|

पाल्पा : अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-६ स्थित नरपानी पर्यटकीय सम्भावना बोकेको स्थानमध्ये एक हो।

पछिल्लो समय यहाँ धार्मिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। यहाँको खाली चौर वनभोज खाने मैदानको रुपमा प्रयोग हुन थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो। यहाँ प्रायः धार्मिक पर्यटकहरु आउने गर्दछन्।

नजिकैको सुपा देउराली मन्दिरमा पूजा गर्ने भक्तजन नरपानी जाने गर्दछन्। यो मन्दिरमा भाकल गरेर ल्याएको मेडो घरमा लैजान नहुने विश्वास छ। यहाँ बलि दिएका बोका, भेडा नरपानीस्थित चौरमा पकाएर खाने गरिन्छ।

त्यहीकारण गर्दा यहाँ भक्तालुको भीड हुन थालेको हो। यो चौरलाई व्यवस्थित गर्न यहाँका युवा जुटेका छन्। अहिलेसम्म ८ वटा ट्रष्टसहितको वनभोजस्थल बनाइएको छ।

खुला चौरमा खाना पकाउने, खाने, बस्ने र नाच्न गाउन पाइने नरपानी पर्यटन प्रवर्द्धन परिषदका सदस्य भीम केसीले बताए। उनका अनुसार यहाँ दैनिक ५ सय भन्दा बढी पर्यटक आउने गर्छन्। मन्दिरदेखि करिब २ किलोमिटर टाढा रहेको नरपानीको पिकनिक स्थलले धेरैको मन जितेको छ।

कहिलेकाहीँ ठाउँ अभाव हुँदा पर्यटक अन्यत्र जान बाध्य हुन्छन्। यहाँ बोका-भेडाको मासु  पोल्ने, पकाउने सबै सुविधा छ', केसीले भने, 'दाउरा, पकाउने, खाने भाँडा र साउण्ड सिस्टमको पनि सुविधा छ। एउटा बोको पोलेको ५५०, भाँडा, दाउराको ५ सय र प्रवेश शुल्क ३ सय रुपैयाँ लाग्छ।'

माथि हरियो वनजंगल, तलतर्फ सलल बगेको खोलाले यहाँको दृष्य मनमोहक देखिन्छ। अझ निलो आकाशमा उडिरहेका चीलको दृष्यले पर्यटक दंग पर्छन्। चौरमा फालिएका मासुका टुक्रासहित खानेकुरा पाइने आशामा चील घुमिरहेका हुन्छन्।

आकाशमा एकापसमा लडिरहेका तथा समूहमा उडिरहेका चिल देखेर बालबालिका पनि रमाउँछन्। मानिस गएपछि ती चिलले चौरमा फ्याकिएका मासुका टुक्रा खाने गर्दछन्। जसले गर्दा फोहोर व्यवस्थापनमा सहयोग पुगेको परिषद्का सदस्य केसीले बताए।

'वनभोज आउनेको लागि यहाँको प्राकृतिक वातावरण आनन्ददायक रहेछ', प्रसाद खान पुगेका पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरीका शिव विश्वकर्माले भने। यो मैदानको अझै व्यवस्थापन गर्न आवश्यक रहेको उनले सुनाए। आकाश चिललाई त्यही क्षेत्रमा बस्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। 

झण्डै एकसय चिल आकाशमा उडिरहेका हुन्छन्। चीललाई शिकारीको रुपमा चिन्ने गरिन्छ। चीलले पहिले पहिले घरमा पालेका कुखुराका चल्लाको शिकार गर्दथे। पछिल्लो समयमा गाउँघरमा खुल्ला रुपमा कुखुरा पाल्न छाडेपछि चील भोजभतेर भएका ठाउँमा खानेकुराको आशा गरेको देखिन्छ। पछिल्लो समय चिल क्रमशः लोप हुन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.