सप्तरी : घरमा जडान गरिएको सिसिटिभी फुटेजको सहयोगमा सप्तरी प्रहरीले चोरी भएको चार दिनपछि बुधबार चोरिएका सामानसहित चोर पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार असोज २५ गते बिहान करिब ३ बजेतिर जिल्ला सदरमुकाम राजविराज ८ मा भएको चोरीमा संलग्न १६ वर्षीय किशोरलाई पक्राउ गरिएको हो। पक्राउ गरिएका किशोरको नाम गोप्य राखी बुधबार सार्वजनिक गर्दै प्रहरीले कसको घरमा चोरी भएको भन्ने खुलाएको छैन। तर, राजविराज ८ का आठजनाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जनाएको छ।
प्रहरीका अनुसार चोरी भएको घरमा जडान गरिएको सिसिटिभी फुटेजको सहयोग र अन्य सुक्ष्म अनुसन्धानपछि खोजतलासको क्रममा सप्तरीको महादेवा गाउँपालिका १ घर भई राजविराज ८ की सरस्वती साहको घरमा डेरा लिएर बस्दै आएका किशोरलाई पक्राउ गरिएको हो।
किशोरलाई पक्राउ गरेपछि डेरामा लुकाएर राखिएका सामान बरामद गर्नुका साथै उनकी ४० वर्षीया आमालाई समेत नियन्त्रणमा लिई लुकाएर राखिएका चोरीका अन्य सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न रहेका किशोरको डेरा र अन्य ठाउँमा लुकाएर राखिएका सामानमध्ये सामसुङ् ग्यालेक्सी र लाभा कम्पनीको दुई थान मोबाइल, भेस्ट, टेस्टर, पाइटर, सामसुङ् एडप्टर, मोबाइल चार्जर, हेडफोन र तीनवटा चाभीको झुप्पा बरामद गरी अन्य सामानको खोजी भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।