|

सिन्धुपाल्चोक : विनाशकारी भूकम्प गएको साढे चार साल पूरा भयो। भूकम्पले १४ वटा जिल्लालाई प्रभावित पार्‍यो। गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले सबैभन्दा धेरै सिन्धुपाल्चोकलाई क्षति गरायो।

भूकम्पले सिन्धुपाल्चोकलाई थिलथिलो पार्‍यो। सिन्धुपाल्चोकमा रहेका अधिकांश निजी, सरकारी र गैरसरकारी भवनहरु ध्वस्त भए। भूकम्पले निमेषमै ढालेको सिन्धुपाल्चोकको सञ्चार संस्थाक भवनसमेत अछुत रहन सकेन।

भूकम्पले सिन्धुपाल्चोकमा सञ्चालन भएका प्रायः सबै सञ्चार संस्थाको अवस्थामा फेरबदल ल्याइदियो। भूकम्पले भवन भत्किएपछि टेन्ट र जस्तापाताको टहराबाट सञ्चालन भए सिन्धुपाल्चोकका रेडियो। सुचनाको प्रमुख स्रोत रेडियो बन्द हुने अवस्थामा पुगेपछि टेन्टबाटै नै रेडियो सञ्चालन गरेको अनुभव सुनाउँछन् रेडियो मेलम्चीको स्टेशन म्यानेजर देवराज सुवेदी।

रेडियो मेलम्चीले मात्रै नभएर सिन्धुपाल्चोकमा सञ्चालन भएको रेडियो सिन्धु, रेडियो सुनकोशी टेन्टबाटै सञ्चालनमा आएका थिए। भूकम्पपछि रेडियो सिन्धुले नयाँ भवन पायो। तर, रेडियो सुनकोशी भूकम्पको साढे चार बर्षसम्म टेन्ट फालेर जस्तोको टहरोमा सञ्चालन छ।

तर, सिन्धुपाल्चोक मेलम्चीमा सञ्चालित रेडियो मेलम्चीले भने समुदायको सहयोग खोज्दै बहुउद्देश्यीय भवन निर्माणमा जुटेको रेडियो मेलम्चीको अध्यक्ष डम्बर रसिक भारती बताउँछन्।

मेलम्ची बजारमा अहिले रेडियो मेलम्चीको तीनतले भवन निर्माण भइरहेको उनले जनाए। स्थानीय संग्रहालय, सभाहल, पुस्तकालय, सूचना केन्द्रसमेत रहनेगरी भवन निर्माण भइरहेको उनको भनाइ छ।

कबिर सात वर्षअघि स्थापना भएको सामुदायिक रेडियो मेलम्ची यस क्षेत्रको सुचनाको दरिलो माध्यम हो।

रेडियोको भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख, ह्योल्मो–सिन्धु–मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिबाट दुई लाख, समुदायको सहयोग ८ लाख संकलन भएको र अझै आठ लाखको प्रतिबद्धता भएको स्टेशन म्यानेजर सुवेदी बताउँछन्।

भवन निर्माणको लागि करिब ६५ लाखको अनुमान गरिएको उनको भनाइ छ। रेडियोको भवन निर्माणको लागि अझै सहयोगी हातहरुको अपेक्षा गरेको सुवेदी बताउँछन्।

यस्तो बन्दैछ रेडियोको भवन

समुदायको सहयोगमा निर्माणाधीन रेडियो मेलम्चीको भवन बहुउद्देश्यीय बन्दैछ। रेडियोको भवनमा लोप भइसकेका र लोप हुने क्रमका विविध स्थानीय सामग्री राखिनेछ।

खुर्पेटो, ढिकी, जाँतो, हर्पे, तुलो, ठेकी, घुम, घुमराडी आदि समावेश गरी स्थानीय संग्राहालयको समेत निर्माण हुने बताइएको छ। जिल्लाका सबै जानकारी दिने सूचना केन्द्रका साथै, पुस्तकालयसमेत व्यवस्था गर्ने गरी बहुउद्देश्यीय भवन निर्माण थालिएको अध्यक्ष भारती बताउँछन्।

कसको कति सहयोग?

रेडियो मेलम्चीको भवन निर्माणको लागि अहिलेसम्म हालसम्म ९४ जनाबाट ८ लाख ५५ हजार ९७४ रुपियाँ संकलन भएको छ। भने आठ लाखकै प्रतिबद्धता छ। भवन निर्माणको लागि मेलम्ची नगरपालिका १२, बाँसबारीका ठाकुरप्रसाद धितालले १ लाख ४ हजार १ सय ९६, मेलम्ची नगरपालिका ११ का सदस्य, जरायोटार एकीकृत बस्तीका अध्यक्ष, समाजसेवी टीकाप्रसाद धितालले १ लाख १ हजार १ सय ११, रुपैयाँ सहयोग गर्ने प्रतिबद्धताअनुसार ५१ हजार १ सय ११ रुपियाँ हस्तान्तरण गरे।

त्यसैगरी सिन्धुकोटका समाजसेवी राजु रायमाझीले ४० हजार, मेलम्ची बालगृहका सञ्चालक, समाजसेवी गणेशविक्रम सिलवालले ३० हजार ३०, मेलम्ची ११ का समाजसेवी शिवराम भट्टराईले ३० हजार सहयोग गरे।

अहिलेसम्म २५ हजार व्यक्तिगत सहयोग गर्नेमा ज्यामिरेका भरत विष्ट, भीमटारका उद्धव अधिकारी, ज्यामिरेका आइतमान तामाङ छन्। अन्य ९८ जनाले सयोगको प्रतिबद्धता जनाएको उनको भनाइ छ।

टालेको त्रिपालबाट भयो प्रशारण

भूकम्पपछि बारीको पाटोमा टालेको त्रिपालबाट रेडियो प्रशारण भएको थियो।स्टेसन रहेको घर भत्किएपछि विभिन्न ठाउँमा टालेको त्रिपालबाट रेडियो सञ्चालन गरिएको अनुभव सुनाउँछन् स्टेशन प्रमुख सुवेदी।

भूकम्पले रेडियोको स्टुडियोमा मिक्सचरलगायतका सामान ध्वस्त भएको बताए। ‘भूकम्प गएको चौथो दिन वैशाख १५ गते रेडियो प्रसारणका लागि चाहिने मिक्सचर भाडामा लिएर बारीको पाटोबाट रेडियो प्रशारण गरेका थियौँ’ उनले भने।

रेडियोको भवन नभएर खुला ठाउँबाट सञ्चालन गर्दा कहिलेकाहीँ विभिन्न समस्या आइपरेको उनी बताउँछन्। तर, अहिले भवन निर्माणको काम तीव्र रूपमा भएकाले केही समयमै समुदायकै सहयोगमा पक्की भवनबाट रेडियो सञ्चालन गर्न पाउने अपेक्षा राखेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.