|

बागलुङ : जैमिनी नगरपालिकाले व्यवसायिक अलैँची खेती थाल्ने भएको छ। अलैँचीको लागि उपयुक्त हावापानी रहेका चारवटा वडालाई समेटेर खेती बिस्तार गर्ने भएको हो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उल्लेख गरेर नगरपालिकाले अलैची ‘ब्लक’ घोषणा गर्ने नीति लिएको नगर उपप्रमुख लिला रानाले बताए। नगरको वडा नं २ र ३ दमेकमा किसानले आफैँले विरुवा लगाएर अलैँचीको उत्पादन गर्दै आएका छन्। थप दुई वडामा समेत खेती बिस्तार गरेर ‘ब्लक’ घोषणा गर्ने कार्यक्रम रहेको रानाले बताए। 

वडा नं ९ पैञ्युथन्थाप र वडा नं १० राङ्खानीमा पनि अलैची खेति बिस्तार गर्ने योजना रहेको छ। ‘घरायसी प्रयोजनका लागि मात्रै उत्पादन हुँदै आएको अलैँची बिस्तार गर्ने सोँच बनाएका हौं’ रानाले भने, ‘किसानलाई बिरुवा, तालिम र बजारीकरणमा सहयोग गरेर व्यवसायिक उत्पादनमा जोड दिने छौं।’ अलैँची ब्लक घोषणा गर्नका लागि नगरपालिकाले प्रदेश सरकारसँग समेत माग गरेको छ। 

नगरले छनोट गरेका चारवटै वडा अलैँचीको लागि सम्भावना भएका क्षेत्र हुन्। भौगोगिक बनावट, मााटोको प्रकृति र हावापानीका हिसावले दमेक, पैञ्युथन्थाप र राङ्खानीमा अलैँची उत्पादन राम्रो हुने जैमिनी नगरपालिकाका कृषि प्राबिधिक रविन्द्र शर्माले बताए।

‘अहिले पनि दमेकका केही अगुवा किसानले अलैची लगाएर राम्रो आम्दानी गर्दै आउनुभएको छ’ शर्माले भने, ‘चारवटै वडाको उपल्लो भू-भाग अलैँचीका लागि सम्भावना भएका क्षेत्र हुन्। अलैँची खेतीको ‘ब्लग’ को रुपमा घोषणा गर्न ५ सय हेक्टर जमिन आवश्यक पर्छ।  नेपाल सरकारले ‘ब्लक’ घोषणाका लागि बनाएको प्राव्धान अनुसार चारवडामा खेती गर्दा ५ सय हेक्टर जमिन नपुगेमा वडा नं ४ सर्कुवामा समेत नगरपालिकाले अलैँची खेती गर्ने गरी कार्ययोजना बनाएको छ।

अलैँची ‘ब्लक’ घोषणा गरेर व्यवसायिक उत्पादन थाल्ने घोषणा गरेको नगरपालिकाले पहिलो चरणमा वडा नं २ र ३ दमेकका किसानलाई अलैँचीसम्बन्धी तालिम दिइसकेको छ। सामाजिक विकास मन्त्राललय, गण्डकी प्रदेशले किसानलाई तालिमका लागि सहयोग गरेको हो। उनीहरूलाई तालिमसँगै प्रति किसान २ सयका दरले अलैँचीका बिरुवा वितरण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख अर्जुनप्रसाद श्रेष्ठले जानकारी दिए।

दमेकका ११० जना किसानले तालिमसँगै बिरुवा पाएका छन्। दमेकका अगुवा किसानले यो वर्ष २५ क्विन्टर अलैँची उत्पादन गरेका थिए। थप विरुवा र ‘ब्लक’ घोषणाको खवरले उत्हास थपेको किसान आनन्द अम्माईले बताए।

दमेकमा फलेको अलैँचीप्रति किलोग्राम ८ सय रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ। केही बर्ष अघिसम्म प्रति केजी २२ सय रुपैयाँमा बिक्री भएको अलैँची बिचौलीया काराण ८ सयमा झरेको भए पनि ब्लक घोषणाको कार्यक्रमले अलैँचीको मुल्य बढ्ने आशा पलाएको दमेकका किसान केशव सापकोटाले बताए।

नेपालमा फलेको प्रायः अलैँची भारतीय बजारमा बिक्री हुने गरेको तथ्यांक छ। अलैँचीको सुगन्धित बियाँबाट सुगन्धित औषधि र मसलाको गुणयुक्त तेलसमेत बन्ने गर्दछ। मिठाई, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन अलैँचीको तेल प्रयोग गरिने गरेको छ। 

आयुर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिने जानकारहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.