|
प्रतीकात्मक फोटो

बागलुङ : देशमा बढेको भ्रष्टाचारविरुद्ध वैकल्पिक शक्तिको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापित हुने नेताहरूले बताएका छन्।

अब सत्ता र प्रमुख प्रतिपक्षले गरेका कमजोरीबाट राष्ट्रवादी शक्तिको रूपमा उदाउने अवसर आएको समेत उनीहरूले बताए। राप्रपा बागलुङदले गरेको एकदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनको अवसरमा बोल्दै राप्रपाका केन्द्रीय उपाध्यक्ष भीमप्रसाद गौचनले विदेशीको ईशारा र निर्देशनमा आएका एजेण्डाहरू खारेजीको अभियानमा हिड्नुपर्ने बताए।

‘डलरमा साटिएका एजेण्डा खारेज गरेर भ्रष्ट्र नेताहरूलाई नाङगेझार पार्नुपर्छ’ गौचनले भने, ‘अब कसैको बाबुको ताकतले अब रोक्न सक्दैन।’ आफ्नो कमीकमजोरीको मूल्यांकन गरेर सुधार गर्दै राजनीतिमा युवालाई आर्कषण गर्ने तयारीसमेत थालिएको उनले बताए।

संघीयताको जरैदेखि फाल्ने, धर्म निरपेक्षता खारेज गरेर सनातन हिन्दु धर्मको स्थापना गर्ने अभियान थालिएको पनि बताए। ‘कम्प्युनिष्ट र कांग्रेसले गरेका कुकृत्यबाट जनतालाई बचाउन पनि हामी सक्रिय हुनैपर्छ’ उनले भने, ‘जनताबाट अनुमोदन भएर जनतालाई कर आतंकबाट बचाउनुपर्नेछ।’

स्थानीय तह गठनपछि कर आतंक बढाएर जनप्रतिनिधिको रूपमा करोडौं भ्रष्ट्राचार गरिएको उनको टिप्पणी थियो। एनसेल कर प्रकरणमा ठूला भनिएका दलहरूले १०/१० अर्ब रकम कुम्ल्याएपछि कर तिर्न अटेर भएको दावी गरे। तत्कालीन एमाले, माओवादी र कांग्रेसले १० अर्बको दरले ३० अर्ब रकम फिर्ता गरेमा एनसेलले कर तिर्ने धम्की दिएको भन्दै उनले त्यस्ता विषय सार्वजनिक गर्न लाग्ने पनि बताए।

कार्यक्रममा पूर्वउपाध्यक्ष दिल विकास राजभण्डारी, गण्डकी प्रदेश उपाध्यक्ष देवीप्रसाद कंडेल र महासचिव वरुणशमसेर राणाले प्रशिक्षण मार्फत राप्रपाको एजेण्डालाई जनताको माझमा लैजान सुझाएका थिए। उनीहरूले प्रतिपक्षको निरिहता र सत्ताको वितृष्णलाई बुझेर काम गर्न सकेमा विकल्पिक शक्ति बन्न सकिनेसमेत बताएका थिए।

आगामी मंसिर १४ गते हुने बागलुङ क्षेत्र नं. २ को 'ख' निर्वाचनमा राप्रपाले राजकुतका गणेशबहादुर कुँवरलाई उमेदवार बनाउनेसमेत बताइएको छ। कार्यक्रममा गौचनले उनको उमेदवारीको घोषणासमेत गरेका थिए। राप्रपाले यो निर्वाचनमा मत बढाएर धर्म निरपेक्षता विरुद्धको जनताको आवाज प्रष्ट्याउने लक्ष राखेको समेत नेताहरूको भनाई थियो।

जिल्ला अध्यक्ष सुरेन्द्र खड्काले स्थानीय तहमा तलब भत्ताको नाउँमा जनप्रतिनिधिले लुटतन्त्र मच्चाएको बताए। लुटतन्त्रको अन्त्यका लागि आँफूले प्रयास गरेपनि सफल नभएको भन्दै युवालाई यो लुटतन्त्रबारे बताउन सकियो भने आगामी निर्वाचन मार्फत जनता सडकमा उत्रने समेत बताए।

सुरेन्द्र खड्काको अध्यक्षता, सचिव विष्णुप्रसाद सापकोटाको संचालन र पूर्वअध्यक्ष नवीनचन्द्र सर्बुजाको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्लाभरबाट आएका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो। यसअघि राप्रपाले देशव्यापी जागरण अभियान र रथयात्रासमेत गरेको थियो। कार्यक्रममा नेताहरूले जनतामा बुझाउन नसकेको, संगठन कमजोर भएको र वास्तविक एजेण्डा जनतामाझ पुर्‍याउन नसकेको कमजोरीले गत निर्वाचनमा पराजय भोग्नु परेको समेत बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.