|

विराटनगर : मोरङ प्रहरीले आइतबार बिहान सुनवर्षी नगरपालिका-८ विश्वकर्मा टोलमा नवि हुसेनले सञ्चालन गरेको कुखुरा फारमबाट तस्करीको कुखुरा ठूलो परिमाणमा बरामद गरेको छ।

हुसेनले सञ्चालन गरेको फारमबाट प्रहरीले ठूलो साइजको कुखुरा १ सय १० वटा, १ हजार ५० वटा चल्ला र केही दिन हुर्केको चल्ला १ हजार १ सय वटा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ। बरामद चल्लालाई नष्ट गरिएको प्रहरीले जनाएको छ।

बर्डफ्लुको महामारी भित्रिन सक्ने भन्दै सरकारले भारतबाट पक्षी तथा पक्षीजन्य वस्तु भित्र्याउन प्रतिबन्ध लगाएको छ। प्रहरीले कडाइ गरे पनि कुखुरा तस्करी रोकिएको छैन। तस्करीले निरन्तरता पाउँदा जुनसुकै बेला बर्डफ्लुको महामारी फैलिनसक्ने खतरा रहेको सीमास्थित पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ।

प्रहरीले हुसेनको फारमबाट बरामद गरेको अवैध कुखुराको मूल्य अन्दाजी २ लाख ९३ हजार रुपैयाँ रहेको बताइएको छ। भारतबाट आयत गरिएको कुखुरा हुसेनले सुनवर्षी नगरपालिकामा फारम बनाएर हुर्काउने गरेको पाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार बिहान उज्यालो नहुँदै कुखुरा भारतबाट ल्याएर उनले आसपासको बजारमा लैजाने गरेका थिए।

हुसेनले भारतबाट तस्करी गरि ल्याएको कुखुरा नेपालको विभिन्न स्थानमा रहेको फारमलाई दिने गरेको र ठूलो साइजको बोइलर कुखुरा प्रेस हाउस र होटलहरूमा दिने गरेको प्रहरीले जनाएको छ। तस्करीमा  लागेका हुसेन ३० वर्षदेखि सीमावर्ती क्षेत्रमा कुखुरा फारम खोली सञ्चालन गर्दै आएका थिए। उनले लामो समयदेखि भारतबाट अवैध रुपमा कुखुरा आयत गरि नेपालको विभिन्न स्थानमा विक्री गर्दै आएको स्थानीयले बताएका छन्।

नेपालमा भन्दा भारतमा कुखुलाको प्रतिकिलो १ सय रुपैयाँ सस्तो पर्ने भएकोले तस्करहरू भारतबाट अवैधरूपमा आयत गर्ने गर्दछन्। दैनिक मोटरसाइकलमा ग्रामीण क्षेत्रबाट कुखुरा तस्करी हुने गरेको छ। भारतबाट कुखुराको चल्ला प्रतिगोटा ३० रुपैयाँमा पाइन्छ भने नेपालमा सय रुपैयाँमा बिक्री वितरण हुने गरेको छ।

पशु क्वारेन्टाइन कार्यालय विराटनगरका प्रमुख चिकित्सक केशव कुमार सिंहले खुला सीमाका कारण कुखुरा तस्करी नरोकिँदा बर्डफ्लुको जोखिम रहेको बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.