|
प्रतीकात्मक फोटो

बागलुङ : एनएमबी बैंकको शाखा कार्यालयले समयमा रकम जम्मा गर्न नसक्दा बागलुङको जैमिनी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता पाउने लक्षित समूह दशैंअघि भत्ता लिनबाट बञ्चित भएका छन्। नगरपालिकाले दशैंअघि नै निकासा पठाएको भए पनि बैंकले भने मंगलबारसम्म सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा गरेको छैन्।

जैमिनी नगरपालिकाले वडा नं १ देखि वडा नं ५ सम्मका सामाजिक सुरक्षा भत्ता पाउने २ हजार ५ सय जनाको रकम साविकको ओम डेभलपमेण्ट बैंकमार्फत भुक्तानी गर्दै आएको थियो। ओम बैंक र एनएमबी बैंक एकै ठाउँमा गाँभिएर बनेको एनएमबी बैंकले नयाँ पद्धती सुरुवात भएकै दिन रकम आएकाले समयमा भत्ता खातामा जम्मा गर्न नसकेको जनाएको छ।

‘दशैंमा भत्ता नपाएर बूढाबूढीले हामीलाई सरापेका छन्’ जैमिनी–२ दमेकका वडाध्यक्ष लक्ष्मीप्रसाद सावपकोटाले भने ‘त्यहीँ भत्ताले नै खर्च जोहो गरेर चाडपर्व मान्नेहरूलाई त बिजोग नै भयो।’

भत्ता नाएका असाहयले ऋण काडेर दशैं खर्च चलाएका छन्। भत्ता आउने आशा मरेपछि दशैं खर्च चलाउनकै लागि व्याज दिने सर्तमा ऋण काडेको जैमिनी-१ कुश्मीशेराका ८७ वर्षीय बृद्ध मणिरत्न पाध्याले बताए। उनको अन्य कुनै आयस्रोत र आधार लिने परिवारसमेत छैनन्।

नगरका बाँकी पाँच वडामा भने दशैंअघि नै वडा सचिवमार्फत सामाजिक सुरक्षाभत्ता बाँडिएको थियो। ‘हामीले एकै दिन बैंकमार्फत भुक्तानी हुने र वडामार्फत भुक्तानी हुने रकम निकासा गरेका हौँ’ प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले भने ‘बैंक मर्जरमा जाँदा केही समस्या भएर ढिला भएको होला।’

नगरको लेखा शाखाले असोज १४ गते नै सामाजिक सुरक्षा भत्ताको रकम निकासा गरेको थियो। बैंकले भने मरिसकेका मान्छेको समेत भत्ता आएको र केही नयाँ भत्ता लिनेहरूको खाता खुलाउन बाँकी रहेका वितरण गर्न नसकेको जनाएको छ।

एनएमबी बैंक कुश्मीशेरा खाशाका प्रबन्धक दिनेश सुवेदीले बुधबारबाटै भेरीफाइ गरेर खाता पैसा पठाउने भने पनि बिहीबारसम्म पैसा पठाइएको छैन। ‘ढिलो गरी पैसा आयो हामीले काम गरिरहेका छौँ’ उनले भने ‘भेरीफाइ गरेर खातामा पैसा पठाउन सुरु गर्छौं।’ बैंक मर्जिङ हुँदा नयाँ पद्धतिमा काम गर्नुपर्ने र खाता नम्बरसमेत परिवर्तन भएकाले समस्या आएको सुवेदीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.