|

धनगढी : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टी सत्तामा नजाँदासम्म सामान्य र सत्तामा पुगेपछि असामान्य बन्ने गरेको बताएका छन्। 

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजना प्रशिक्षणको धनगढीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनताको अपेक्षा पूर्णरूपमा पूरा गर्न नसकेको बताएका हुन्।

‘कम्युनिस्ट पार्टी सत्तामा नजाँदासम्म सामान्य हुन्छन्। जतनको घरमा जाने। जस्तो दिन्छन् त्यस्तै खाने। त्यस्तै लगाउने। जनता जस्तै हुने’ उनले भने, ‘तर, सत्तामा गएपछि सुटेट बुटेट हुने। चिल्ला गाडी चढ्ने (हाँस्दै) चढ्नै पर्‍यो।’ अध्यक्ष दाहालले जनताका समस्या समाधान गर्न कर्मचारीतन्त्र बाधक भएको बताए।

‘हामीले राजतन्त्र त फाल्यौँ। तर, कर्मचारीतन्त्र फालेका छैनौँ। उनै राजाले भर्ना गरेकै मान्छेबाट काम चलाइरहेका छौँ। चलाउनु पनि पर्छ’ उनले भने, ‘मेरो भावबाट बुझ्नु होला। धेरै कुरा भन्यो भने बिग्रिएला भन्ने डर छ।’ कर्मचारीकै कारणले पनि नेताहरू कर्मचारी जस्तै भएको उनले बताए।

‘कर्मचारीकै कुरा सुन्दा सुन्दै हामी पनि कर्मचारी जस्तै हुँदै छौँ' प्रचण्डले भने,‘नेता कर्मचारी जस्तो बने परिवर्तन लावारिश हुन्छ। यस्तो खतरा हामी कहाँ पनि छ। त्यो खतरा नआओस् भनेर नै एकता गरेका हौँ।’

यसरी भयो एकता 

०७५ जेठ ३ गते औपचारिक रूपमा पार्टी एकता भए पनि तत्कालीन एकाले र तत्कालीन माओवादीबीच २०५१ साल देखि नै पार्टी एकताको प्रयास भएको दाहालले बताएका छन्। 

मदन भण्डारी र आफूले पार्टी एकताको एजेन्डामा छलफल गर्ने भनेर २०५१ सालमा तयारी भइरहेको उनले जानकारी दिए। ‘तर, त्यो दिन आउनु भन्दा अगाडि नै मदन जीको हत्या भयो’, उनले भने, ‘हामीले बसेर छलफल गर्नै पाएनौँ।' त्यसपछि पनि पटक पटक एकताको गृहकार्य भइरहेको दाहालले बताए।

‘१२ बुँदे सम्झौता भन्दा पहिले रोल्पामा एमालेसँग एकता गर्न सहमति भएको थियो’ दाहालले भने, ‘वामदेव जीको नेतृत्वमा गएको टोलीसँग लिखित सहमति भएको थियो। त्यहाँबाट एकताको विषय सुरु भएको हो।’ 

दाहालले पार्टी एकता सहज नभएको बताए। त्यसपछि २०६४ सालको पहिलो निर्वाचन भन्दा अगाडि पनि धेरै पटक यस विषयमा छलफल भएको सुनाए। ‘सबै कुरा मिलाउन पनि सकिएन। चुनाव आइहाल्यो। हामी एकता बद्ध हुन सकेनौं।  पार्टी एकता नभए पनि चुनावी एकता गरौँ भन्ने भयो’ उनले भने, ‘मलाई यस विषयमा थाहा थिएन। मैले १० वर्ष सम्म बन्दुक चलाउने अनुभव त हासिल गरे। तर, यो ब्यालटवाला के हुन्छ भन्ने मलाई अनुभव थिएन। कति भोट आउने हो कि होइन भन्ने भयो।’ 

त्यसपछि भागबन्डाका लागि तत्कालीन पार्टीका महासचिव माधव नेपाललाई आग्रह गरेको उनले सुनाए। दाहालले भने, ‘मैले माधव जीलाई ५०/५० गरौँ। तालमेल गरौँ। त्यसपछि पार्टी एकताको कुरा गरौला भनेर प्रस्तुत राखेकै हुँ।’ माधव नेपालले आफ्नो प्रस्ताव स्वीकार नगरेको उनले बताए ।

‘पूर्व एमालेलाई बढिनै अहंकार थियो। माधव जी मान्नु भएन।  उहाँले ३०/७० भन्नु भयो। ३० मा मैले माओवादीलाई मनाउन सक्ने अवस्था थिएन',  दाहालले भने, ‘म पाँच घटे। एमालेलाई ५५ र माओवादीलाई ४५ गरे। तर, त्यो पनि उहाँहरूले स्वीकार गर्नुभएन।’ 

