|

तनहुँ : वैदेशिक रोजगारीका सिलसिलामा युएईमा बस्दै आएका तनहुँका युवाद्वारा स्थापित ‘तनहुँ सेवा समाज युएई’ले पाँच विद्यालयमा अक्षयकोष स्थापना गरेको छ। जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित विपन्न वर्गका विद्यार्थी अध्ययनरत विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो।

समाजले ‘हाम्रो तनहुँ हाम्रो शान, सहकार्यता र सेवाको अभियान’ भन्ने नाराका साथ विपन्न तथा जेहेन्दार विद्यार्थी अध्ययनमा टेवा पुर्‍याउने उद्देश्यले अक्षयकोष हस्तान्तरण गरेको जनाएको छ।

समाजले एक कार्यक्रम गरी विद्यालयलाई अक्षयकोष हस्तान्तरण गरेको संयोजक सुदीप कार्कीले जानकारी दिए। उनका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ५ वटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। न्यून आए भएका विद्यार्थी अध्ययनरत प्रत्येक विद्यालयलाई ५०/५० हजार रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको वरिष्ठ उपाध्यक्ष प्रविन श्रेष्ठले बताए।

भानु नगरपालिका–१३ सम्जुरस्थित नेपाल इस्लामिक इन्फिया मदर्शा प्रावि र भानु-९ तेरतेरस्थित पूर्णिमा प्रावि, शुक्लागण्डकी नगरपालिका–१२ गुर्दुमस्थित शारदा प्रावि, म्याग्दे गाउँपालिका–५ थाङ्दी स्थित हिरामणि प्राथमिक विद्यालय र बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङस्थित भंगेरी प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। विद्यालयहरुमा अक्षयकोष स्थापनाका लागि सो रकम हस्तान्तरण गरिएको तनहुँ सेवा समाज युएईले जनाएको छ।

समाजले गत वैशाख २० गते युएईमा आयोजना गरेको साङ्गीतिक कार्यक्रमबाट बचत भएको रकमले जिल्लाका विद्यालयमा अक्षयकोष स्थापना गरिएको समाजका वरिष्ठ उपाध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए । समाजले स्थापना गरेको अक्षयकोषको ब्याजबाट वार्षिक रूपमा ती विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव कृष्ण सुनारले जानकारी दिए।

अक्षयकोष स्थापना गरिएका विद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनरत रहेको र अक्षयकोषले शिक्षाबाट वञ्चित हुने विपन्न वर्गका बालबालिकाहरुलाई टेवा पुर्‍याउने समाजका महासचिव कृष्ण सुनारले बताए। उनका अनुसार अक्षयकोषको स्थापनाले बालबालिकाहरुलाई शिक्षाबाट वञ्चित हुनबाट जोगाउनेछ।

त्यस्तै, करेण्ट लागेर घाइते भएका भीमादका शिव थापालाई एक लाख आठ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। एक वर्षअघि सडक दुर्घटनामा ज्यान गुमाएका बन्दीपुर–५ थुम्काका गणेश लामिछानेको परिवार १ लाख ५० हजार सहयोग गरिएको थियो भने पुनः ३० हजार रुपैयाँ थप सहयोग गरिएको सुनारले जानकारी दिए।

लामिछानेकी श्रीमती डम्बर कुमारी अधिकारीलाई सो रकम हस्तान्तरण गरिएको उनले बताए। जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुले नृत्य प्रस्तुत गरेका थिए भने गायिका कला लम्साल र गायक राजु ढकालले सांगीतिक प्रस्तुति राखेका थिए।

महासचिव सुनारका अनुसार वैदेशिक रोजगारीका क्रममा निधन भएका बन्दीपुरका गणेश लामिछानेलाई एक लाख ५० हजार, मोटरसाइकल दुर्घटनामा घाइते भएका भानु–१३ का धीरेन्द्र अधिकारीलाई एक लाख २० हजार र भरत थापालाई एक लाख यसअघि नै प्रदान गरिसकेको समाजले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.