|

काठमाडौं : नेपाली भाषामा केटाकेटीहरूका निम्ति मौलिक र स्तरीय बाल रचनाहरूको अभावलाई ध्यानमा राखेर नेपालयले बालबालिका निम्ति बाल रचनाहरू निर्माण गर्न शुरु गरेको छ।

नेपालभित्र र विश्वभर छरिएर रहेका नेपालीभाषी बालबालिकाहरू मै समर्पित हुने गरी यो काम नेपालयले अघि बढाएको हो। यस्ता गीतहरूमा शिशु कक्षादेखिका बालबालिकालाई शैक्षिक हिसाबले समेत काम लाग्नेगरि बाह्रखरि, अंकगणितसँगै विविध विषय समेटिएका छन्।

बालबालिकाको मनोभावलाई सुहाउनेगरिका बालरचनाहरू संगीतकार आभासले रचना गरेका छन्। आभासले केटाकेटीका निम्ति तयार पारेका बालगीतहरू पहिले पनि लोकप्रिय भइसकेका छन्।

‘आफ्नै पारिवारिक परिवेशका निम्ति उपयुक्त बालगीतहरूको खोजी गरिरहेका आभासलाई मैले यस क्षेत्रमा उनले पुरानै सीप र अनुभव प्रयोग गरेर नयाँ गीतहरु तयार पार्नसक्ने अनुरोध गरेको थिएँ’, नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘नभन्दै केही महिनामै उनले वर्णमालामा आधारित गीतहरू नै तयार पारिदिए।’

किरणका अनुसार यस्ता बाल गीतहरूलाई पुस्तकाकारमा पनि पब्लिकेशन नेपालयले तयार पारेर सर्वत्र उपलब्ध गराउने तयारी रहेको जानकारी गराएका छन्।

आभासले केटाकेटीका निम्ति त्यस्ता शिक्षाप्रद र रमाइला गीतहरूको सेटै केही समयमा तयार पारिसक्ने जानकारी दिएपछि नेपालयले यसतर्फ काम अघि बढाउन थालेको थियो।

आभासले विविध विषय समेटिएका झण्डै ४० वटा बालगीत तयार पारिसकेका छन्। तिनलाई क्रमशः कार्टुन चलचित्रसहित ‘नेपाली बाल रचना’ च्यानलमार्फत् सार्वजनिक गरिने कुरा नेपालयले जानकारी गराएको छ। यसैक्रममा नेपाली चाड तिहारको सुअवसर पारेर युट्युबमार्फत् बालबालिकालाई उपहारस्वरुप वर्णमालामा आधारित गीतहरूको शृंखला सार्वजनिक गरिने भएको हो। ‘नेपाली बाल रचना’मा संकलित वर्णमालाका यी गीतलाई बालबालिकाले अब कार्टुन चित्र सहित हेर्न र सुन्न सक्नेछन्।

आभासले तयार पारेका वर्णमालाका गीतमा गायिका मिना निरौला र बेनुका राईले स्वर दिएका छन्। निकट भविष्यमै ‘स्वर माला’ पनि सार्वजनिक हुने जानकारी उत्पादक संस्था नेपालयले गराएको छ।

स्वर मालालाई रमाइलो बनाउने उद्देश्यले आभासले ‘अक्कलमान’ नामको चरित्र उभ्याएका छन् जसलाई उनी स्वयंले गाएका छन्। नेपालयले यसरी तयार भएका प्रारम्भिक सिर्जनाहरू युट्युब र सामाजिक सञ्जालहरूमा ‘नेपाली बाल रचना’को नामले उपलब्ध गराउने जानकारी ६ महिना अघि नै गराइसकेको थियो।

आभासले अलिक अगावै तयार पारेका यस्ता केही बालगीतहरुलाई ललितपुरको डिएभी स्कुलस्थित सभाकक्षमा आयोजित पलेँटी उत्सवका बेला प्रस्तुत पनि गरेका थिए। त्यसैगरी आफैँले संयोजन गर्दै आएको पलेँटी श्रृंखलामा पनि आभासले ती गीतको झलक सुनाउँदै आएका छन्।

‘बालबालिका निम्ति बालरचनाहरू तयार गर्दा मैले उनीहरूकै जिज्ञासाका विषय छानेको छुस बेलाबखत पलेँटीमा त्यसको झलक प्रस्तुत पनि गरेको थिएँ’, गीतकार तथा संगीतकार आभासले भने,'मैले मेरो छोराका निम्ति तयार पारेका यी बालगीतहरू अब विश्वभरिका नेपालीभाषी केटाकेटीहरूले उपयोग गर्नसक्ने गरी सार्वजनिक हुँदैछन्। यसले नेपालीभाषाको आँगनलाई जोगाउन मद्दत गर्छ भन्ने कामना छ।’

यी गीतहरूले केटाकेटीलाई एकसाथ रमाइलो प्रदान गर्दै शिक्षाप्रद र ज्ञानगुनका कुरा प्रवाहित गर्न सहयोग पुग्ने विश्वास रहेको कुरा आभास बताउँछन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.