|

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनका तर्फबाट सभापति राजकुमार कामतले बिहीबार गोवामा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सो समझदारी पत्रले आगामी दिनमा द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा दुवै पक्षले गरेको छ। साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्नेसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ। समझदारी पत्रले दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ।

सो समझदारीपत्रमा दुई देशका चेम्बरबीच व्यापरीक सूचना, आदानप्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रवर्द्धन, व्यापारिक/औद्योगिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिने विषयसमेत उल्लेख गरिएको छ।

सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गरे। उनले पहाडी मुलुक नेपाल र समुद्री सतहसँग जोडिएको गोवा “फ्रम ग्रीन टू ब्लू”बीच पर्यटन प्रवर्द्धन र कनेक्टिभिटीमा जोड दिए। नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्राउन सकिने सम्भावनामा पनि जोड दिए।

सो अवसरमा बोल्दै भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति कामतले आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रवर्द्धनका लागि महत्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गरे। उनले समझदारीपत्रको कार्यान्वयन तर्फ लाग्नु पर्नेमा पनि जोड दिए।

३८ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारी, उद्यमी, व्यवसायी, प्रदेश ५ का सांसद, नगरपालिकाका उपमेयरलगायतको सहभागिता रहेको छ। भाइब्रेण्ट गोवा फाउण्डेशनले भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ को आयोजना गरेको हो। यसमा भारतीय सरकार र गोवा सरकारको समेत सहभागिता रहेको छ। कार्यक्रम गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तले उद्घाटन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.