|

काठमाडौं : प्रहरीले ठगी आरोपमा काठमाडौंका विभिन्‍न स्थानबाट २३ वटा डिपो सञ्‍चालकहरूलाई पक्राउ गरेको छ। मिनी ट्रकमा काठको बक्स राखेर कम परिमाणको निर्माण सामाग्री दिने गरेको पाइएपछि प्रहरीले गुण्डागर्दीमा संलग्न सुकबहादुर तामाङ 'बाघे'सहित २३ वटा डिपो सञ्चालकलाई समातेको हो।

उनीहरुले मिनी ट्रकमा ५ इन्चसम्म अग्लो फलाम र काठको बक्स हालेर कम परिणाममा इँट्टा-बालुवा,चिप्स, ढुंगा ढुवानी गरी ठगी गरेको अभियोग प्रहरीले लगाएको छ। 

अपराध महाशाखाको टोली डिपो संचालकहरूलाई राजधानीका स्वयम्भू, महाराजगन्ज र बालाजुबाट शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

डिपो संचालकहरूले प्रतिट्रक १ हजार ६ सयदेखि २ हजार २ सयसम्म ठगी गरेको प्रमुख थापाले जानकारी दिए। पक्राउ परेका ३५ सवारी चालक, ३५ वटा मिनि ट्रक र २३ डिपो मालिकलाई ठगी मुद्दा लगाउने तयारी गरेको प्रमुख थापाले बताए।

घटना

केही दिनअघि उपभोक्ता संरक्षण मंच र बालाजु, स्वयम्भू र महाराजगंजका केही व्यक्तिले अनौठो तरिकाले आफूहरू ठगिएको उजुरी दिन आए। उनीहरूले आफूले घर बनाउन आवश्यक पर्ने इँट्टा, बालुवा चिप्स ढुंगा आवश्यक परिणामभन्दा कम आपूर्ति भएको र डिपोहरूले आफूहरूलाई ठगी गरेको बताए।

उपभोक्ताहरूले 'बाघे' उर्फ सुकबहादुर तामाङ जस्ता गुण्डा नाइकेहरूले चलाउने डिपोहरूबाट आफूहरू ठगीएको प्रहरीलाई बयान दिए। उपभोक्ताहरूको उजुरी पाएपछि महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न स्थानमा रहेको डियोमा छापा हान्यो। छापा हान्दा प्रहरीले अनौठो तथ्य फेला पार्‍यो।

डिपोले ढुवानी गर्ने मिनिट्रकमा ५ इन्चसम्म फलाम र काठ राखेको पाइयो। हेर्दा सामान्य लाग्ने घटना हो यो। तर, एकपटक ढुवानी गर्दा प्रतिमिनिट्रक उपभोक्तालाई १६सयदेखि २२ सयसम्म घाटा हुने महाशाखा प्रमुख सहकुल थापा बताउँछन्।

भिडियो

सामान्यतया एउटा मिनिट्रकमा १०० क्युफिट प्रतिढुवानी गर्नुपर्ने देखिए पनि डिपोले ८२.६३ क्युफिट मात्र ढुवानी गरेर उपभोक्तालाई ठगी गरिरहेको पाइएको हो। उक्त घटनामा अनुसन्धान गरिरहेका एक अधिकारी भन्छन्, 'सामान्यतया एउटा घर बनाउन ३० लाख पर्छ भने डिपोको ठगी गर्दा थप १० लाख पर्ने देखिएको छ। यो उपभोक्ताको लागि एकदमै दुःखद पक्ष हो।'

थापाले प्रहरीमा उजुरी दिन डराउने उपभोक्ताहरूले पनि प्रहरीमा आएर उजूरी दिन आग्रह गरेका छन्। उनले भने, 'आफ्नो पसिनाले बनाउन लागेको घरमा ठगिरहनु भएको छ भने कृपया अपराध महाशाखामा उजुरी दिनुस्। हामी क्षतिपूर्ति दिलाउँछौँ।'

ठगी गर्ने डिपोहरूलाई पाँच वर्षसम्मको जेल र विगो रकम क्षतिपूर्ती दिनुपर्ने प्रावधान रहेको प्रमुख थापाले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.