|

तनहुँ : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले देशलाई आवश्यक पर्ने दुई तिहाई उत्पादन बनाउनका लागि कृषिलाई मेरुदण्डको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

बिहीबार दमौलीमा आयोजित केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको २६ औं साधारणसभामा मन्त्री खनालले कृषिलाई मेरुदण्डको रुपमा विकास गर्दै कृषिमा आत्मनिर्भर बनाउन राष्ट्रले बजेट विनियोजनमा बृद्धि गर्नुपर्ने बताएका हुन्। सरकारले कृषिमा लगानी बढाउन सके किसान मर्कामा नपर्ने उनको भनाई छ। कृषि पेशालाई प्रोत्साहन गर्न मुख्य प्राथमिकतामा राखेर सरकारले बजेट बजेट विनीयोजन गर्नुपर्नेमा मन्त्री खनालको जोड छ।

‘६६ प्रतिशत कृषिमा आत्मनिर्भर देश नेपालमा सरकारले २.७ प्रतिशत बजेट विनियोजन गर्छ भने २.५ प्रतिशत कृषिमा आधारित रहेको इजरायलमा ७ प्रतिशत बजेट विनियोजन हुन्छ। दुई तिहाई उत्पादन बढाउन कृषिमा बजेट बढाऔं’ मन्त्री खनालले भने। 

कृषि उत्पादनको बजार नपाएको गुनासो बढी आउने गरे तापनि नियन्त्रणका लागि सरकार र उत्पादक दुवै सचेत हुन जरुरी रहेको उनले बताए। ‘कृषिजन्य उत्पादनलाई बजार नपाएको खण्डमा सरकारले त्यसलाई खरिद गरी भण्डारण र बिक्री गर्ने वातावरण गर्न सके कृषकको मर्का समाधान गर्न सकिन्छ। अहिले बजारमा नपाएर खेर जान सक्ने कृषि उपजको सदुपयोगमा सरकारले चासो देखाउनुपर्छ’, उनले भने, ‘देशमा दूध अझै पनि आत्मनिर्भर छैन। यसलाई पूर्ति गर्न आवश्यक छ। उत्पादित दूधको सदुपयोग सरकारले गर्न सकेको छैन। उत्पादनमा प्रोत्साहन गर्नुपर्छ।’

दूध बिक्री गर्दा कम मूल्यमा र खरिद गर्दा बढी मूल्यमा गर्नुपरेको उनले बताए। विचौलिया मोटाउने क्रियाकलापलाई रोक्न सरकारले उत्पादकसँग हातेमालो गर्नुपर्ने उनको भनाई थियो।

उत्पादित दधको सरकारले व्यवस्थापन गर्ने वातावरण तयार गर्नुपर्ने उनले बताए। उनले नेपालबाट कफि, अलैंची र चिया निर्यात हुने भए पनि अन्य खाद्य सामग्रीहरू आयात गर्नुपर्ने अवस्था रहेकोले निर्यात हुने वस्तुको उत्पादनलाई सरकारले प्राथमिकतामा राख्ने बताए। कफि मात्रै २६ हजार मेट्रिक टन बाहिर माग हुने भए पनि देशमा ५०० मात्रै उत्पादन हुँदा माग पूर्ति गर्न नसकिएको उनको भनाई छ।

केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य केदार सिग्देल, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशका सदस्यद्वय सरिता गुरुङ र डोवाटे विक, नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, कृषक किशोर पराजुलीलगायतले कृषि क्षेत्रलाई व्यापक सुधार गर्दै प्रविधिको प्रयोगबाट आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका थिए।

केन्द्रीय साधारणसभामा नेपालका ४३ जिल्लाका दुग्ध उत्पादक कृषकको भेला भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.