|
भाषण गर्दै मेयर मण्डल

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलमाथि जिल्ला प्रहरी कार्यालयमा ज्यान सम्बन्धी कसुर मुद्दा दर्ता छ। तर बुधबार एक कार्यक्रममा प्रहरीकै अगाडि प्रशासनविरुद्ध सशक्त आन्दोलन गर्ने धम्की दिँदा पनि उनलाई पक्राउ गरिएन। प्रहरीले मेयर मण्डललाई देखेर पनि नदेखेझै गरेको थियो।

विमानस्थल तोडफोड आरोपमा संघीय सांसद प्रमोद साहलाई पक्राउ गरेको विरुद्ध रणनीति बनाउन राजपाले छलफल कार्यक्रम राखेको थियो। उक्त छलफलमा बोल्दै मेयर मण्डलले साहको रिहाइको माग गरे। आफू स्वयंम फरार अभियुक्त रहेका उनले सांसद साहलाई बिना शर्त रिहा नगरे जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने चेतावनी दिए।

मण्डलले प्रशासनलाई चुनौती दिन लागेपछि जनकपुरधामकी उपमेयर रिता मिश्रले त्यस्तो नबोल्न भनिन्। तर उनले पटकपटक प्रशासनले थेग्न नसक्ने खालको आन्दोलनको चेतावनी दिए। पछि उनले आफूमाथि मुद्दा दर्ता भएको विषयमा समेत बोल्न खोजे। फेरी उनलाई बाहिरको विषयमा नबोल्न प्रदेश सांसद प्रमेश्वर साहले सुझाए। त्यसपछि उनले आफ्नो मन्तव्य सकाए।

छलफलस्थल उद्योग वाणिज्य संघ परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी परिचालित थिए। तर उनीहरूले जानाजान पनि मेयर मण्डललाई समातेनन्। यतिसम्मकै छलफल सकेपछि मेयर मण्डल प्रहरीकै अगाडिबाट बाहिर निस्किए। उनी छलफलमा सहभागीका लागि पनि प्रहरीकै अगाडी भएरै कोठाभित्र छिरेका थिए।

मेयर फरार सूचीमा

जिल्ला प्रहरी कार्यालयको रेकर्डमा मेयर मण्डल फरारको सूचीमा छन्।

गत साउन २१ गते मेयर मण्डलको अगुवाईमा हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप भएको थियो। सो झडपमा घाइते ५५ वषीय तपेश्वर मण्डलको भदौ १८ गते साँझ मृत्यू भयो। सोही घटनामा पीडित परिवारले मेयर मण्डल, वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएको थियो।

मेयर मण्डल र उपमेयर रेणु झा राजपाबाटै निर्वाचित भएका हुन्। तर नगरपालिकाको केन्द्र विषयमा मेयर–उपमेयर पक्षबीच नै झडप भएको थियो। उपमेयर झा केन्द्र नसार्ने पक्षमा उभिएकी छिन्। मेयर मण्डलमाथि मुद्दा दर्ता भएपछि उनका पक्षधरले उपमेयर झामाथि पनि सोही मुद्दा दर्ता गराए। अहिले मेयर मण्डल र उपमेयर झा दुवै कार्यालय जाने गरेका छैनन्।

मुद्दा दर्ता भएपछि उपमेयर झा कुनै कार्यक्रममा समेत जाने गरेकी छैनन्। मेयर मण्डल भने आज पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएको देखियो। धनुषाका एसपी शेखर खनालले मेयर मण्डल कार्यक्रममा सहभागी भएको कुरा थाहा नपाएको बताए। उनले भने, ‘कार्यक्रममा सहभागी भएको विषयमा थाहा भएन। म यसबारे बुझ्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.