड्न सहयोग पुग्ने राष्ट्रसंघीय निकायको ठहर छ । यससँगै खाना नफाल्न पनि भनिएको छ। 

एफएओले प्रकाशन गरेको स्टेट अफ एग्रिकल्चर रिपोर्टमा विश्वव्यापी रुपमा संसारका झण्डै १४ प्रतिशत खाना बाली काट्ने बेला नै नष्ट हुने गरेको पाईएको उल्लेख छ । त्यस्तै ६० प्रतिशत पोषक तत्व फलफूल, तरकारी, पशुजन्य पदार्थ कुहिंदा नष्ट हुने गरेको छ । यदि यो क्षतिलाई जोगाउन सके ६० प्रतिशत शुक्ष्म पोषकतत्वहरु जोगाउन सकिने एफएओको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.