|

डडेल्धुरा : डडेल्धुरामा आगलागी नियन्त्रणसम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ। बिहीबार जिल्ला सदरमुकाम बागबजारस्थित बस पार्कमा डेमो प्रदर्शन गरिएको हो। नेपाली सेना रणबम गण, दह ब्यारेकले आगो नियन्त्रणसम्बन्धी डेमो प्रदर्शन गरेको हो।

जिल्लामा आगलागीका वन डढेले र आगलागीका घटना घट्नसक्ने भएकाले आगो नियन्त्रण सम्बन्धी डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। यो समयमा घट्नसक्ने आगलागी जस्ता विपद्लाई सहजरुपमा अवतरण गर्न सकियोस् भन्ने उद्देश्यले डोमो प्रदर्शन गरिएको उनले बताए। डडेल्धुरा सदरमुकामा वर्षेनि आगलागीका घटना घट्ने गर्दछन्।

डडेल्धुरा बस पार्कमा डेमो मञ्चन भएको हो। डेमोको रिहर्सल अनुसार एक गाउँमा दुई  घर थिए। पाहुँना आएका बेला चिया बनाएर ल्याउँदा घरमा आगो लाग्छ। घर पूरै जलेर नष्ट हुन्छ। आगलागी निम्तिएको अवस्थामा नेपाली सेनाले कसरी यसको व्यवस्थापन गर्न सक्छ भन्ने तथ्यलाई मार्मिकरुपमा देखाइएको थियो।

डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने? भन्ने कुराको डेमो गरिएको थियो।

त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने?, पीडितको पुर्नस्थापना कसरी गराउने?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने? लगायतका विषय डेमोमा प्रदर्शन गरिएको थियो। रिहर्सलपछि अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले विपद् बाजाबजाएर नआउने उल्लेख गर्दै प्राकृतिक प्रकोपलाई सुझबुझपूर्ण तरिकाले समाधान गर्न पर्याप्त पूर्व तैयारी हुनुपर्ने बताए।

यसैबीच सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी चार दिने तालिम सम्पन्न भएको छ। विपद् न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अबसरमा जिल्ला विपद् व्यवस्थापन समिति समन्वय तथा अमरगढी नगरपालिकाको सहकार्यमा नेपाली सेना रणबम गण, दह व्यारेकले तालिमको आयोजना गरेको चार दिने तालिम सम्पन्न भएको हो। तालिमा सुरक्षा निकायका प्रतिनिधि तथा अमरगढी नगरपालिकाका ९ वटै वडाबाट सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.