आफ्नै प्रयासले विश्वकपको उपाधि उचाल्ने सपना

|

बैतडी : सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीलाई क्रिकेटको उर्वरभूमिका रूपमा चिनिन्छ।  बैतडीका थुप्रै खेलाडीले अन्‍तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय प्रतियोगिता खेलिसकेका छन्। जसमध्ये हालै उदाएका नवउदयीमान क्रिकेट खेलाडी  हुन्, खडकबहादुर बोहरा। उनी विकेटकिपर ब्याट्म्यान हुन् साथै पार्टटाइम बलिङ पनि गर्छन्।

बैतडीको दशरथचन्द नगरपालिका-२ देहिमाण्डौस्थित  रजुन्ना गाउँमा विस २०५९ भदौ २५ गते जन्मिएका खडक हाल १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टिममा पर्न सफल भएका छन्। 

सानैदेखि क्रिकेटप्रति लगाव भएका खडकले प्रशिक्षणबिना नै अन्‍तर्राष्ट्रिय प्रतियोगिता खेलेका हुन्।  देहिमाण्डौस्थित  रजुन्ना गाउँमा हरेक घरका कम्तीमा पनि एक खेलाडीले जिल्लास्तरीय क्रिकेट प्रतियोगिता खेलिसकेका छन्। 

१२ महिनै क्रिकेटमय हुने रजुन्ना गाउँमा जन्मिएका उनले अग्रजहरुको सिको गरेका हुन्। दशरथचन्द प्रतिष्ठानपछि जिल्लाकै सबैभन्दा पुरानो क्लबका रुपमा चिनिने निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि) मा समेत खडक आबद्ध  छन्। क्रिकेटकै लागि भनेर विस २०५६ सालमा उक्त क्लब बैतडी जिल्ला क्रिकेट संघमा दर्ता छ। क्रिकेट संघमा दर्ता भएको क्लबले निरन्तररूपमा प्रतियोगिताको आयोजना गर्दै खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

  क्लबले हालसम्म २ जना अन्‍तर्राष्ट्रिय, १० जना राष्ट्रिय र १ दर्जन बढी क्षेत्रीय खेलाडी जन्माएको छ।  क्लबले जन्माएको पहिलो अन्‍तर्राष्ट्रिय क्रिकेट खेलाडी मनोज जोशी हुन् भने दोस्रोमा खडक बोहरा हुन्।

क्लबको पनि आर्थिक अवस्था कमजोर रहेकाले प्रशिक्षक बिना नै प्रशिक्षण दिने गर्दथ्यो। क्लबका अग्रज खेलाडीबाट क्रिकेटतर्फ आकर्षित भएका खडकले गाउँकै गौरामा हुने सानो मैदानबाट खेल्न सुरु गरे। मोजाको बल र काठले घरमै बनाएको ब्याटले उनले क्रिकेट खेल्ने गर्दथे। एक्लै भए पनि उनले भित्ताको सहायताले बल र ब्याटको सम्पर्क गराएर क्रिकेट सुरु गरे। यसका साथै उनले  स्थानीय निङ्गलाशैनी खेलमैदानमा पनि अभ्यासलाई निरन्तरता दिए। 

शुभकामना कपमा क्रिकेटमा डेब्यु

खडक १० वर्षको छँदाखेरी नै खडक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी)मा समेत आवद्ध भएका थिए। क्लवमा आवद्ध भएसँगै अग्रजहरूको खेललाई हेरेर आफ्नो खेललाई पनि खडकले निखार्दै लगे। फलस्वरुप आवद्ध भएको २ वर्षमै सिनियरलाई उछिन्दै जिल्लाकै चर्चित शुभकामना कप खेल्न क्लबबाट अन्तिम १४ मा स्थान सुरक्षित गरे।

