आफन्तलाई समेत भेट्न दिइएन

|

म्याग्दी : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको समूह नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका इन्चार्ज र सेक्रेटरीलाई जिल्ला अदालतले बागलुङले रिहा गर्न आदेश दिएलगत्तै पुनः अदालत परिसरबाटै पक्राउ परेका छन्।

सरकारद्वारा प्रतिबन्धित म्याग्दी जिल्ला इन्चार्ज विकिरण क्षेत्री र सेक्रेटरी बाबुलाल शाक्य बागलुङ जिल्ला अदालतले रिहा गर्न आदेश दिएलगत्तै बाहिरिने क्रममा अदालत परिसरबाटै पक्राउ परेका हुन्। राज्यविरुद्धको अपराध गरेको आरोपमा गत साउन ७ गते बेनी नगरपालिका-३ नयाँपुलबाट प्रहरीले पक्राउ गरेपछि उनीहरूलाई म्याग्दी कारागार चलान गरिएको थियो।

प्रहरीले पक्राउ गरेलगत्तै दुवै नेतालाई जिल्ला अदालत म्याग्दीले जनही ३५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न दिएको आदेशविरुद्ध उच्च अदालत पोखराको बागलुङ ईजलासले धरौटीसमेत नलिई साधारण तारेखमा छाड्न आदेश दिएपछि तारेखमा छुटेका उनीहरूलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।

आदेश पालना गर्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले बिहीबार जिल्ला अदालत बागलुङ ल्याएको थियो। यसअघि म्याग्दी कारागार थिए। जिल्ला अदालत बागलुङमा पनि रहेको मुद्दामा भने उनीहरूलाई जनही १० हजार धरौटी माग गरिएको थियो। धरौटी बुझाउन आएका परिवारका सदस्यलाई भेट्नसमेत नदिई उनीहरूलाई फेरी पक्राउ गरिएको अधिवत्ता राम शर्माले बताए।

जिल्ला प्रहरी कार्यालयले पुनः पक्राउ गरिएका दुवैमाथि थप अनुसन्धानका लागि पर्वत प्रहरीलाई बुझाएको जनाएको छ। यता पर्वत प्रहरीले स्याङ्जा जिल्ला पठाएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.