दुई दलमा विभाजित, मर्यादा बिर्सिँदा चर्को आलोचना

|

काठमाडौं : नेपाल र नेपालीको हितमा सक्रिय भनिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ सम्मेलन सुरु भएदेखि नै विवादमा फसेकको छ। हायात होटलमा २८ गते राष्ट्रपतिले उद्घाटन गर्नुअघिदेखि नै विवादमा फसेको एनआएरएनएको सम्मेलनमा एकपछि अर्को गाईजात्रा हुने गरेको छ। 

संगठनको सम्मेलनस्थल दुई फरक राजनीतिक दलको चुनावी मैदान जस्तो हुँदा प्रतिनिधिले नै असन्तुष्टि व्यक्त गरेका छन्। संस्थापक अध्यक्ष उपेन्द्र महतोसहितको बहिष्कार प्रकरणबाट सुरू भएको लफडा रोकिने छाँट अझै देखिएको छैन। 

हायात होटलको सम्मेलनस्थलमा नाराबाजी र गालीगलोज सामान्य भएका छन्। कुरा यतिमै रोकिएको छैन, विश्वका विभिन्न देशमा पुगेर त्यहाँको सम्भयता र संस्कृति सिकेर आएका भनिएका एनआरएनहरु तोडफोड र हुलदंगामै उत्रिएका छन्। यो ताण्डव देखेका र सुनेका केही एनआरएनहरुले यसलाई लज्जास्पद भनेका छन्।

सरकारको समेत लगानी रहेको सम्मेलनस्थल हायात होटलमा चुनावी प्रक्रियामा धाँधली भएको भन्दै तोडफोडमा उत्रिएपछि कयौँ कुर्सी भाँचिएका छन् भने सुरक्षाकर्मीले बल नै प्रयोग गर्नुपरेको छ। 

डेलिगेड्सहरु तोडफोडमा उत्रिएपछि बिहीबार साँझ सम्मेलनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालित गरिएको थियो।

त्यसअघि प्रतिनिधिहरुले मतदान सुरु नभएको भन्दै नाराबाजी र तोडफोड गरे। आक्रोशित समुहले मतदानस्थल बहिरका केही टेबल र कुर्सी फुटाएका थिए। मतदान स्थगित भएपछि पुनः नाराबाजी भएको थियो। त्यसपछि अध्यक्षका उम्मेदवार कुमार पन्तले माफी नै मागेका थिए।

युवा संयोजकका उम्मेदवार सुदीप कार्की लगायतले आफुहरुलाई गोटी बनाइएको बताउँदै प्रहरी घेरामा चुनाव गर्न नसकिने उल्लेख गरेका थिए। उनीहरूले त्यसक्रममा मतदान बहिष्कार गर्ने चेतावनी दिए। नाराबाजीपछि कडा सुरक्षामा मतदान सुरु भएको थियो।

‘वनकालीका बाँदर’ जस्तै

तोडफोडको घटनालाई केही गैरआवासीय नेपाललीले सबैको बेइज्जत गरेको टिप्पणी गगरेका छन्। ‘एनआरएनएको चुनाव समयमै हुन नसकेपछि कार्यक्रमस्थल हायात होटल फर्निचर तोडफोड भएछ’, पोर्चुगलबाट गणेश पाण्डे भन्छन्, ‘कूल आचार्यले बेलायतमा र कुमार पन्तले जर्मनीमा सिकेको कुरा त्यही होला। उनका फलोअर्सहरुले प्रवासमा सिकेको ज्ञान, सीप र अनुशासन यही हो? अब यिनीहरु सबैले समृद्ध नेपाल बनाउँछन्।’

पाण्डेले आफ्नो पक्षमा भीड उतार्ने नेताले तिनलाई सम्हाल्न पनि सक्नुपर्ने बताएका छन्। ‘जुन नेताले भीड सम्हाल्न सक्दैनन्, तिनले भिड जम्मा पनि गर्नुहँुदैन’, उनले तर्क गरेका छन्।