उमेरले सानो भए पनि खेल राम्रो भएकै कारण टिममा परेका खडकले विस २०७१ सालमा भएको शुभकामना कपमा औपचारिक रुपमा क्रिकेट खेलको डेब्यु भयो।  डेब्यु खेल तथा प्रतियोगिताका अन्य खेलमा पनि सन्तोषजनक रुपमा खडकले प्रदर्शन गर्न नसके पनि उनको क्लब च्याम्पियन बन्यो।

नेपालका लागि अन्‍तर्राष्ट्रय प्रतियोगिता खेलिसकेका विनोद भण्डारी, प्रदीप ऐरी, ललित भण्डारी जस्ता खेलाडीले समेत खेलेको उक्त प्रतियोगिताबाट अनुभव बटुले। आफ्नो टिममा रहेका ललित भण्डारी र भीम सार्कीबाटसमेत थप सिकेर खडकले त्यसपछि कडा परिश्रमले आफ्नो खेललाई निरन्तर अगाडि बढाइरहे।

देहिमाण्डौंमा रहेको निङ्गलाशैनी बोर्डिङ स्कुलमा अध्ययनसमेत गरिरहेका खडकले सोही वर्ष लहानमा आयोजना भएको १६ वर्षमुनिको स्कुलस्तरीय प्रतियोगिता खेले र अर्का वर्ष पनि १६ वर्षमुनिकै  भैरहवामा क्रिकेट प्रतियोगिता खेल्ने मौका पाए।  स्कुलस्तरीय प्रतियोगिताबाट थप अनुभवका साथै खेललाई निखारेका खडकले बैतडी जिल्ला क्रिकेट संघले आयोजना गरेको बिडिसिए कप जिल्लास्तरीय सिनियर प्रतियोगिता पनि खेल्ने मौका पाए।

बिडिसिए कपमा पहिलोपटक  मौका पाएका खडकले डेब्यु खेलमै अर्धशतकीय पारी खेल्दै ५० रन हिर्काए।   सोही अर्धशतकको मद्दतले उनलाई जिल्लामा सिनियर टोलीमा स्थान बनाउन पनि सहज भयो।  त्यपछि अर्को वर्षको बिडिसिए कपमा पनि उनले उत्कृष्ट अलराउण्डर प्रदर्शन गर्दै टोलीलाई उपाधि जिताउँदै आफू म्यान अफ द सिरिज भए। 

सिनियर प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्न थालेपछि उनले क्रिकेटमै भविष्य खोज्न थाले र थप परिश्रम र अनुशासित भएर खेललाई अगाडि बढाउँदै गए।

परिवारको सहयोग र हौसला

खडकले राम्रो खेल प्रदर्शन गर्दै गएपछि घरपरिवारले पनि क्रिकेट खेल्नुलाई सकारात्मक लिँदै थप हौसला र सहयोग पाए।  बुवाको आर्थिक सहयोगका साथै काका वीरसिंह बोहराको पूर्ण समर्थनले क्रिकेटलाई निरन्तर रुपमा अगाडि बढाउँदै गएका खडकले जिल्लाबाहिर पनि खेल्ने मौका पाउन थाले।

उनले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बैतडीबाट प्रतिनिधित्व गर्दै क्षेत्रीय छनोट प्रतियोगिता पनि खेले। त्यसमा उनले गतिलो प्रदर्शन गर्न नसक्दा राष्ट्रिय प्रतियोगिता खेल्नबाट वञ्चित भए। 

दायाँहाते ब्याट्सम्यान रहेका खडक धनगढीमा सम्पन्न लिटिल फ्लवार प्रिमियर लिग एलपिएलमा एक मात्र शतकधारी खेलाडी हुन्। उक्त शतक लिटिल फ्लवार प्रिमियर लिग इतिहासकै पहिलो शतक हिर्काएका खडक प्रतियोगिताकै उत्कृष्ट ब्‍याट्सम्यानसमेत भएका  थिए। 

