पक्राउ गर्दै छोड्दै, महानगर रमिते

|

विराटनगर : विराटनगर महानगरपालिकाको सिमानामा बग्ने केसलीया खोलामा अवैध उत्खनन् बाह्रै मास हुने गरेको छ। त्यसरी अवैध ढंगले उत्खनन् र ढुवानीमा संलग्न स्काभेटर, टिफर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरपालिकालाई बुझाउने क्रम जारी छ।

पटकपटक पक्राउ पर्दा पनि तस्करी नियन्त्रणमा भने आउन सकेको छैन। सनुसरीको दुहबी नगरपालिका १२ बुगढरी बस्ती र केसेलिया खोलाको पुल जोखिममा पारेर अवैध रूपमा उत्खननमा प्रयोग गरिएको स्काइभेटरसहित एक दर्जन माटो बोक्ने सवारी साधन मोरङ प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ। 

प्रहरीले दुहबी नगरपालिका १२ बुगढरीस्थित केशलिया खोला किनारबाट एउटा स्काइभेटर, ८ वटा टिफर र विराटनगर ४ इकराहीबाट अवैध माटो बोकेर लाँदै गर्दा चार वटा ट्याक्टरसहित १३ वटा सवारी साधन नियन्त्रणमा लिएको हो।

प्रहरीले बा १ क ४९६२ नम्बरको स्काइभेटर नियन्त्रणमा लिएको छ। यस्तै को १ ख ५७०९, ना १ क ६२७१, ना १ क ६२६७, ना १ क ६२७०, को १ क २३७२, ना १ क ६२६९, ना १ क ६२६८ र ना १ क ६२६६ नम्बरको टिफर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले नियन्त्रणमा लिएको टिफर अवैध उत्खनन गरिएको माटो लोड गरिएको अवस्थामा केसेलिया खोला किनार र बाटोबाट नियन्त्रणमा लिएको हो। यस्तै स १ त ५४५३, को २ त ५७०४ र को २ त ७१६८ नम्बरको ट्याक्टर प्रहरीले विराटनगरको इकराहीबाट नियन्त्रणमा लिएको हो । अवैध रूपमा माटो तस्करी गर्ने गिरोहले दुहबी नगरपालिका १२ बुगढरीस्थित केसेलिया खोला किनारमा करिब १० देखि १३ मिटरसम्म गहिरो ठूला ठूला खाडल बनाएर माटो उत्खनन् गरेर बेच्ने गरेको पाइएको हो।

विराटनगर ४ इकराही हुँदै सुनसरी जोड्ने केसेलिया खोलाको पुलनजिक अवैध रूपममा माटो उत्खनन् गरिएका कारण पुल पनि जोखिम रहेको स्थानीय बताउँछन्। प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन इटहरीस्थित ‘कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिको’ रहेको खुलेको छ।

केसलिया खोलाबाट झिकेको माटो उनीहरू विराटनगर र सुनसरीको विभिन्न स्थानसम्म पुर्‍याउने गरेको खुलेको छ। प्रहरीले सोमबार नियन्त्रणमा लिएको सावारी साधनले विराटनगरस्थित निर्माणाधिन अवस्थामा रहेकोले नोबेल मेडिकल कलेज पुर्‍याउने गरेको चालकहरूले बताए। उनीहरूले केशलिया खोलाबाट झिकिएको माटो विराटनगरको बगरगाछी र कन्चनबारीसम्म प्रति ट्याक्टर ३ हजारदेखि ४ हजार र प्रति टिफरमा ६ हजार रुपैयाँसम्म बिक्री गर्दै आएका छन्।

विराटनगर बाहिर पुर्‍याए महँगो मूल्यमा विक्री हुने गरेको नियन्त्रणमा लिएको सवारीको चालकले प्रहरीलाई बताएका छन्। खोलाको पुल वारिपरि पाँचसय मिटरसम्म उत्खनन् गर्न नपाइने मापदण्ड कायम गरिएको छ। खोलाजन्य वस्तु निकाल्नुअघि प्रराम्भिक वातावरणीय परीक्षण (आइइई) गरिनुपर्ने कानुनी व्यवस्था छ।

सम्बन्धित स्थानीय तहहरूले ठेक्का लगाएपछि मात्र निर्धारित मापदण्ड अनुसार खोलाजन्य पदार्थ उपयोग गर्न पाउने नियम रहे पनि ती सबै नियमलाई उल्लंघन गर्दै यहाँ अवैध उत्खनन् हुने गरेको छ। यसअघि गत वैशाखको दोस्रो साता पनि उक्त खोलामा अवैध उत्खनन् भएको थियो।

उत्खनन्बारे विभिन्न संचारमाध्यममा समचार प्रकाशित भएपछि प्रहरीले सोही खोलाबाट अवैध रुपमा उत्खनन गरिएको ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो। तर, अवैध माटो तस्करीमा लागेका गिरोहले पुल र बस्तीलाई जोखिम हुने गरि उत्खनन गरिरहेका छन्।

‘केसेलिया खोलादेखि ३१० मिटर उत्तर ठूला-ठूलो खाडल बनाएर उत्खनन् गरेको पाइयो’, मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘खोलाबाट अवैध उत्खनन् गरिएको सवारी साधान नियन्त्रणमा लिएका हौं।’

सनुसरीबाट नियन्त्रणमा लिएको टिफर र स्काइभेटर आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय दुहबी र चार वटा ट्याक्टर मोरङमा पक्राउ गरिएकोले विराटनगर महानगरपालिका पठाएको डिएपी श्रेष्ठले बताए। 

अवैध उत्खनन्का कारण खोला किनारमा गहिरो खाडलको निर्माण भएको छ। जुन खोलाको सतह भन्दा पनि करिब १० देखि १३ मिटर  गहिरो छ। यसरी अवैध उत्खनन गर्दा बाढीको समयमा सिंगो विराटनगर महानगरपालिका र सुनसरीको क्षेत्रको पनि विभिन्न आसपासका क्षेत्र डुबान हुने गरेको छ। गत साउनमा अन्तिम साता आएको बाढीले विराटनगर ६, १२ र १६ नम्बरको बस्तीमा केसलिया खोला पस्दा सयौं घर डुवानमा परेको थियो।

अवैध उत्खनन गर्नेकोे समूह माथिल्लो पहुँचको रहेको कारण सो विषयमा बोल्न समेत सर्वसाधारण डराउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.