|

बाँके : पाकेर काट्न तयारी अवस्थामा रहेको धानबालीमा लागेको फौजी किरा नियन्त्रण र कृषकलाई क्षतिपूर्तिको माग गर्दै डुडुवा गाउँपालिकाका कृषकले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्।

डुडुवा गाउँपालिका १, २, ३, ४ र ६ का कृषकको धानबालीमा फौजी किराले पुर्‍याएको क्षतिको विवरण संकलन र प्रकोप नियन्त्रणको लागि तत्काल पहल गर्न मागसहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई बुझाएको फौजी किरा पीडित संघर्ष समितिका अध्यक्ष रामधनी यादवले जानकारी दिए। 
डुडुवा गाउँपालिका ६ मा शनिवार भएको किसान भेलाले क्षतिपूर्ति र किरा नियन्त्रणका लागि सरकारलाई दबाब दिन फौजी किरा पीडित संघर्ष समिति गठन गरेको थियो।

अविलम्ब रोग पहिचान गरी विषादीको व्यवस्था, कृषकका लागि आपातकालीन सेवाको सुरुवात, धानबालीको यथासीघ्र अनुगमन र क्षतिको विवरण संकलन गरी कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने माग गरिएको उनले बताए। 'आगामी दिनमा कृषकले लगाउने दलहन, तेलहन र तरकारी खेतीलाई सुरक्षित गर्न पूर्वतयारीको आवश्यक कदम चाल्नु पर्ने माग पनि ज्ञापन पत्र मार्फत गरेका छौँ’, उनले भने।  

नेकपा डुडुवा गाउँपालिकाका अध्यक्ष शकील खानले डुडुवा गाउँपालिका २ र ६ धान पकेट क्षेत्र भएकोले उचित ब्यवस्था गर्न माग गरे। उनले कृषकले रोपेको धानमा ठूलो क्षति पुर्‍याएकोले क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने बताए। 

डुडुवा गाउँपालिका ६ का वडाध्यक्ष मोहनराम मिश्रले धान घर भित्र्याउने बेलामा फौजी किराले ठूलो क्षति पुर्‍याएको भन्दै लागत अनुसारको क्षतिपूर्ति दिन माग गरे। 
फौजी किराले ठूलो क्षति पुर्‍याए पनि गाउँपालिकाले बेवास्ता गरेको कृषकको गुनासो छ।

फौजी किरा नियन्त्रण गर्न बेवास्ता गरिए संघर्षमा उत्रिन बाध्य हुने संघर्ष समितिका अध्यक्ष यादवले चेतावनी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.