|

काठमाडौं : जनगायक जीवन शर्माका छोरा अमृतको स्वास्थ्यबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन्। प्रधानमन्त्री ओलीले शनिबार गायक शर्मालाई प्रधानमन्त्री निवासमा भेटेर उनका छोराको स्वास्थ्यस्थिति र व्यक्तिगत कुराकानी गरेका हुन्। 

प्रधानमन्त्रीको सद्भावप्रति आफूले धन्यवाद दिएको गायक शर्माले बताए। उनले यस्तै समस्यामा पर्ने जो कोही नागरिकले रकम अभावमा उपचार नपाउने स्थिति सिर्जना हुन नदिन नीतिगत व्यवस्थासहित कोष खडा गर्न सुझाएको शर्माले बताए। 

‘सिमली छाँयामा बसी...’ लगायत धेरै जनप्रिय गीतका स्रष्टा शर्मा छोराको उपचारका चरणबारे अलग्गै साहित्य सिर्जना हुने भन्दै छोराको अवस्थाबारे उही कुरा धेरैलाई सुनाउँदा थकित देखिएका छन्। 

तर उनको एउटै सन्देश छ, 'मेरो छोरा बाँचेकामा म खुशी छु र यो जस्तै समस्याले उपचार नपाएर कोही पनि मानिसले जीवन खेर फाल्नु नपरोस्।'

अड्किएको मासुको हड्डी निकाल्ने क्रममा अन्ननली काम नलाग्ने भएपछि त्यसलाई काटेर फाल्नु परेकाले जीवनका छोरा अमृत शर्माको आहारा मुखबाट जाँदैन, सीधै पेटबाट हुन्छ । 

यो कठिन नियति देख्दा र सुन्दा सबैलाई दुःख लाग्छ सक्छ तर बिरामीको परिवार तुलनात्मकरुपमा खुशी छ किनकी अमृत शर्मा आचार्यको ज्यान कम्तीमा जोगिएको छ।

योभन्दा ठूलो शल्यक्रिया गरेर आमासयको थैली काटेर त्यसलाई सानो बनाएर अप्राकृतिक अन्ननली राख्न सकिने आधार चिकित्सकले दिएका छन् ।

बाग्लुङ निवासी अमृत लोकप्रिय जनगायक जीवन शर्माका माइला छोरा भएर मात्र होइन समस्याको जटिलताका कारण पनि चिकित्सक र सर्वसाधारणका माझ चिनिएका छन्।

श्रीमती र दुई महिनाका छोराका साथ हाल नेपालटार बस्ने अमृतको अन्ननलीमा बडादशैँको नवमीका दिन मासुको हड्डी छिरेको थियो । खाँदाखाँदै अमृतले पेटमा बेस्सरी दुखेको जनाएपछि परिवारका सदस्यले सामान्य समस्या ठानेका थिए ।

'घाँटीमा अड्किएको भए तत्काल समस्या पहिचान भई उपचार गराउन सक्ने सम्भावना थियो तर पेटमा अड्किएकाले हामीले शुरुमा उसलाई ग्यास्ट्रिक भनेर एक दुई दिन घरमै परामर्श र उपचार गरायौँ', जीवनले भने, 'उसको मामा नै चिकित्सक छन्। उनले पनि ग्यास्टिकको आशङ्का गरेकाले गम्भीर भएनौँ तर यति गम्भीर समस्या केही दिनपछि मात्रै थाहा पायौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.