पौने चार लाख नगद र २४ थान मोबाइल पनि भेटियो

|

दाङ : दाङको राजपुर गाउँपालिका-४ मरेठा जंगलबाट बिहीबार बिहान पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका पश्चिम कमाण्ड इञ्चार्ज वीरजंग चन्दसहित २१ जना नेता तथा कार्यकर्तालाई शुक्रबार अदालतमा पेस गरी पाँच दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप गरिएको छ।

पक्राउ गरेका उनीहरूलाई दाङ देउखुरी जिल्ला अदालत घोराहीबाट आवश्यक अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको हो। म्याद थपका लागि दाङ देउखुरी जिल्ला अदालत पेश गर्नुअघि उनीहरूलाई सरकारी वकिलको कार्यालयमा लगिएको थियो।

साथै दाङ प्रहरीले शुक्रबार पक्राउ परेकाहरूको सम्पूर्ण विवरण पनि सार्वजनिक गरिएको छ। पक्राउ परेकाहरूबाट लोड गरिएको पेस्तोल, गोलीसहित महत्वपूर्ण राजनीतिक दस्तावेज बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए। प्रहरीले दुइटा अमेरिकन लोड गरिएको पेस्तोल दुई थान, कटुवा पेस्तोल चार थान, नगद ३ लाख ८४ हजार पाँच सय तीस रुपैयाँसमेत बरामद गरेको छ।

यसैगरी, २४ थान मोबाइल सेट, केन्द्रीय समितिको आठौं पूर्ण बैठकको राजनीतिक प्रस्ताव लेखिएको २५ पानाको तीन ठेली, चन्दा संकलनको लागि ठिक्क पारिएको पत्र, नेपाल कम्युनिष्ट पार्टीको छाप, विभिन्न राजनीतिक दर्शनका किताबसमेत बरामद गरी सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेकाहरूलाई संगठित अपराध, राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ। सूचना प्राप्त भएपछि खटिएको प्रदेश ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङले विप्लवको राप्ती ब्यूरोको बैठक बसिरहेको बेला राति १ बजे पक्राउ गरेको थियो।

उनीहरूले तत्कालीन माओवादीले सेल्टरका रूपमा प्रयोग गरेको ठाउँलाई नै आफ्नो सेल्टरको रूपमा प्रयोग गदै आएका रहस्य खुलेको छ। दाङको नेपाल–भारत सीमा नजिकका नेपाली बस्तीलाई तत्कालीन माओवादीले सेल्टरको रूपमा प्रयोग गर्ने गरेको थिए।

अहिले विप्लवका नेता तथा कार्यकर्ताले पनि यिनै बस्तीलाई सुरक्षित स्थल मानेको पाइएको छ। तर, प्रहरीले विप्लवका नेता कार्यकर्ताको सेल्टर र गोप्य बैठक बसेको स्थल पत्ता लगाएको थियो।

कालाकाटे–सिक्टा सडकखण्डको दुलैया स्कुलदेखि करिब १० किलोमिटर भित्र मुंग्रेठा खोला पर्छ। यो गाउँमा तत्कालीन माओवादीले विशेष प्रशिक्षण र गोप्य बैठक राख्ने गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.