करिब २५ सय प्रतिनिधि सहभागी भनिएको एनआरएनए सम्मेलनको बन्दसत्रका क्रममा अधिकांश कुर्सी खाली थिए। बन्द सत्रमा पदाधिकारीहरुले प्रतिवेदन पेश गरेको समयमा जम्मा एक सय जना पनि प्रतिनिधि नभएको भन्दै आलोचना भएको थियो। कुर्सी खाली देखेपछि सम्मेलनमा भन्दा चाड मनाउन आउनेहरुका कारण यस्तो भएको भन्दै कटाक्ष भएको थियो। 

नेपाल सरकार आफैँ आयोजक भएर आफ्नै लगानीको होटलमा एनआरएनए सम्मेलन भइरहेको छ। उद्घाटन सत्रको अध्यक्षता नै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए। सम्मेलन उद्घाटनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपाली मातृभूमि नेपालको कला संस्कृति फैल्याउन भूमिका खेल्नुपर्ने बताएकी थिइन्। तर एनआरएनहरुले नेपालको संसदमा हुने जस्तै तोडफोडको संस्कृतिलाई हायातको हलमा व्यवहारमै उतारेपछि आलोचना भइरहेको छ। 

सम्मेलनमा सहभागी एनआरएनहरुको यो अराजक व्यवहारलाई लिएर अस्ट्रेलियमा रहेको एनआरएनका सदस्य तीर्थ खतिवडाले ‘बाँदर प्रवृत्ति’ को संज्ञा दिएका छन्। उनले हायातमा हुलदंगा गर्ने एनआरएन प्रतिनिधिहरुलाई ‘वनकालीका बाँदर’को संज्ञा दिँदै चर्को आलोचना गरेका छन्।  

‘यता झगडा गर्न नपुगेर एक हुल बाँदरहरु उता गएर झगडा गर्न थालेछन्’, उनले कटाक्ष गर्दै भनेका छन्, ‘बाँदर भनेका बाँदर नै हुन्, वनकालीका हुन् कि चारकोसे झाडीका।’ 

मतदान नै स्थगित 

बुधबार राति होहल्ला र तोडफोडबीच ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरेर विद्युत्तीय मेशिनमा मतदान सुरु गरिएको थियो। तर प्रमुख निर्वाचन आयुक्त शिव रिजालका अनुसार भोटिङ मेशिनमा खराबी आएपछि बिहीबार बिहान १० बजेसम्मका लागि मतदान स्थगित गरिएको छ। 

निर्वाचन कमिटीले मतदान चाँडो भन्दा चाँडो सकेर केही घण्टामै नतिजा निकाल्ने दाबी गरेको थियो। तर भोटिङ मेशिनले पनि धोका दिएपछि हायातमा जारी एनआरएनएको सम्मेलन अझै लम्बिने देखिएको छ। 

विमानस्थलबाटै तोडफोड सुरु 

एनआरएनहरुले काठमाडौं उत्रिनेबित्तिकै तोडफोड र अराजक व्यवहार देखाउन थालिसकेका थिए। अस्ट्रेलियाबाट सम्मेलनमा भाग लिन आएका रमेश थापाले गत आइतवार राति त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तोडफोड गरे। त्यसपछि उनलाई प्रहरीेले पक्राउ गर्यो। 

एनआरएनका प्रतिनिधि रमेश थापालाई एक दिन प्रहरी हिरासत र एक दिन अध्यागमन विभागको हिरासतमा राखेर ५० हजार धरौटीमा छाडिएको छ। थपासँगै अष्ट्रेलियाबाट नेपाल आएकी एक महिलालाई २५ हजार मात्र जरिवाना गराइएको छ। 

सीसीटिभी फुटेजमा देखिएअनुसार उषा किरण बरिया नाम गरेकी महिलाले आफुले तोडफोड नगरे पनि थापालाई उक्साएकाले २५ हजार जरिवाना तिराइएको विभागका महानिर्देशक इश्वरराज पौडेलले बताए। 

