|

काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारको दमन नरोकिए कडा प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ। दाङमा करिब २४ जना व्युरोस्तरका नेता कार्यकर्ता पक्राउ परेको भोलिपल्ट पार्टी महासचिव विप्लवले आफुहरुको क्रान्ति रोक्ने दमनकारीहरु खरानी हुने चेतानवी दिएका हुन्। 

‘कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य हुन्। जनताको मुक्ति एवम् वैज्ञानिक समाजवाद-साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ताहरू यो मूल्य चुकाएर नै महान् उद्देश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौँ', उनले भनेका छन्, 'यसका लागि हामी तयार हुँदैनथ्यौँ भने माओवादीको खरानीबाट हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति जन्माउन सम्भव हुने थिएन। हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट विचलित नभई अझै स्पातिलो बन्छौँ। वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन । जसले रोक्न खोज्दैछ, अन्तिममा ऊ नै खरानी हुनेछ।'

विप्लवले राप्ती व्युरोको बैठक बसिरहेको अवस्थामा दाङबाट २४ जना भन्दा बढी नेतालाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज कमरेड वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज कमरेड सुवास, ब्युरो सदस्यहरू कमरेड सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता छन्। 

विप्लवले श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीविरुद्ध लडिरहेका  नेता-कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि चेतावनी दिएका छन्।

‘केपी सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धि र विकास दिन असफल भएपछि जनवादी शक्तिवरुद्ध दिन-प्रतिदिन घोर निरङ्कुश, सर्वसत्तावादी एवम् फासिवादी बन्दै गएको छ', विप्लवले भनेका छन्, 'देशलाई लुट्ने, घात गर्नेको रक्षा र क्रान्तिकारी एवम् जनवादी शक्तिमाथि हत्या, हिंसा, गिरफ्तारी, दमन लादिरहेको छ। हामी केपी सरकारको निरङ्कुश एवम् फासिवादी दमनविरुद्ध जागरुक हुन र सङ्घर्ष गर्न सबै शक्तिलाई अपिल गर्दछौँ ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.