महानगरबाट उठेको फोहोर अब सीधै सिसडोलमा

|

काठमाडौं : महानगरपालिकाले टेकुस्थित फोहोर ट्रान्स्फर स्टेशनलाई फोहोर शून्य बनाएको छ। आइतबार मध्यान्ह स्टेशनको फोहोर उठाएर स्टेशन सफा गरिएको काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्था विभागले जनाएको छ।

स्टेशनमा अबदेखि फोहर संकलन गरेर नराख्ने काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए। उनका अनुसार राजधानीका टोलटोलबाट दैनिक फोहोर उठाएर सीधै सिसडोल पठाइनेछ। स्टेशनमा फोहोर राख्दा वरिपरिको वातावरण दुर्गन्धित भएपछि यस्तो कदम चालिएको उनले प्रष्ट पारे।

अबदेखि फोहोर संकलन गरेको ठाउंँबाटै सिसडोलमा लगेर बिसर्जन गरिने उनले बताए। 'पहिले फोहोर संकलन गरेर स्टेशनमा ल्याएर राखिन्थ्यो,' उनले भने। धेरै फोहोर थुप्रिएर स्टेशनमा स्थान अभाव भएपछि यस्तो कमद चालिएको उनले बताए।

बढीमा एक दिन स्टेशनमा फोहोर राखिने उनले जानकारी दिए। 'एक महिना सम्म पनि यहाँबाट फोहोर नलगिएको उदाहरण छ,' उनले भने,'वर्षाको समयमा मात्र यहाँ समस्या हुन्छ। अहिले फोहोर संकलन गरेको ठाउँबाट तत्काल सिसडोल पठाइन्छ।' 

फोहोर उठाइसकेपछि स्टेशनको पुरै सफाइ गरिएको थियो। दुर्गन्ध नफैलियोस् भनेर पखालिसकेपछि फिनेल र चुना छर्किएर सफाइ गरिएको श्रेष्ठले बताए। 

आजैदेखि ट्रान्सफर स्टेशनमा फोहोर जम्मा गरेर नराखिने काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदार न्यौपानेले बताए। उनले भने, 'ट्रान्सफर स्टेशन एकछिन बिसाएर, नमिलेको फोहोर मिलाउने ठाउँ मात्रै हो।' अब यसको प्रयोग त्यहीअनुरुप हुने उनको दाबी थियो ।  प्राविधिक समस्या मिलाउँदा ढिला भए एकदिनसम्म फोहोर ट्रान्स्फर स्टेशनमा रहने उनले बताए।

फोहोर व्यवस्थापनमा प्रविधियुक्त विधि स्थापित भइसकेको उनले जानकारी दिए। प्रविधिभन्दा पनि श्रोतमा फोहोर घटाउनु फोहोर व्यवस्थापनको सबैभन्दा उत्तम विधि रहेको उनले सुझाव दिए। पुन:प्रयोग र पुन:चक्रीय प्रयोगबाट फोहोरलाई व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो। 

यसअघि २०७२ भदौ २२ गते मंगलबार पनि ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाइएको थियो। टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ। त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने र फोहोर ट्रान्सफर गर्ने गरिएको छ। बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरले योजना बनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.