|

गुल्मी : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पुनःनिर्माणअन्तर्गत निजी आवास निर्माण लाभग्राही सूचीमा रहेका तर घर निर्माण नगरेका लाभग्राहीलाई रकम फिर्ता माग्दै गुल्मीका गाउँगाउँमा पुगेको छ।

विस २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण पूर्णरूपमा घरमा क्षति भएर पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर निर्माणको कार्य सुरु नगरेका लाभग्राहीलाई घर निर्माण गर्न आग्रह गर्दै र घर नबनाए रकम फर्काउन आग्रह गर्दै प्राधिकरणका कर्मचारी गाउँगाउँ पुगेका हुन्।

जिल्ला आयोजना कार्यान्वयन इकाई गुल्मीका प्रमुख पारस पन्थीले सम्झौता गरेर घर निर्माण नगरेका लाभग्राहीले अबिलम्ब बनाउने, यदि नबनाए रकम फिर्ता गराउन वडा वडामा अभियानकै रूपमा गएको बताए। 

गुल्मी जिल्लाका कूल लाभग्राहीको सूचीमा रहेका चार हजार १४४ लाभ्रग्राहीमध्ये तीन हजार ९६१ लाभग्राहीले सम्झौता गरेको र पहिलो किस्ता लिनेको संख्या तीन हजार ८४३ रहेको पन्थीले बताए। यस्तै, दोस्रो किस्ता लिनेको संख्या दुई हजार ७८३ जना रहेको र अन्तिम किस्ता लिने वा घर निर्माण सम्पन्न गरेकाको संख्या भने एक हजार ९०८ रहेको कार्यालयले जनाएको छ।

२०७६ असार मसान्तसम्ममा पहिलो किस्ता बापतको रकम लिएका लाभग्राहीले यहि कात्तिक मसान्तसम्ममा दोस्रो किस्ता रकम लिइसक्नु पर्ने भएकाले घर निर्माण गर्न आग्रह गरेको कार्यालयले जनाएको छ। यदि घर निर्माण नगरेमा पहिलो किस्ता बापतको रकम लिएका लाभग्राहीले अबिलम्ब रकम फिर्ता गर्नुपर्ने, नगरे सरकारी नियमअनुसार असुलउपर गरिने पन्थीले बताए।

यसैगरी, असार मसान्तसम्ममा दोस्रो किस्ता रकम लिएका लाभग्राहीले माघ मसान्तसम्ममा मापदण्डअनुसार घर निर्माण कार्य सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।

भूकम्प गएको यति लामो समयसम्म पनि तेस्रो किस्ता अर्थात् अन्तिम किस्ता लिनेको संख्या किन कम भन्ने प्रश्नमा मापदण्डअनुसार घर निर्माण नगरेका र सुधार गर्नुपर्ने भएकाले समस्या देखिएको पन्थीले बताए। लाभग्राहीले मापदण्डअनुसार घर निर्माण नगरे हालसम्म लिएको सम्पूर्ण रकम फिर्ता गराएरै छाड्ने पन्थीको दाबी छ।

अब पुनः निर्माण प्राधिकरणले घर निर्माण नगर्ने लाभग्राहीले घर निर्माण नगरे लाभग्राहीको सूचीबाट हटाउने र लाभग्राहीले लिएको रकम फिर्ता गराउने गरि गुल्मी जिल्लामा अभियानकै रूपमा रहेको कार्यालयले दाबी गरेको छ। स्थानीय तहका जनप्रतिनिधिलाई हालसम्म वडास्तरको प्रगति र अब के गर्न सकिन्छ भन्दै अन्तर्क्रिया गरिएको कार्यालयले जनाएको छ। 

हालसम्म  मुसिकोट नगरपालिका, चन्द्रकोट, सत्यवती, कालिगण्डकी जनप्रतिनिधिसँग निजी आवास पुनःनिर्माणसम्बन्धी हालसम्मको प्रगति मागिएको छ। तोकिएको समयसीमाभित्र पुनःनिर्माण कार्य सम्पन्न गर्नुपर्ने गरी प्रतिबद्धतासँगै कार्ययोजना बनाइ जनप्रतिनिध, कर्मचारी घरघरमा  अभियानकै रूपमा गई लाभग्राहीसँग छलफल गर्ने र घर निर्माण नगरे लिएको रकम फिर्ता गर्ने अभियान सम्पन्न गरेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.