|

डडेल्धुरा : चीनको उहान शहरमा शुक्रबारबाट सुरु भएको सातौँ विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाका बक्सिङ खेलाडी तेजबहादुर देउवाले राम्रो सुरुवात गरेका छन्।

तेजले उक्त विश्व मिलिटरी खेलकुद प्रतियोगिता (सिआइएसएम) मा शनिबार भएको खेलमा ४९ केजी समूहमा म्यानमारका प्रतिस्पर्धीलाई ४–१ ले पराजित गर्दै पहिलो सहज जित निकालेका हुन्।

नेपाली सेनाले पहिलोपटक सहभागिता जनाएको यो प्रतियोगितामा उनले सोमबार वाइ पाएर आएका गुयानाका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्। उनीसहित सो प्रतियोगितामा नेपालबाट विभिन्न विधाका ४० जना खेलाडी सहभागि छन्।

दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको उक्त प्रतियोगितामा नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच बलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ गरि १३ वटा खेलमा मात्र सहभागीता जनाएको छ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यो प्रतियोगिताका लागि सेनाले छनोट गरेको छ। प्रतियोगितामा पहिलो पटक भाग लिए पनि अनुभवी खेलाडी भएका कारण निकै राम्रो नतिजाको अपेक्षा गरिएको छ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको ओलम्पिकपछिको दोस्रो ठूलो खेलकुद महोत्सवका रुपमा रहेको यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता छ। नेपाली सेनामा ‘जमदार’ रहेका तेज डडेल्धुराबासी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.