|

जनकपुरधाम : हरेक वर्ष धुमधामका साथ मनाइने साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु भएको छ। यसवर्ष भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट जन्तीसमेत आउनेछन्। हरेक ५ वर्षमा अयोध्याबाट जनकपुर जन्ती आउने गर्छन्।

अयोध्याबाट जन्ती आउने खबर पाएपछि जनकपुरस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रोषण दास ‘वैष्णव’ले सरोकारवालासँग विवाह पञ्चमी महामहोत्सव मनाउनेबारे छलफल गरेका हुन्। छलफलमा जन्तीका लागि आवास, खाना, शौचालय, स्वागत र मन्दिरमा सजावट गर्ने विषयमा छलफल भएको उत्तराधिकारी महन्थ वैष्णवले जानकारी दिए।

उनका अनुसार शान्ति सुरक्षाको विषयमा समेत छलफल भएको छ। विवाह पञ्चमीमा लाखौं बाह्य पर्यटक आउने गरेको र लुटपाटसमेत हुने गरेकाले शान्ति सुरक्षा चुस्त कसरी बनाउने विषयमा पनि छलफल भएको छ। यसवर्ष भारत बाहेकका ५ देखि ७ सय विदेशी पर्यटक पनि जन्ती बनेर आउने भएकाले सुरक्षा अवस्था कडा पार्नुपर्ने उनको भनाइ छ।

महोत्सवलाई भव्य र सभ्य बनाउन विभिन्न समिति तथा उपसमितिहरूसमेत गठनको तयारी थालिएको छ। उत्तराधिकारी महन्थ वैष्णवले भने, ‘प्रदेश सरकारले गत विवाह पञ्चमीका लागि ५० लाख उपलब्ध गराएको थियो। यसवर्ष पनि हामीले आर्थिक सहयोगको अपेक्षा राखेका छौं।’ उनले अन्य वर्षभन्दा विशेष किसिमले विवाह पञ्चमी मनाउनेसमेत बताए।

यसवर्ष मंसिर १५ गते विवाहपञ्चमी परेको छ। तर मंसिर ९ गतेदेखि नै विवाह पञ्चमी विधिवत सुरु हुनेछ। पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौदिन मटकोर र मंसिर १५ गते रामसीता स्वयंवर गरिनेछ। मंसिर १६ गते रामकलेवा हुनेछ। रामकलेवाको दिन जन्तीलाई विशेष सम्मान गरी बिदाइ गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.