|

बाँके : नेपालगन्ज नाका ७२ घण्टाका लागि बन्द गरिएपछि तिहार मनाउन भारतबाट आउने नेपाली समस्यामा परेका छन्। भारतको उत्तर प्रदेश अन्तरगत बहराइच जिल्लामा ४ कात्तिकमा हुन लागेको विधान सभा उप–निर्वाचनका लागि सीमा नाका बन्द गरिएपछि तिहार मनाउन भारतबाट फर्किदै गरेका नेपाली भारतीय सीमा बजार रुपइडिहामा अलपत्र पर्ने गरेका छन्।

भारतीय प्रहरीको सहयोगमा रुपइडिहामा आएर अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने गरिएको इलाका प्रहरी कार्यालय, जमुनहाका इन्चार्ज प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए। उनले तीन–चार घण्टा विराएर नेपालीलाई नेपालगन्ज प्रवेश गराउने ब्यवस्था मिलाइएको बताए।

अति आवश्यक कामका लागि भारत जाने र विरामी बोकेका एम्वुलेन्सलाई निर्वाध रुपमा जान दिएको उनले बताए । 'भारतीय प्रहरीसँग समन्वय गरेर विरामीलाई जाने बातावरण मिलाइएको छ,’ उनले भने।

उत्तर प्रदेशको बहराइच जिल्लामा ४ कात्तिकमा उप–निर्वाचन हुँदै छ। निर्वाचनको मतदान सकिएपछि सोमबार बेलुकी ६ बजेदेखि नाका खुल्ला हुने भएको छ। उप–निर्वाचनका बेला अपराधिक समूहको घुसपैठ हुन सक्ने भन्दै नाका बन्द गर्न भारतले गरेको आग्रहलाई मध्यनजर गरि नेपाल–भारत सीमा नाका अन्तरगत नेपालगन्ज नाका ७२ घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नेपालगन्ज नाकाबाट आइतवार १५ हजार सर्वसाधारण नेपालगन्ज प्रवेश गरेको जमुनहा प्रहरी इन्चार्ज रिजालले बताए। उनले नेपाल आउनेमा सबैभन्दा धेरै तिहार मनाउन आउने नेपाली रहेको बताए। 'आधाभन्दा धेरै काम गरेर तिहार मनाउन आउने नेपाली छन्,’ उनले भने।

उनका अनुसार, उपचार गराउन गएका नेपाली पनि सीमा बन्दको मारमा परेका छन्। त्यसैगरि, तीर्थयात्रा र विभिन्न पर्यटकीय स्थलमा गएर फर्किने नेपाली पनि बन्दको मारमा परेको बताए। 'नाका बन्द भएको जानकारी नपाएका कारण धेरै सर्वसाधारण नाकामा अलपत्र परेका छन्,’ उनले भने।

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.