दुवै बीच सहमति नभएपछि २०६४ र २०७०को निर्वाचनमा पनि चुनावी गठबन्धन तथा पार्टी एकता हुन नसकेको दाहालले स्पष्ट पारे। ‘एमालेका नेताहरूलाई सबै जित्छौ भन्ने लागेको थियो तर। सबै हार्नुभयो। हामीले त सोचेको भन्दा पनि बढी जित्यौ’, दाहालले भने,‘ त्यसपछि हामी पनिले धर्ती छोड्यौ। ०७० को चुनावमा एमाले माओवादी जस्तो भयो माओवादी एमाले जस्तो भयो।’ 

पार्टी बलियो बनाउन र जनताको मत जित्न ०७४ सालमा चुनावी गठबन्धन र पार्टी एकता गरेको उनले बताए। ‘विगतमा अहंकार गरेर फुलेर भ्यागुतो जस्तो पनि भइयो, हारेर चाउरी परेर मरिज जस्तो पनि भोगियो।’ विगत सम्झँदै दाहालले भने, ‘यसपछि संसार यस्तै हो भन्यौँ। एकता गरौँ देश बचाउ, यो आन्दोलन बचाउ भन्ने बुद्धि त्यहाँबाट आएको नेताहरूलाई।’

ऐतिहासिक भौतिकबादी सन्दर्भमा पार्टी एकता गरिएको उनले बताए। पार्टी एकता गर्दा देखिएको उत्साह क्रमिक रूपमा घट्दै गएको प्रति दाहालले चिन्ता व्यक्त गरे। तीन महिनामा सक्ने भनिएको पार्टी एकता डेढ वर्षसम्म पनि नसकिनुको कारण खोतल्नु पर्ने बताए। अध्यक्ष दाहालले परिवर्तन संस्थागत गर्नु अहिलेको सबै भन्दा ठुलो चुनौती रहेको बताए। 

संकटको समय 

अध्यक्ष दाहालले जनता अपेक्षाहरू पूर्ण रूपमा पुरा गर्न नसक्दा समस्या उत्पन्न हुन सक्ने बताएका छन्। समस्या बढ्दै गए जटिल अवस्था आउने उनले विश्लेषण गरेका हुन्। दाहालले पार्टीमा अनुशासनहीनता र अराजकताको अवस्था सृजना हुने हो कि भन्ने चिन्ता व्यक्त गरे। ‘हामीमा अहिले ग्यास्ट्रिक भएको अवस्था छ। अझै बिग्री सकेको छैन,’ उनले भने, ‘तर समयमा उपचार भएन भने क्यान्सर हुन्छ। क्यान्सरको अवस्थामा पुगियो भने पार्टी खत्तम हुन्छ।’

जनताले चाहेको तीव्र गतिको विकासअनुसार सरकारले काम गर्न नसकेको उनले स्वीकार गरे। ‘चुनावमा जाँदा जनतामा जुन उत्साह थियो त्यसलाई कायम राख्ने, सुदृढ बनाउनेमा हामी कहीँ न कहीँ चुकेका छौँ। त्रुटि भएको छ।’

सुदूरपश्चिमलाई प्राथमिकतामा राख्ने 

दाहालले विकासका क्रममा विगत देखि नै पछाडि पारिएको सुदूरपश्चिम प्रदेशलाई प्राथमिकता राखिने बताएका छन्। ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा सुख्खा बन्दरगाह अगाडि बढाउने कुरा भएको थियो। त्यो अगाडि बढ्न सकिरहेको छैन’ उनले भने, ‘सुदूरपश्चिम विश्व विद्यालय, पञ्चेश्वर परियोजना लगाएका विषयमा पनि ढिलाइ भइरहेको छ।’

आफूले विगतमा पनि पटक पटक सुदूरपश्चिम प्रदेशका विषयहरू उठाउँदै आएको दाहालले बताए। चिनियाँ राष्ट्रपति सीसँग भएको २० बुँदे सम्झौतामा कर्णाली प्रदेशलाई उत्तरी चीनसँग जोड्ने हिल्सा–सुर्खेत नाका सञ्चालन गर्ने विषय समेटिएको र उक्त सडकले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने बताएका हुन्। 

‘चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा हिल्सा–सुर्खेत नाका सञ्चालन गर्ने समझदारी भएको छ उनले भने,  त्यसले सुदूरपश्चिमले पनि लाभ हासिल गर्न सक्छ।’ पञ्चेश्वर परियोजना निर्माणका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गरेको र यस विषयमा भारत सरकार पनि केही सकारात्मक देखिएको उनले बताए।

‘सुदूरपश्चिम विकास भयो भने यो क्रान्ति हो। सुदूरपश्चिम विकास भएन भने यो क्रान्ति होइन भन्ने अवस्था छ', दाहालले भने, ‘अब सुदूरपश्चिम र कर्णालीको विकासमा थप ध्यान केन्द्रित गर्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.