|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरूलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रूपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गरेका छन्।

भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्ट्रिय सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा आमन्त्रण गरी बधाई–सुभकामना दिँदै प्रधानमन्त्रीले देशमा यसअघि कहिल्यैको भन्दा बढी भ्रष्टाचारका विरुद्धमा कारबाही चलिरहेको बताए। सुशासनका दिशामा उल्लेखनीय काम भइरहको बताउँदै उनले भने, ‘दुई वर्षपछि अर्को अधिवेशनका समयमा तपाईंहरूले देशको मुहार निकै फेरिएको पाउनुहुनेछ।’

गैरआवासीय नेपालीहरूले नेपालमा सामाजिक जागरण फैलाउन र समाजलाई नै उधमशीलतार्फ द्रूत गतिका साथ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने विश्वास आफूलाई भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘अहिले तपाईंहरू गर्व गर्न सक्नुहुन्छ, अन्तर्राष्ट्रिय रूपमै नेपालको छवि माथि उठेको छ।‘

प्रधानमन्त्रीले थपे, ‘गैरआवासीय नेपालीले परिचय पत्र पाउने छन्, जसमा राजनीतिक अधिकार बाहेक सबै अधिकारहरू त हुने नै छन्, हामी अझ बढी केही सुविधा वा लगानी गर्न सहज हुने अधिकारहरू पनि समावेश गर्न चाहिरहेका छौँ।’

‘अरु देशमा काम गरिरहेको नेपालीहरूका लागि बसेको देशमा बढीभन्दा बढी अधिकार सुरक्षित होस, श्रमको रोजगारीमा जानेले कसरी अधिकार सुरक्षित र सुविधा कसरी हुन सक्छ भन्ने विषयमा ध्यान पुर्‍याएर काम गरी रहेका छौँ। त्यसैका लागि हामी विभिन्न देशहरूसँग श्रम सम्झौता गरिरहेका छौँ।‘

प्रधानमन्त्रीले भने, ‘हामी आग्रह गर्दछौँ, नेपाली बाहिर जानेभन्दा देशभित्रै बसेर देश बनाऔँ। हामी त्यसरी फर्किएर आउनेहरूका लागि आवश्यक सुविधा प्रदान गर्न चाहन्छौँ। तर बाहिर जाने नै हो भने पनि दक्ष भएर जानुपर्छ भन्ने कुरामा हामी जोड दिन चाहन्छौँ, आवश्यक तालिम दिएर विदेश जान सुझाव दिन्छौँ। बाहिर गएकाहरूबाट देशभित्र प्रविधि हस्तान्तरण हुन सकोस्, यहाँका नेपालीहरूलाई तालिम दिन सरकार गैरआवासीय नेपालीहरूको संघसँग सहकार्य गर्न तत्पर छ। तालिम दिने संस्था सहकार्यमा खोल्न पनि सकिन्छ।‘

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारी र सयौँ गैर आवासीय नेपाली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.