बल्ल पायो बजेट र राष्ट्रिय मान्यता

|

दमक (झापा) : दमकमा चक्रपथ निर्माण सुरु भएको २४ वर्ष नाघ्यो। तत्कालीन समयमा जनप्रतिनिधि भएकै बेला यो योजना सुरु भएको थियो। तर‚ उनीहरूको कार्यकाल सकिको २० वर्षपछि अर्का जनप्रतिनिधि निर्वाचित भइसक्दा पनि परियोजना अलपत्र छ।

डेढ दशक कर्मचारीले स्थानीय निकाय चलाए। अहिले स्थानीय सरकारको संवैधानिक मान्यतासहित जनप्रतिनिधि स्थापित भएका छन्। तर यसको ट्र्याक खुलाउने काम अझै पूरा भएको छ। 

३३ किलोमिटरको दमक चक्रपथको पूर्वपश्चिम राजमार्ग दक्षिण खोला किनारमा नै सडक परेको छ। जसका कारण ट्र्याक पूरा हुन बाँकी रहेको सडक डिभिजन दमकले जनाएको छ।

कार्यालयका इन्जिनियर विपिन ढुंगानाका अनुसार राजमार्ग दक्षिणमा करिब एक किलोमिटर ट्र्याक पूरा हुन बाँकी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमा पर्ने यो सडकले केही समय अघि राष्ट्रिय राजमार्गको मान्यता पाएको छ। यो मान्यतासँगै बजेटको पनि व्यवस्था भएकाले यो कार्य समेत चाँडै पूरा हुने सडक डिभिजनको भनाई छ।

राष्ट्रिय राजमार्गको मान्यता पाएसँगै यसमा आवश्यक बजेट संघीय सरकारले विनियोजन गर्ने भएकाले अब स्रोत साधन अभाव नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा पूर्वाधार क्षेत्र संयोजन गर्ने सचिवालय सदस्य होमबहादुर थापाले बताए। दमकको चक्रपथ पूरा गर्ने दायित्व अब संघीय सरकारको भएकाले अब कुनै पनि कारणले यसको निर्माण नरोकिने उनको भनाई छ। 

१७ करोड बिनियोजन

३३ किलोमिटरको चक्रपथ निर्माणका लागि यो आर्थिक वर्षमा १७ करोड रुपैयाँ बिनियोजन भएको सडक डिभिजनले जनाएको छ। यसअघिसमेत चक्रपथको केही भागमा कालोपत्रे भएको छ। केही ठाउँमा कालोपत्रे हुने क्रम जारी छ।

पशुहाटदेखि उत्तरी र दक्षिणी भागमा केही कालो पत्रे भएको छ भने तारावारी-डिपू खण्डमा पनि प्रदेश सरकारमार्फत कालोपत्रे भइरहेको इनिजनियर ढुंगानाले जानकारी दिए।

यस्तै तारावारी ढाट पश्चिम-दक्षिणी भागमा समेत ठेक्का प्रक्रिया पूरा भइसकेको जनाइएको छ। यस वर्ष बिनियोजित रकमले गर्नु पर्ने काम र हालसम्मको अवस्थाबारे जानकारी लिन बिहीबार चक्रपथ निर्माण कार्यको अनुगमन पनि गरिएको छ। 

ढिलाइको कारण

दमक चक्रपथको अवधारणा आएको दुई दशक भए पनि निर्माण सुस्त रहँदै आएको छ। यसबीचमा चक्रपथ निर्माणको काम केही भए पनि अपेक्षित गति लिन सकेको थिएन। तर अब यसको निर्माण कार्यले गति पाउने नगरपालिकाको भनाई छ। नगरको दीर्घकालीन विकास र सहरीकरणलाई विकेन्द्रीत गर्ने लक्ष्यसहित चक्रपथको अवधारणा ल्याइएको नगरप्रमुख रोमनाथ ओलीले बताए।

तत्कालीन समयमा समेत नगरप्रमुख रहेका ओलीले भने, ‘नगरका सबै क्षेत्रमा सहरीकरण विस्तार, नदी नियन्त्रणलगायतका लक्ष्यसहित चक्रपथको अवधारणा यस अघि जनप्रतिनिधि कै कार्यकालमा ल्याइएको थियो। तर पूरा हुन सकेको थिएन। अब यसको निर्माण कार्य तीव्र रुपमा अघि बढ्छ।’ 

चक्रपथ दमकको एउटा महत्पूर्ण योजना हो। यसले दमकको आर्थिक विकासमा पनि महत्वपूर्ण सहयोग पुर्‍याउने नगरकी उपप्रमुख गीता अधिकारी बताउँछिन्।चक्रपथ पूरा भएपछि नगरका उत्तरी तथा दक्षिणी क्षेत्रस्थित कृषि क्षेत्रबाट कृषि उपज मुख्य बजार क्षेत्रसम्म ल्याउन र अन्य उपभोग्य वस्तु ग्रामीण क्षेत्रसम्म पुर्‍याउन पनि सहज हुने उनले बताइन्।

चक्रपथ बनेपछि स्थानीयस्तरमा स्वास्थ्य, शिक्षालगायतका सेवाको उपभोग सहज हुनेछ। यस्तै चक्रपथ निर्माणले नगरको सहरीकरणको विकास समेत सबै क्षेत्रमा पुग्ने र जनघनत्वको व्यवस्थापनमा समेत यसले सहयोग पुर्‍याउने अधिकारीको भनाई छ।

नगरका तत्कालीन १९ मध्ये १५ वटा वडाहरूलाई छुने स्थान, रतुवा र मावा खोलाको कटान नियन्त्रण पनि हुने अपेक्षासहित चक्रपथको अवधारणा ल्याइएको थियो।

तर जनप्रतिनिधिको कार्यकाल सकिएको, द्वन्द्वको समय आएको र स्थानीय तह जनप्रनिधिविहीन भएका कारण यसले अपेक्षित गति नपाएको चक्रपथ निर्माण समितिका अध्यक्ष समेत भएका वडा नं.१० का अध्यक्ष बोधराज न्यौपानेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.