|

जनकपुरधाम : मधेस आन्दोलनमा प्रहरीको गोली लागेर खुट्टा गुमाएका राजेश्वर साहले उपचारमा वर्षेनी ५० देखि १ लाख खर्च गर्छन्। गोलीले खुट्टा गुमेपछि गरिएको प्लाष्टिक सर्जरी वर्षेनी चेन्ज गर्नुपर्छ। औषधी पनि खानुपर्छ। सधैंको लागि अपाङ भएका परिवार चलाउन समेत धौधौ परेको पीडा उनका भाई दिनेश साहले सुनाए।

यस्तै मधेस आन्दोलनमै गोली खाएर अपांग भएका बाराका जितेन्द्र प्रसाद यादव पनि दर्दनाक पीडा झेल्न बाध्य छन्। उनी पनि मधेस आन्दोलनमा गोली खाए।

त्यतिबेला काठमाडौंमा गराएको उपचार खर्च मात्र पायो। अहिले पनि समय समयमा चेकजाँच गराउनुपर्छ र औषधी खानुपर्छ। तर प्रदेश सरकारबाट सहयोग नपाएको गुनासो गर्छन्। उनी पनि यस्तो अवस्थामा जीवन कसरी धान्नेमा चिन्तित छन्।

राजेश्वर र जितेन्द्र जस्तै मधेस आन्दोलनका सयौं घाईते कष्ट भोगिरहेका छन्। आन्दोलनकै बलमा सत्तामा पुगेका मेधसी दलका नेता तथा मन्त्रीहरु उनीहरुको पीडामा मलहम लगाउन सकेका छैन। प्रदेश २ मा पनि अहिले मधेसवादी दल राजपा र समाजवादी पार्टीकै सरकार छ। तर सहिद परिवार र घाईतेहरुको पक्षमा कुनै ठोस निर्णय नलिई सत्तामा रमाइरहेको छ।

आन्दोलनका बेला मधेस सरकार बनेपछि सहिद परिवारलाई ५० लाख दिने घोषणा गरेका थिए। तर सहिद परिवार र घाइतेका लागि केही गर्न नसकेपछि उनीहरु छलफल गरी पीडित विजय यादबको अध्यक्षतामा संघर्ष समिति बनाएको छ। समितिका अध्यक्ष यादबले सहिद परिवार र घाइतेहरुलाई पियनको जागिर र भैंसी दिएर प्रदेश सरकार जिस्काउने काम गरेको बताउँछन्।

‘मधेस आन्दोलन हाकिमलाई चिया र पानी खुवाउन हामीले आन्दोलन गरेको थिएनौं’, उनले भने, ‘आन्दोलनमा अपाङ भएकाहरुले घरपरिवार चलाउन सकेका छैन। छोराछोरी पढाउन पाएका छैन। अनी भैंसी कसले चराउँछन् ? यो भैसीले झन पिडा थपिएको छ।’

उनले पिउनको जागिर नभएर क्षमताको आधारमा सम्मान जनक जागिर प्रदेश सरकारले दिनुपर्ने उनको माग छ। घाइतेहरु अझै उपचार गराउन नपाइरहेकाले विभेदरहित तरिकाले आर्थिक सहयोग गर्नुपर्ने समेत उनको भनाई छ।

घाईते गौर नगरपालिका ४ का ४९ वर्षीय लालबाबु पटेल भन्छन्, ‘हामीलाई हतियार बनाएर नेताहरु सत्तामा पुग्यो। उनीहरु अहिले करोडौंको गाडीमा चढ्न थाले। तर हाम्रो पीडा कसैले बुझेनन्।’

उनले विगतमा खसवादीहरुबाट गोली खाए तर अब मधेसी नेताहरुबाटै गोली खाएर मरिहालु जस्तो लाग्न थालेको बताए। उनले प्रदेश सरकार बनेको २ वर्ष वितिसक्दा पनि सहयोग गर्नुको साटो अपमान गरिरहेको गुनासो समेत पोखे।

ज्ञापन–पत्र लिन अस्वीकार

घाईते र शहिद परिवारका सदस्यहरुको ज्ञापनपत्र बुझ्न मुख्ययमन्त्री लालबाबु राउतले अस्वीकार गरेका छन्। पर्सा, बारा, रौतहट, सर्लाहीका मधेस आन्दोलनका घाईते र शहिद परिवारका सदस्यहरु विहिवार मुख्यमन्त्री राउतलाई पूर्वजानकारी गराएर ज्ञापनपत्र बुझाउन जनकपुर आएका थिए। तर मुख्यमन्त्री राउत समय दिएनन्। उनी बहिरा संघको कार्यक्रममा सहभागी हुन सिरहा पुगे।

जनकपुर आउनु पूर्व र आइसकेपछि उनीहरु पटक पटक मुख्यमन्त्री राउतलाई फोन लगाए। तर रिसिभ भएन। एसएमएस गरेँ, जवाफ आएन। पछि संघर्ष समितिका संयोजक दिनेश यादबले मुख्यमन्त्री राउतका पिए दिपक यादबलाई सम्पर्क गरे। उनले फोनमा उल्टै हप्काए। ज्ञापनपत्र बुझ्ने फुर्सद छैन भन्दै हप्काएर दिपकले पनि फोन काटेको संघर्ष समितिका अध्यक्ष यादबले सुनाए।

मुख्यमन्त्री राउतले समय नदेखिएको भन्दै सहिद परिवार र घाइतेहरु विहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी नै केहिबेर धर्ना बसेका थिए। तर पछि मुख्यमन्त्रीका सल्लाहकार जितेन्द्र यादबले उनीहरुलाई कार्यालयमा बोलाएर छलफल गरे। सल्लाहकार यादबले ज्ञापनपत्र लिएर सम्झाइबुझाइ उनीहरुलाई घर पठाए।

आत्मदाहको चेतावनी

घाइते र सहिद परिवारले ज्ञापनपत्रमा उल्लेखित माग पूरा नभए आत्मदाह गर्नेसम्मको चेतावनी दिएका छन्। आत्मसम्मान पूर्वक बाँच्न पाउनका लागि शहिद र घाइते सबै परिवारलाई जनही ५० लाख सहयोग, आवासको सुविधा, उपचारको व्यवस्था र आजिवन पेन्सनको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

साथै शहिदको सम्बन्धित स्थानमा शालिक निर्माण र गेटको निर्माण गरी शहिद र घाइतेको नाममा नामाकरण गर्नुपर्ने माग पनि गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.