|

म्याग्दी : म्यादीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीको स्वर्गाश्रमबाट म्याग्दी र मुस्ताङका सातओटा तीर्थस्थलहरुको दर्शन गर्न सकिने नयाँ तथ्य फेला परेको छ।

प्राचीन कालदेखि नै ऋषि महर्षि र विद्धान विदुषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलहरुको दर्शन गर्न सकिने तथ्य भने  हालै मात्र पत्ता लागेको हो।

बेनी नगरपालिका वडा नं ३ का वडाअध्यक्ष पदम पुन र स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्न जिसीको पहलमा गरिएको खोज र अनुसन्धानबाट स्वर्गाश्रमबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथधाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको  दर्शन गर्न सकिने कुरा पत्ता लागेको हो।

प्राकृतिक रुपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न पाउनु अद्धितीय विशेषता पनि रहेको स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न  जिसीले बताए।

यहाँ तपस्वीनि ईश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धिप्राप्त गरेपछि देवघाटमा गएकी थिइन्। हाल यस क्षेत्रको प्रचारप्रसारका लागि समितिले तपस्वीनि ईश्वरानन्द सरस्वतिलाई पनि यही बोलाएको छ। अहिले तपस्वीनि सरस्वती घना जंगलको विचमा रहेको स्वर्गाश्रममा एक्ले तप र ध्यान गरेर बसिरहनुभएको बेनपा ३ का वडाअध्यक्ष पदम पुनले जानकारी दिए।

वडाअध्यक्ष पुनका अनुसार सातवटा तीर्थस्थलको एकै ठाउबाट दर्शन गर्न सकिने सम्भवतः नेपालकै पहिलो ठाउँ स्वर्गाश्रम हो। स्वर्गाश्रमको आँगनबाट पवित्र कालीगण्डकी, महारानी थान, जगन्नाथ धान, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको यहाँबाट दर्शन गर्न सकिन्छ।

तपस्वीनि सरस्वतीका अनुसार पनि  एकै ठाउँबाट सातओटा तीर्थस्थल दर्शन गर्न सकिने नेपालको एकमात्र ठाउँ स्वर्गाश्रम नै हो। स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनीबजारसँगै कालीगण्डकी,महारानी थान,उत्तरतर्फ गलेश्वरधाम, जगन्नाथधाम, मुक्ति क्षेत्र लगायतका तीर्थस्थलहरुको अवलोकन गर्न सकिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.