|

पर्वत : कुस्मा नगरपालिका-९ कटुवाचौपारीका सिर्जन पौडेल १२ वर्षका भए। उनी स्थानीय आइबल एकेडेमीको कक्षा ७ मा अध्ययनरत छन्। आफ्नो घरमा पूजाआजा गर्दा ब्राह्मणले संस्कृत भाषामा उच्चारण गरेका सबै शब्दको अर्थ उनी बुझ्न सक्छन्।

सोही कक्षामा अध्ययनरत १३ वर्षीया विद्या अधिकारी पनि संस्कृतका श्लोकहरू सजिलै पढ्न र बुझ्‍न सक्छिन्। यी दु जना विद्यार्थी जस्तै विद्यालयको कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरू सबैले संस्कृतमा राम्रो गर्छन्।

देशका सामुदायिक विद्यालयहरूमा पहिलेपहिले संस्कृत विषयको अध्ययन अध्यापन हुने गरेको थियो। तर १० वर्षे युद्धका क्रममा तत्कालीन माओवादीले संस्कृतलाई बुर्जुवा शिक्षा भन्दै सामुदायिक विद्यालयमा पढाइ हुने गरेको संस्कृत विषयका पुस्तकहरू जलाउँदै विद्यालयमा उक्त विषय अध्यापन गर्न पूर्ण रूपमा अवरोध गर्‍यो। अन्ततः विद्यालय, विद्यार्थी र शिक्षकको बचाउका लागि विद्यालयहरूमा संस्कृत विषयको अध्यापन हुन छाड्यो।

संस्कृत विषयमा संस्कृत भाषाको ज्ञान मात्र नभएर नैतिक आचरण, अनुशासन, कर्तव्यनिष्ठ, इमानदार बन्ने, मृदुभाषी, सहयोगी, आफ्नो मौलिक भाषा र संस्कृतिप्रति गौरव गर्न सिक्ने लगायतका विषयवस्तु पनि समावेश थिए।

संस्कृत विषयको पढाई हुन छाडेसँगै विद्यार्थीहरू अनुशासनबाहिर गएको, मौलिकतामाथि विश्वास नगरेको, इमानदार नबनेको, नेपाली भाषामा नै कमजोर भएको लगायतका समस्या देखिएको शिक्षाविदहरुले बताउँदै आएका छन्।

हराउँदै गएका गुण फिर्ता गराइने

आइबल एकेडेमीले यही विषयलाई मुद्दाको रूपमा उठाउँदै संस्कृत भाषाको संरक्षण गर्न तथा विद्यार्थीहरूमा लोप हुँदै गएका गुणहरू फिर्ता गराउन यसै यसै शैक्षिक सत्रदेखि संस्कृत विषयको पठनपाठन सुरु गरेको विद्यालयका प्रिन्सिपल विमल पौडेलले बताए।

‘संस्कृत विषय नेपाली भाषाको पनि जननी भाषा हो। संस्कृत विषयको अध्ययनले नेपाली भाषा, साहित्य र कलामा पनि निखारता ल्याउँछ।’ उनले भने, ‘संस्कृत विषयको अध्ययन अध्यापन गर्ने हो भने विद्यार्थीमा अनुशासन, इमानदारी लगायतका गुणहरूको विकास राम्रो हुने महसुस भएर यो वर्षबाट यसको अध्यापन सुरु गरिएको हो।’

अभिभावकबाट राम्रो प्रतिक्रिया

विद्यालयमा संस्कृत विषयको पढाइ सञ्चालन गर्दा अभिभावकहरूबाट पनि राम्रो प्रतिक्रिया आएको र विद्यार्थीहरू पनि संस्कृत विषयको अध्ययनमा निकै हौसिएको उनको भनाइ छ। जिल्लाका अन्य निजी विद्यालयहरूले पनि संस्कृत विषयको अध्यापनलाई अगाडि बढाउने तयारी गरिरहेको बेलामा आइबल एकेडेमीले भने परीक्षणका रूपमा संस्कृत विषयको पढाई सुरु गरेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम लामिछानेले भने, ‘सुरुको वर्षमा परीक्षण गरौँ न त भनेर पढाइ सुरु गरियो, अहिले विद्यार्थीहरू यति टाठा भएका छन् कि तपाईँ कक्षामा गएर हेर्न सक्नुहुन्छ।’ अभिभावकहरूबाट समेत संस्कृत विषयको प्रभाव राम्रो पर्ने सुझाव आएपछि यो विषयको पढाई सुरु गरिएको लामिछानेको भनाइ छ।

संस्कृतले नैतिक आचरण सिकाउँदो रहेछ

एकजना अभिभावक प्रकाश अधिकारीले विद्यालयमा संस्कृत विषयको पढाइ सुरु गरेपछि आफ्नो छोराको आचरणमा केही परिवर्तन आएको अनुभव गरेको सुनाए। ‘म त एकदमै खुसी छु हजुर।

विद्यालयको छेवैमा मेरो खाजा घर पनि छ, मैले देखेको छु कि संस्कृत विषयले विद्यार्थीमा उच्च नैतिक आचरणको विकास गराउँदो रहेछ। ज्ञानी बनाउने रहेछ।’ आफूहरुले पनि विद्यालय प्रशासनसँग संस्कृत विषयको अध्यापन गर्न सुझाव दिएको तथा अब देशभरका निजी तथा सामुदायिक विद्यालयमा संस्कृत विषय आवश्यक रहेको उनको भनाइ छ।

विद्यालयको कक्षा ७ मा अध्ययनरत सिर्जन पौडेलले आफ्नो घरमा ब्राह्मणले पूजा गर्दा बोलेका शब्दहरू आफ्ले सबै बुझ्ने गरेको बताए। उनले आफ्नो पाठ्यपुस्तक हेर्दै संस्कृतका श्लोकहरू स्पष्टसँग वाचन गरे अनि त्यसलाई नेपाली भाषामा अर्थ पनि लगाए। विद्यालयमा संस्कृत भाषाको पठनपाठन सुरु गरेपछि छात्राहरू पनि संस्कृत भाषामा पोख्त हुँदै गएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.