त्यसपछि उनले खेललाई अगाडि बढाउँदै गए र आठौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशको टोलीबाट खेल्दै राम्रो प्रदर्शन गरे र उनी बेस्ट ब्याट्सम्यान चुनिए। यसका साथै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पनि खडक उदयीमान खेलाडी घोषित भए। यसका साथै चर्चित घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग(डिपीएल )को तेस्रो संस्करणका लागि उनी ट्यालेन्ट हन्टसमेत परेका थिए।

आठौं राष्ट्रिय खेलकुद र प्रधानमन्त्री कप क्रिकेटले उनको १९ वर्षमुनिको टोलीमा पर्न ढोका खुल्यो र उनी टोलीमा पर्न पनि सफल भए। 

मलेसियामा सम्पन्न १९ वर्षमुनिको ईष्टर्न रिजन क्रिकेट प्रतियोगिता खेल्न गए। सिंगापुरसंगको डेब्यु खेलमै उनले ९० रनको पारी खेले। ओपनिङ व्याट्सम्यानका रूपमा खेल्ने उनले त्यसपछिका अन्य खेलमा भने सम्झनलायक प्रदर्शन गर्न सकेनन्। 

त्यसपछि उनले श्रीलंकामा एसिया कप खेल्न गए। त्यहाँ उनले कुनै पनि खेल खेल्न पाएनन्।  क्रिकेटसँगै काठमाडौंको कीर्तिपुरस्थित जनसेवा माविबाट कक्षा १२ पास गरिसकेका छन्।

सिनियर टोलीमा पर्ने आस

काठमाडौं पस्नुअघिसम्म कुनै पनि प्रशिक्षण नगरेका खडकले त्यसपछि काठमाडौंमा रहेको हिमालयन क्रिकेट एकेडेमी(एचसिए) मा प्रशिक्षण गरे। एकेडेमीमा खेल्दा पनि राम्रै खेल प्रदर्शन गरेका कारण उनले त्यहाँ पनि निशुल्क रुपमा प्रशिक्षण गर्न पाए। हाल पनि उनि सोही एकेडेमीमा प्रशिक्षणमा छन्। कोच पाएपछि थप क्षमता निखार्न सजिलो हुने उनको भनाइ छ। उनले भने, 'प्रशनल कोचविना थप सिक्न सकिन्छ'

१९ वर्षमुनिको टोलीमा परेपछि खडक एउटा खुड्किलो मात्रै पार गरेको प्रतिक्रिया दिएका छन्।  यो राष्ट्रिय सिनियर टोलीमा पर्नका लागी बेस हो उनले भने, 'अझै मिहिनेत गरेर सिनियर टोलीमा पर्नुछ।'

क्रिकेट भनेपछि खान सुत्न पढाइसमेत छा्ड्न तयार हुने खडकको सिनियर टोलीबाट विश्वकप खेलेर उपाधि उचाल्ने लक्ष्य रहेको छ। उनले भने 'सिनियर टोलीबाट विश्वकप खेल्ने र मैरै उत्कृष्ट प्रदर्शनमा उपाधि उचाल्ने धोको छ'

१९ वर्षमुनिको प्रतियोगिता खेल्दा अनुभव  बटुल्ने मौका मिलिरहेको बताउँदै टोली रहेका आधाजसो खेलाडीसँग घरेलु प्रतियोगिता खेलिसकेकोले घुलमिल हुनसमेत असहज नभएको उनको भनाइ छ। भीम सार्की, सन्दीप जोरा, रित गौतम, प्रतीक जिसी लगायतका खेलाडीसँग उनले घरेलु प्रतियोगिता खेलिसकेका थिए। ग्राउण्डदेखि ड्रेसिङ रुपमसम्म कुनै समस्या नभएको उनको भनाइ छ।

क्रिकेटमै भविष्य खोज्दै

भारतीय क्रिकेट खेलाडी वीरेन्द्र सहवाग र विराट कोहली मन पराउने खडकले क्रिकेटमै भविष्य खोजिरहेको बताए। 'क्रिकेटमै भविष्य खोज्दैछु' उनले भने, 'आफूमा क्षमता छ भने क्रिकेटमा पनि भविष्य छ।'

