|

सिन्धुपाल्चोक : पाँचपोखरी थाङ्पाल गाउँपालिका-५ गुन्सामा बिहीबार एक व्यक्तिको वीभत्स हत्या भयो। सामान्य विवादमा २८ वर्षीय विजय गोलेको ज्यान गयो।

सोही गाउँपालिकाकै वर्ष २३ का मिलन स्याङ्बो र वर्ष २४ का बमबहादुर स्याङबोले उनको घाँटी रेटेर हत्या गरे। आरोपी हत्यापछि फरार छन्।

शंकास्पद क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरेर आरोपीको खोजी कार्य तीव्र रुपमा अगाडि बढाइरहेको डिएसपी माधव काफ्लेले जनाए। ‘हत्या भएको आधिकारिक कारण खुल्न सकेको छैन। हाम्रो अनुसन्धानबाट हेर्दा सामान्य विवादमा उनको वीभत्स तरिकाले हत्या भएको देखिन्छ’ उनले भने।

मादक पदार्थ सेवन गरेर विवाद सिर्जना हुँदा उनको हत्या भएको प्रहरीले अनुमान लगाएको छ। हत्या गरी फरार भएका व्यक्तिको खोजीको लागि इलाका प्रहरी कार्यालय मेलम्चीका निरीक्षक महेन्द्र दर्नालको टोली लागेको छ।

घटनास्थलको मुचुल्का उठाएर दर्नालको टोली घटनास्थलबाटै आरोपीको खोजीको लागि निस्केको दर्नालले बताए। तर, अहिलेसम्म पनि आरोपी घटनापछि कता निस्केको भन्ने यकिनसमेत हुन नसकेको जनाए।

बिहीबार राति घटना भएकाले आरोपी धेरै टाढा भाग्न नसकेको अनुमानले खोजीकार्य जारी राखे पनि अहिलेसम्म अत्तोपत्तो नभएको उनको भनाइ छ।

सम्भावित क्षेत्रमा प्रहरी परिचालन गरेर खोजीलाई तीव्रता दिइएको उनले बताए। मृतकको शव मेलम्ची स्वास्थ्य चौकीमा राखिएको प्रहरीको भनाइ छ।

हत्या भएका गोले तत्कालीन नेकपा एमाले गुन्सा गाउँ कमिटी अध्यक्षका छोरा हुन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.