|

बैतडी : बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लामा आउँदो मंसिरमा उप–निर्वाचन हुने भएको छ।  सुदूरपश्चिमका बैतडी, डोटी, अछाम , बाजुरा र कञ्चनपुर जिल्लाका सात वडामा उप–निर्वाचन हुने भएको हो।

वडा अध्यक्षविहीन रहेको बैतडीको पुर्चौडी नगरपालिका वडा नं ४,  सुर्नया गाउँपालिका १, दोगडाकेदार गाउँपालिका ४, डोटीको आदर्श गाउँपालिका २, अछामको मेल्लेख गाउँपालिका ५,  बाजुराको त्रिवेणी नगरपालिका १ र कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा उप–निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। 

बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पद रिक्त रहेको छ।

यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदम सिह बोहोरा,अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष राम बहादुर बोहोरा, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईंको  पनि मृत्यु भईसकेकाले उपनिर्वाचन हुनेछ।

यसका साथै कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा निर्वा्चित भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख भएकाले उप–निर्वाचन हुने जनाएको छ। उपनिर्वाचनका यहाँका विभिन्न पार्टीले आन्तरिक तयारी थालिसकेका छन्। 

बैतडीका ४ हजार मतदाता सहभागी हुने

अगामी मंसिरमा हुने उपनिर्वाचनमा बैतडीमा ४ हजार बढी मतदाता सहभागी हुने भएका छन्। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कुल ४ हजार ३३६ मतदाता सहभागी हुने भएका छन्।

जसमा दोगडाकेदार गाउँपालिका वडा नं ४ मा १ हजार ८०८ सुर्नया गाउँपालिका वडा नं १ मा ६१९ र पुर्चौडी नगरपालिका वडा नं ४ मा १९०९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए।

 निर्वाचन हुने ३ वडामा ५ वटा मतदान केन्द्र तोकिएका छन्। दोगडाकेदार ४ मा केदारनाथ मावि पिपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका  १ मा गाविस भवन गुर्केली र पुर्चौडी नगरपालिका ४ मा महादेव मावि सिवावो, पहरोल मावि बांगा मतदानकेन्द्र तोकिएका छन्। 

पिपलकोट माविमा १ हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा १०४४ मतदाताले मतदान गर्न पाउने भएका छन्। यसै बर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन्।

वडा अध्यक्ष रित्त रहेका बैतडीका ३ वडामा अगामी मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो। 

यसैबिच प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी देशभरी ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।

पालिका प्रतिनिधिको उम्मेद्वारी मनोनयन कात्तिक २७ गतेका लागि तोकिएको छ। कात्तिक २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता , २९ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।

यस्तै कात्तिक ३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते बिहान उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने  कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.