ग्रासरुटदेखि क्रिकेटको विकास हुनुपर्ने उनको भनाइ छ। नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा भएपछि अब ग्रासरुटदेखि प्रतियोगिता हुनुपर्छ उनले भने, 'खेलाडीको सेवासुविधा पनि ध्यानमा राखी अब सबै लेभलका निरन्तर रूपमा प्रतियोगिता सञ्चालन हुनपर्छ।'

काका वीरसिंहको भूमिका

खडकको यहाँसम्म पुग्न उनका काका वीरसिंह बोहराको महत्वपूर्ण भूमिका रहेको छ। आमाबुबाले क्रिकेट के हो भनेर नबुझेका हुनाले खडकलाई क्रिकेट खेल्न रोक लगाउने गर्दथे तर खडकले आफ्ना काका वीरसिंह बोहराको भने निकै समर्थन पाएका थिए।

किनकि वीरसिंह क्रिकेट भनेपछि निकै हुरुक्क हुन्थे र खेल्थे। उनले जिल्लास्तरीय प्रतियोगितासम्म खेल्न सके पनि पछि गएर आर्थिक अवस्था कमजोर र घरपरिवारको सहयोग नपाएर क्रिकेट खेल्न छोडे।  काका वीरसिंहले खडकको क्रिकेटप्रतिको लगावकै कारण क्रिकेट खेल्नसमेत प्रेरित गरेका थिए।

खडक १० वर्षको छँदाखेरी नै खडकलाई निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि)मा समेत उनका काका वीरसिंहले नै आबद्ध गराएका हुन्।

राति सुत्दा होस् या खाना खाँदा होस् खडक सानैदेखि ब्याट र बलसँगै हुने काका वीरसिंहले बताए। राति सुत्नेबेलासमेत बेडमै ब्याट बल हुन्थ्यो अनि खाना खानेबेला पनि ब्याट बलसँगै हुन्थे उनले भने, 'खडकको मिहिनेत र परिश्रम देख्दा एकेडेमी पठाउन सोच्थे, तर आर्थिक अवस्था कमजोर थियो।'

खडकले धेरैपटक क्रिकेट नै खेल्ने भनेर पढाइसमेत छोड्ने प्रस्ताव पनि राखेका थिए उनले भने, 'तर पढाइ र क्रिकेटलाई सँगसँगै लग्नुपर्छ भनेर कक्षा १२ सम्म पढाए।'

स्कुल लेभल पढ्दा नै खडकले एकेडेमी भर्ना गर्न प्रस्ताव राखेको उनले बताए। एकेडेमी भर्ना गरिदिन भनेर खडकले कैयौँपटक प्रस्ताव गर्‍यो तर कक्षा १० पास गरेपछि मात्र एकेडेमी भर्ना गरिदिन्छु भनेको थिए उनले भने 'कक्षा १० पास भएपछी काठमाडौंमा एकेडेमी भर्ना गरे'

बुवा रोजगारीको लागि केही वर्षदेखि भारतमा छन् भने आमा गृहिणी हुन्। काका वीरसिंहको भने स्थानीय देहिमाडौंमा खुद्रा पसल छ। 

खडकको सानैदेखि फिटनेसदेखि लिएर अन्य कुरा पनि खेलाडी हुने खालको रहेको भए पनि आर्थिक अवस्था नहुँदा प्रशिक्षण गराउन नसकिएको काका वीरसिंहले बताए। 

अहिले यू १९ टिममा पर्दा क्रिकेटवाटै केही गर्छ भन्ने आश छ। उनले भने, 'अझै पनि उसले भनेको जति सबैकुरा पुगाउन सक्ने अवस्था छैन'  नामकै लागि भने पनि सकेजति लगानी गरेका छौं।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.