अभद्र, अराजक एनआरएन

यसअघि नेपालीमूलका विदेशी नागरिकले कर्मचारीहरुमाथि पटक पटक अभद्र गर्ने गरेको गुनासो अध्यागमन विभागले गरेको थियो। गैरआवासीय नेपाली संघको सम्मेलनमा भाग लिन अस्ट्रेलियबाट आएका नेपालीमूलका रमेश थापाले गत आइतवार राति विभागका कर्मचारीमाथि अभद्र व्यवहार र विमानस्थलको डेस्क तोडफोड गरेको सन्दर्भमा यस्तो गुनासो आएको हो। 

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रमुख अधिकृत दीर्घनारायण पौडेलले सोमबार निकालेको विज्ञप्तिमा नेपाली नागरिकता त्यागेका विदेशीले पटक पटक अराजक व्यवहार दोहो¥याएको दाबी गरेका छन्। 

आइतवार राति क्याथे ड्रागन एयरको जहाजमा अस्ट्रेलियाबाट आएका नेपालीमूलका रमेश थापाले अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीको हिरासतमा पुगेका थिए।  

अस्ट्रेलियाको पीए ७१०२५६६ नम्बरको राहदानीबाहक थापालाई कर्मचारीले सम्झाउँदा पनि अटेर गरेको पौडेलले जनाएका छन्। उनले कर्मचारीले काम गरिरहेको डेस्कको शिशासमेत फुटाइदिएपछि अध्यागमन कार्यालयले प्रहरी बोलाएर समातेको थियो। 

अध्यागमन कार्यालयले नेपालीमूलका विदेशी नागरिकबाट पटक पटक यस्ता घटना भइरहेको भन्दै फेरि नदोहोर्याउन सचेत गराएको छ। 

‘नेपाली मूलका विदेशी नागरिकहरुबाट पटक पटक अध्यागमन कार्यालयका कर्मचारीहरुसँग अभद्र व्यवहार हुने गरेकोमा अब उप्रान्त यस्ता किसिमका व्यवहार नहोस् भन्ने अनुरोध गर्न चाहन्छौँ’, पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ।  

यसअघि सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर हिँडेका एनआरएनएका अध्यक्ष भवन भट्टललाई विमानस्थलबाटै फर्काइएको थियो। गत भदौ ७ गते राति सिल्क एयरको जहाजबाट सिंगापुर जान लागेका भट्ट र उनका सहयोगी सनद न्यौपानेले अत्यधिक मदिरा पिएर विमानमै होहल्ला गरेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई फर्काइदिएको थियो। 

मदिरा पिएर लठ्ठ भएको अवस्थामा सिल्क एयर, विमानस्थलका कर्मचारी र सुरक्षाकर्मीलाई दव्र्यवहार गरेपछि एनआरएनएका अध्यक्ष भट्टलाई प्रहरीले जहाज चढ्न लागेको अवस्थामा फर्काइदिएको थियो।

नेकपा र कांग्रेसको सम्मेलन

यो सम्मेलन स्पष्ट दुई धारमा विभाजित भएको छ। अध्यक्षका एक दाबेदार कुमार पन्तलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन रहेको बताइएको छ। अर्कातिर कूल आचार्यलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले साथ दिएको छ। 

अध्यक्षका दुई उम्मेदवारलाई दुई ठूला दलको आर्शीवाद प्राप्त भएपछि सम्मेलनस्थलमा पार्टी कार्यकर्ताको पनि बाक्लो उपस्थिति हुने गरेको छ। सम्मेलनस्थल बाहिर पुग्ने दुवै दलका कार्यकर्तासहितले आफ्नो पक्षका उम्मेदवारलाई जिताउन भन्दै चर्का नाराबाजी गरिरहेका छन्। 

एउटा पक्षको नाराबाजी र जुलुस नसकिँदै अर्को पक्षले झन् चर्को स्वरमा नाराबाजी गरिहाल्छन्। सम्मेलनस्थल कुनै दलको महाधिवेशनस्थल भन्दा कुनै कोणबाट फरक देखिँदैन।

कति पर्यो उम्मेदवारी 

निर्वाचनमा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। संघका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ जनाले उम्मेदवारी दर्ता गरेको जानकारी दिएका छन्।

मङ्गलबार साँझदेखि बुधबार अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दिएका छन्। यसैगरी महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माले उम्मेदवारी दर्ता गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.