|

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको शीरमा अवस्थित पर्यटकीयस्थल चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ। समथर भूभाग, बाहैमासा चिसो हावा चल्ने, प्राकृतिक सौन्दर्य र जैविक विविधतायुक्त चाङ्गा प्रचुर सम्भावना भए पनि ओझेलमा परेको हो।

समन्द्री सतहदेखि दुई हजार २ सय १० मिटरको उचाईमा समथर भूभागमा अवस्थित आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यताले सजिएको चाङ्गाको सुन्दरतामा सरोकारावाला निकायको नजरमा पर्न नसक्दा बषौंदेखि पूर्वाधार र प्रचारप्रसारको पखाईमा रहेको छ।

धौलागिरी, निलगिरी अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, चुरेन, लगायतका आधादर्जन हिमाल, जंगलभित्र रहेका पशुचौपायाका गोठ,चराचुरुङी र बन्यजन्तुको आवाज, बहुमल्य जडिबुटीको बास्ना लिँदै पछिल्लो समय चाङ्गासम्म पुग्ने आन्तरिक पर्यटकले पूर्वाधारको अभावका कारण दृष्य अवलोकन गरेर मात्रै फर्किने गरेका छन्।

छिमेकी ताराखोला गाउँपालिका–४ नागबेली खोला जाने मार्गसमेत रहेको चाङ्गालाई नमुना गाउँ समेत भन्ने गरिन्छ। मंगला गाउँपालिकाको केन्द्र बावियाचौर हुदै अर्मनको सिरकुमसम्म सवारीसाधन र त्यसपछि  ४५ मिनेट पैदल यात्रामार्फत पुगिने उक्त स्थानमा पुगेपछि थकितको महसुस नहुने पहिलो पटक चाङ्गा घुम्न आएका बागलुङका सौरभ रिजालले  वताए।

यस क्षेत्रमा चिराइतो, सतुवा, जटामसी, अम्रिसो, पखनबेद लगायतका जुडीबुटीको विशेष खेती नै हुने वडा सदस्य हर्कबहादुर बुढाले बताए। ‘गाउँपालिकाभित्रकै सुन्दर गन्तव्‍य बनाउन सकिन्छ,‘हामीले प्रयास गरेका छौ, यसलाई सबैले साथ दिए पुग्छ’ उनले भने। उनका अनुसार गाउँबाट पुग्ने ब्यवस्थित पदमार्ग, आरामदायी बसाई तथा न्यूनतम पूर्वाधारको आवश्यकता रहेको छ।

चाङ्गाबाट पश्चिम म्याग्दीको अधिकांस भूभाग देखिन्छ। विभिन्न प्रजातीका गुराँस समेत फुल्ने भएकाले मंगला गाउँपालिका भित्रका विद्यालयका विद्यार्थी तथा समुह बनाएर बनभोजमा समेत जाने गरेका छन्।

 यसैबीच मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले सम्भावनायुक्त पर्यटकीय गन्तब्य भएकाले यसलाई प्राथमिकतामा राखेको बताए। ‘मैले हाम्रो गाउँपालिकाभित्रका पर्यटकीय गन्तब्यमा चाङ्गालाई समेत जोड्ने गरेको छु, एकपटक त्यहाँ पुगेकाले राम्रो प्रतिक्रिया दिनुभएको छ’ रोकाले भने।

उनले चाङ्गामा होमस्टे सहित पूर्वाधार विस्तारको आवश्यकता रहेको बताए। एक वडा एक सम्भावनालाई हेर्दा अर्मन कृषि र पर्यटनको क्षेत्रमा समेत सम्भावना भएको उनले बताए।

मंगलाको टोड्के, झाँक्रीपानीसँगै चाङ्गालाई समेत प्रचारप्रसारको आवश्यकता रहेको रोकाको भनाई छ। भित्रको सबै पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने गाउँपालिले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.