|
फाइल तस्विर

पर्सा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीति ‘पेशा' नभएको बताएका छन्। नेकपाको वीरगन्ज महानगर कमिटीले आइतबार वीरगन्जमा गरेको दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन्।

राजनीतिलाई पेशाका रुपमा नलिई जनताको सेवकका रुपमा लिनु पर्ने उनले बताए। ‘राजनीति जनतालाई बाबु साहेब बनेर शान देखाउने ठाउँ बनाउने होइन' उनले भने 'सातदशक लामो संघर्ष पछि नेकपाको बहुमतको सरकार बनिसकेको समयमा अब मुलुकको समृद्धिको लागि कुनै बहानाबाजी गरेर विलम्ब गर्ने अनुमति छैन। जनतालाई चुस्ने पनि होइन। राजनीतिकर्मी असहाय जनताको सेवक हुने हो।'

विकास निर्माणमा ठेक्कापट्का काम गर्ने जिम्मा लिएका व्यक्तिहरूले पनि चाडो काम गर्नुपर्ने बताए। केही रकम लिने र काम नगरी ठगी गर्ने ठेकदार रहेछन् भने उनीहरूलाई सरकारले कार्वाही पनि गर्नु पर्ने उनको भनाइ छ।

'विश्वका शक्तिशाली व्यक्ति छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनफिङ २३ वर्षपछि नेपाल आएर नेपाललाई महत्व दिएका छन्' उनले भने 'भारतले उति नै नेपाललाई महत्व दिएको छ। वर्तमान परिस्थितिमा विदेशी मुलुकको समेत साथ लिएर मुलुकको समृद्धि गर्नु पर्छ।'

युवाले पनि आफ्नो मुलुकका काम गर्न लाज मानी विदेश पलायन हुने र त्यहाँ खुन पसिना बगाउने भन्दा पनि आफ्नै मुलुकभित्र श्रम फलाउनु पर्ने उनको तर्क छ। यो सब गर्नका लागि उद्योग, व्यवसायका अतिरिक्त पर्यटन र विद्युतको विकास विदेशी डलरको आम्दानी गर्न सकिने उनले बताए। कृषि तर्फ पनि आधुनिक प्रविधि भित्र्याएर विदेशी मुलुकको दाँजोमा उन्नत फसल उत्पादन गर्न सक्नु पर्ने वरिष्ठ नेता नेपालको भनाइ छ।

'गएका निर्वाचनपश्चात नेकपाले कुनै गतिविधि नगरेको पर्सामा वीरगन्ज महानगर कमिटीको आयोजनामा भएको कार्यक्रमले पर्सामा पनि कम्युनिष्टको राजनीतिक तरङ्ग ल्याएको छ', उनले भने 'राजनीतिमा अगाडी बढ्ने पार्टी र नेताले हरेक समयमा तरङ्ग ल्याउनु पर्छ। जोअगाडि बढ्न चाहँदैन उसले ठाउँमात्र ओगटेर राख्छ।' ठाउँ ओगटेर राख्नुको साटो राजनीतिक गर्नेले सधैँ चलायमान हुनु पर्ने उनको तर्क छ।

काठमाडौं र तराई जोड्ने निजगढ-काठमाडौं द्रुतमार्ग निर्माण गर्ने कुराको पहिलो निर्णय आफू प्रधानमन्त्री भएको समयमा गरेको उदाहरण दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले चीनबाट केरुङ काठमाडौं हुँदै लुम्बिनी र त्यहाँबाट पनि निजगढ, काठमाडौंतर्फ पनि रेल मार्ग निर्माण हुन नसक्ने बताए। सडक सञ्जालले पूर्वसम्म विस्तार गरी नेपाललाई समृद्ध बनाउन चाहे नसकिने कुरा नभएको उनको भनाइ छ। निजगढ अन्तराष्ट्रिय विमानस्थलको सन्दर्भमा नेता नेपालले विश्वमा एक वर्षमा पनि एयरपोर्ट निर्माण सम्पन्न भएको उदाहरण रहेको अवस्थामा नेपालमा चारवर्ष भित्र चाही निर्माण सम्पन्न गर्ने गरी काम गर्नुपर्ने उनको राय छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.