|

काठमाडौं : दुबईबाट ल्याइएको ३३ किलो सुन गौशालाको पिंगलास्थानबाट बरामद भयो, सुन बोकेर हिडेका तीन जना पक्राउ पनि परे, तर वास्तविक सुन मालिक को हो एक साता वित्दा पनि प्रहरीले पत्ता लगाउन सकेको छैन। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को प्रहरी टोली सुन बरामद भएदेखि नै खटिइरहेको छ तर वास्तविक मालिक को हो भन्ने बारेमा अन्यौलमै छ। 

प्रहरीले दुबईबाट आएको सुन लिन आएका गोपालबहादुर शाही, र शाहीसँग सुन लिन आएका मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई पक्राउ गरेर केरकार गरिरहेको छ। तीन जनाबाहेक नै वास्तविक सुन मालिक अर्कै रहेको खुले पनि को हो भन्ने पहिचान खुलाउन नसक्दा प्रहरी नै रनभुल्लमा परेको छ। 

'पक्राउ परेका तीन जनाबाहेक अरु नै वास्तविक सुन मालिक अर्कै व्यक्ति हो भन्ने चाँही खुलिसकेको छ', अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने- 'वास्तविक मालिकको बारेमा केही कुरा खुलिसकेको छ, तर यही नै हो भन्ने यकिन नहुँदा हामीलाई पक्राउ गर्न अफ्ठयारो परिरहेको छ।' 

वास्तविक सुन मालिक पक्राउ परेमा ३३ किलो सुनको मात्र नभएर नेपालमा तस्करीको जालोकै बारेमा पर्दाफास हुने भएकोले वास्तविक मालिकको खोजीमा लागिरहेको पनि उनले बताए। सेटिङमार्फत आएको सुन त्यही वास्तविक मालिकमार्फत मात्र सुन व्यापारीको हातमा पुग्ने गरेको पनि उनले जानकारी दिए। विमानस्थल भन्सारका कर्मचारीको मिलेमतोमा नै सुन तस्करी भई विमानस्थलबाट बाहिरिन सफल भएको पनि उनले बताए।

सिआइबी निर्देशक नवराज सिलवालले पनि घटनाको अनुसन्धानकै क्रममा रहेकोले अहिले नै केही भन्न नसकिने जानकारी गराए। 'हामी अनुसन्धानकै क्रममा छौं, धेरै कुराहरु खुलिसकेका छन्, वास्तविक अपराधमा संलग्न व्यक्ति पक्राउ नगरिकन अहिले नै केही भन्न सक्ने अवस्थामा छैनौं', उनले भने।

पक्राउ परेकाहरुलाई संगठित अपराध अन्तर्गत मुद्दा चलाई अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए। यसअघि सुनसहित पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान विभाग बुझाउने गरेको भएपनि यसपल्ट विमानस्थलमा नै सेटिङ गरेर कर छली गरी सुन ल्याइएको भेटिएपछि प्रहरीले संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको हो।

यसपटक गम्भीरतापूर्वक छानबिन

यसअघि सुन बरामद भएपछि प्रहरीले राजस्व अनुसन्धान विभाग बुझाइदिने गरेको थियो। तर यसपटक भने प्रहरी आफै नै अनुसन्धान गरेर निष्कर्षमा पुग्न गहिराईमा पुगेर अनुसन्धान गर्नका लागि खटिएको छ। 

ठूलो परिमाणमा सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पनि यसपटक गम्भीर चासो देखाई आ–आफ्नो तर्फबाट निर्देशन पनि दिइसकेका छन्। गृहमन्त्री निधि र प्रहरी महानिरीक्षक अर्यालले सिआइबी प्रमुख सिलवाललाई घटनाको गहिराईसम्म नै पुगेर अनुसन्धान गर्न निर्देशन दिएका थिए।

प्रहरी महानिरीक्षक अर्यालले विमानस्थलमा सेटिङ भई सुन भित्रिएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै निरीक्षण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.