|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित बन्द अवस्थामा रहेको मझगाँउ विमानस्थल सञ्चालनका लागि प्राविधिक टोलीले अध्ययन कार्य सुरु गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले केही महिनाअघि मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टीम पठाउने प्रतिबद्धता गरेअनुरूप टोलीले अध्ययनको कार्य सुरु गरेको हो।

सशस्त्र द्वन्द्वकालका कारण दुई दशकदेखि बन्द विमास्थल सञ्चालनका लागि पहिलोपटक स्थानीयस्तरमा सरोकारवालासित कार्यक्रम गरी काठमाडौं केन्द्रित दबाबका कार्यक्रम सुरु गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमास्थल पुनः सञ्चालनको सम्भाव्यता अध्ययनका लागि परामर्शदाता नियुक्त गरी टोली पठाएको हो। परामर्शदाता रियल दाउ इन्जिनियरिङ कन्स्लटेन्सीको प्राविधिक टीम विमानस्थल पुगेको छ।

प्राविधिक टोलीका प्रमुख इन्जिनियर गुणदत्त अधिकारीले मन्त्रालयले दिएको म्यान्डेटअनुसार विमानस्थल सञ्चालनका लागि विस्तृत अवस्था अध्ययनको कार्य भइरहेको बताए। ‘म्यान्डेटअनुसार यसको डिटेल फिजिविलिटी तयार गर्छौ’ इन्जिनियर अधिकारीले भने।

इन्जिनियर अधिकारीले मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि रनवेका लागि थप जग्गा चाहिने बताए।  'हाल विमानस्थलका लागि १६ सय मिटरको धानवन मार्ग छ' उनले भने, ‘यसलाई १८ सय मिटर बनाउन आवश्यक छ। त्यसका लागि थप जग्गा चाहिन्छ।’

 उनले १५ सय मिटर धावन मार्गमा जहाज सञ्चालन गर्न सकिने भए पनि तराई क्षेत्रमा उपयुक्त नहुने बताए। एक हजार ६ सय ६५ मिटरको धावन मार्गसहित विमानस्थलसित ६५ बिगाहा जमिन छ। प्राविधिकहरूका अनुसार ठूला जहाज सञ्चालन हुने गरी विमानस्थल सञ्चालका लागि एक सय १७० देखि एक सय १७५ बिगाहासम्म जमिन चाहिन्छ।

प्रतिनिधिसभाका सांसद डा. दीपकप्रकास भट्टले विमानस्थल सञ्चालनका लागि देखिने सबै बाधा हटाउनका लागि कार्य गरिने बताए। 'राम्रो सम्भावना बोकेको विमानस्थल हो, यसमा नेपाली मात्रै होइन, भारतीय पनि ठूलो संख्यामा आउँछन्' उनले भने, ‘यसका लागि जे जस्ता अप्ठेरा छन्, ती समाधान गर्न तयार छौँ।’

धावन मार्ग विस्तारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित छलफल र पूर्वाधार निर्माणका लागि चालु वर्षमा बजेट विनियोजन गरिने उनले बताए। भीमदत्त नगरपालिकाले यस वर्ष विमानस्थलका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले समृद्धि र विकासका लागि विमानस्थल आवश्यक भएकाले नगरपालिकाबाट सक्दो सहयोग गरिने बताए। सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.