पदावधि सकिन दुई वर्ष बाँकी

|

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले पद बाट राजिनामा बुझाएकी छन्।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को भारतस्थित कन्ट्री अफिसमा जान राजीनामा दिएका हुन्। पी फाइभ तहको पोष्टमा छनोट भएर डब्लुएचओ जानका लागि सचिव चौधरीले राजीनामा दिएको बुझिएको छ।

उनले सोमबार उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई मन्त्रालयमा राजीनामा पत्र बुझाएकी छन्। उनले दिएको राजीनामा अब वस्ने मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने छ।

सचिव पदमा करीब दुई वर्ष पदावधि हुँदै उनले राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। धेरैले डव्लुएचओको ‘कन्ट्री अफिस’ मा काम गर्न उनले राजीनामा दिएको अनुमान गरेका छन्। डा. चौधरी गत असारमै डव्लुएचओको भारतस्थित ‘कन्ट्री अफिस’को लागि पी फाइभ (सहसचिव तह) तहको पोष्टमा छनोट भइसकेकी छन्।

डब्लुएचओमा प्रतिष्ठित र आकर्षक अवसर जुरेपछि सरकारी जागिर छाड्ने तयारी थालेकी थिइन् । त्यसबेला समाचार प्रकाशित भएपछि उनले आफू छनोट भएको कुरा स्वीकार गरेकी थिइन्। यद्यपि त्यहाँ काम गर्न जाने वा नजाने भन्‍ने विषय नितान्त व्यक्तिगत रहेको उनले बताउँदै आएकी थिइन्।

सचिव चौधरीले यसअघि शुक्रबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको आफ्नो रिट फिर्ता लिएकी थिइन्।

सरकारविरुद्धको मुद्दा फिर्ता लिएसँगै राजीनामा स्वीकृत हुने वातावरण बन्‍ने बताएपछि चौधरीले आइतबार राजीनामा दिएकी हुन्। चौधरीले राजीनामाबारे पटकपटक मुख्य सचिवसँग परामर्श गरेपनि विशिष्ठ श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलोपटक मुद्दा हालेको भन्दै उनको राजीनामा स्वीकृतिमा समेत अवरोध भइरहेको थियो ।

पछिल्लोपटक चौधरीले राजीनामा फिर्ता लिएर सरकारविरुद्ध मुद्दा फिर्ता गर्न लगाएरमात्रै राजीनामा स्वीकृत हुने वातावरण बनेको हो। चौधरी गत वर्ष कात्तिकमा सरकारले गरेको सरुवाविरुद्ध अदालतमा गएकी थिइन्। अदालतले उनकै पक्षमा आदेश दिएसँगै उनको सरुवा रोकिएको थियो।

चौधरीलाई सरुवा गर्न नसकेपछि सरकारले स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फको सचिवको दरबन्दी सृजना गरेर दुई सचिवको व्यवस्था गरेको छ।

दुई सचिवको व्यवस्थापछि चौधरीको अधिकारीलाई खुम्च्याइएको र त्यहीबीचमा सम्मानजनक विकल्पको खोजीमा लागेकी थिइन्। त्यही क्रममा उनले डब्लुएचओमा आकर्षक अवसर जुरेपछि सरकारी जागिर छाड्ने तयारी थालेकी थिइन् । २०७४ पुस १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.