|

चितवन : चितवनका एक म्याजिक चालकले सवारीमा छुटेको यात्रुको ठूलो परिमाणको नगदसहितको व्याग सम्बन्धित धनीलाई बुझाएका छन्। चालक कालिका नगरपालिका ३ का २२ वर्षीय सुरेश गुरुङले भरतपुर ८ की ६२ वर्षीया सुमित्रा राणाको १३ लाख रुपैयाँ नगद बुझाएका हुन्। 

आइतबार दिउँसो २:५० बजेको समयमा भरतपुर महानगरपालिका १० शहिदचोकबाट हाकिमचोकतर्फ गइरहेको ना १ ज ७९०१ नम्बरको म्याजिकमा एउटा कालो रङको लेडिज व्याग छुटेको थियो। उक्त व्याग भरतपुर ८ की ६२ वर्षीया सुमित्रा राणाले प्यासिन्जर सिटमा राखेकै ठाउँमा विर्सिएर छाडेका थिइन्। 

सोही समयमा म्याजिकमा यात्रारत अर्का यात्रु झापा भद्रपुर ८ का २२ वर्षीय निरन्जन भट्टारईले छुटेको व्याग देखेपछि म्याजिक चालक गुरुङलाई जानकारी गराए। म्याजिक चालक गुरुङ र यात्रु भट्टराई उक्त व्याग लिएर जिल्ला प्रहरी कार्यालय चितवनको सम्पर्कमा पुगे । 

प्रहरी नायव उपरीक्षक शालिकराम पौडेलको रोहवरमा व्याग खोलेर हेर्दा नगद १३ लाख रुपैयाँ, एउटा मोवाइल र अन्य सामान फेला परेको थियो। त्यसपछि सम्बन्धित धनीलाई बोलाएर नगद र मोवाइलसहितको झोला जिम्मा लगाइएको थियो। 

इमान्दार व्यक्तिहरूका कारण आफूले हराइसकेको नगद पाएको भन्दै सुमित्राले म्याजिकका चालक र यात्रुलाई धन्यवाद दिएकी थिइन्। खुसी हुँदै सुमित्राले भनिन्, ‘सवै मानिस चालक गुरुङ र यात्रु भट्टराई जस्तै इमान्दार हुने हो भने कोही पनि दुखी हुनु पर्ने थिएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.