|
तस्विर : बाह्रखरी मिडियाद्वारा सौजन्य

काठमाडौं : विश्वमै पहिलोपटक ४ हजार २ सय मिटरमाथि गल्फ प्रतियोगिता आयोजना गरिएको छ। बाह्रखरी मिडियाको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ’ प्रतियोगिता सगरमाथा क्षेत्रको ४ हजार २५० मिटरमा खेलिएको हो।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सगरमाथा क्षेत्रको ४ हजार २४० मिटरको कोङ्दे रीमा छजना गल्फर र ३ हजार ८८० मा रहेको स्याङ्बोचेमा आठजना खेलाडीले एक होल खेलेका थिए।

खराब मौसमका कारण पहिलो दिन सबै खेलाडीले सहभागिता जनाउन पाएनन्। तर, लुक्लामा सहभागी खेलाडीले भने खेल्ने अवसर पाएका थिए। बाह्रखरी गल्फले विश्वमा पहिलोपटक अग्लो स्थानमा खेलाइएको गल्फको रेकर्ड राखेको बाह्रखरी मिडिया प्रालिका उप-महाप्रबन्धक सूर्य घिमिरेले बताए। 

दुई चरणमा खेलाइएको प्रतियोगिताका बाँकी १७ होल दोस्रो चरणमा अक्टोबर २६ मा काठमाडौंको गोकर्ण रिसोर्टमा खेलाइनेछ। प्रतियोगिताले नेपाली पर्यटन प्रवर्द्धनमा नयाँ आयाम ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगितामा सहभागी खेलाडीको धारणा छ।

‘अविष्मरणीय क्षण रह्यो मेरो लागि। मैले प्रतियोगिताको पहिलो टीअफ गर्ने मौका पाएँ' समिट एयरका सञ्चालक तथा गल्फर विकास राणाले भने 'कोङ्देमा यो प्रतियोगिता आयोजना गर्नु नै हामी खेलाडीको लागि ऐतिहासिक क्षण हो। यो नेपालका लागि मात्र होइन, विश्वकै इतिहासमा पहिलोपटक अग्लो स्थानमा खेलाइएको प्रतियोगिताको रूपमा हेरिएको छ।’

उनले देशको पर्यटकीय क्षेत्रमा भएको यो प्रतियोगिताले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने पनि बताए। अन्तर्राष्ट्रिय मिडियाले यसको कभरेज गरेकाले पनि विश्व जगतमा यो प्रतियोगिताले आफ्नो छुट्टै महत्व राख्ने उनको विश्वास छ।

त्यस्तै, प्रतियोगिताको पहिलो समूहमा खेलेकी रेखा घिमिरेले पनि बाह्रखरी गल्फले आफ्नो लागि जीवनभर भुल्न नसकिने अवसर प्रदान गरेको बताइन्। ‘यति अग्लो ठाउँमा गल्फ खेल्दा फरक अनुभूति हुने रहेछ। मैले आजको खेलबाट बेग्लै खालको अनुभूति पाएकी छु' घिमिरेले भनिन् 'यो प्रतियोगिताले देशको खेल क्षेत्रमा मात्र नभई पर्यटकीय क्षेत्रमा पनि धेरै राहत दिनेछ। हामी जस्तो गल्फमा फरक अनुभव लिन चाहनेहरूका लागि यो प्रतियोगिताले धेरै राहतको अनुभूति दिलाएको।’

दुई चरणमा गरी करिब एक सय गल्फरले प्रतिस्पर्धा गर्नेछन्। ३० वर्षदेखि गल्फ खेल्दै आइरहेका गल्फर राजेन्द्र श्रेष्ठले आफ्नै गल्फ खेलको करियरमा नयाँ इतिहास रचेको अनुभव गरेको छन। 'यस्तो खालको प्रतियोगिता मेरो लागि पहिलो पटक हो। यो प्रतियोगितालाई मैले प्रतिस्पर्धा भन्दा पनि नयाँ अनुभवको रुपमा लिएको छु' गल्फर राजेन्द्र क्षेष्ठले भने।

त्यस्तै प्रतियोगितामा सहभागी आरती रानाले कोङ्देमा गल्फ खेल्दा एउटा नयाँ खालको ऊर्जा आएको बताइन्। १० वर्षे गल्फ करियरमा पहिलो पटक यो खेलप्रति आनन्द आएको महसुस भएको उनको भनाइ छ।

गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार पूर्वी सिक्किमको कुपुप क्षेत्रमा रहेको याक गल्फ कोर्स विश्वको सबैभन्दा उच्च स्थानमा रहेको कोर्स हो। १० अक्टोबर २००६ मा गरिएको मापनअनुसार आर्मी बेस क्षेत्रको ३ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ। सो कोर्स ६ हजार २६ यार्ड लामो रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.