|

सिन्धुली : सिन्धुलीको तीनपाटन गाउँपालिकाका कर्मचारीले गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प पारेका छन्।

तीनपाटन गाउँपालिकाका सूचना प्रविधि अधिकृत सञ्जय थापालाई स्थानीय पाँचजना युवाको समूहले बिहीबार राति हातहतियारसहित कुटपिट गरेको घटनाप्रति आपत्ति जनाउँदै कर्मचारीले कामकाज ठप्प पारेका हुन्।

गाउँपालिकाको प्राविधिक शाखाको माथिल्लो तलामा रहेको कर्मचारी आवासमा सुतिरहेका थापालाई स्थानीय तीनपाटन –११ का रवीन बस्नेत, उमेश कार्की, विशाल लामा, भोज राज दाहाल र तीनपाटन १० का इश्वर कार्कीसहितको समूहले निवासमा प्रवेश गरी ज्यान नै लिने गरी भएको हिंस्रक व्यवहारप्रति ध्यानाकर्षण भएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले प्रेस विज्ञाप्ति जारी गरेका छन्।

गाउँपालिकामा बसी दैनिक कामकाज गर्न सुरक्षाको प्रत्यभूति नभएसम्म र दोषीमाथि कडा कारबाही नभएसम्म गाउँपालिकाको सम्पूर्ण सेवा ठप्प पार्ने शुक्रबार बसेको कर्मचारीको बैठकले निर्णय गरेको उक्त विज्ञाप्तिमा उल्लेख छ।

गाउँपालिकाका अध्यक्ष कर्ण मगर र उपाध्यक्ष पदम माया तामाङ गाउँपालिका बाहिर रहेकाले अध्यक्ष र उपाध्यक्ष आएर सुरक्षाको प्रत्याभूति नगराएसम्म कामकाज ठप्प गर्ने प्रमुख प्रशासकीय अधिकृत थापाले बताए। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष काठमाडौंतिर रहेको बताइएको छ।

गाउँपालिकाको केन्द्र चकमके बजारस्थित एक होटलमा खाजा खानेक्रममा थापा र युवाबीच सामान्य भनाभन भएको र त्यही विषयलाई लिएर आवासमै आएर हातपात गरेको प्रशासकीय अधिकृत थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.