अर्थ

प्रदेश १ का ३६ स्थानीय तहमा अमेरिकन फौजी किराको प्रकोप
SHARES

१० हजार बढी घरधूरी किसान प्रभावित

कात्तिक ४, २०७६

    विराटनगर : गत जेठ २२ गते तेह्रथुमको म्याङलुङ नगरपालिका र धनकुटाको पाख्रिबास नगरपालिकामा फेला परेको अमेरिकन फौजी किराको प्रकोप प्रदेश १ को ८ जिल्लाका ३६ वटा स्थानीय तहमा फैलिएको छ। प्रदेशको कृषि निर्देशनालय विराटनगरले दिएको तथ्यांक अनुसार पछिल्लो पटक झापाको भद्रपुरमा अमेरिकन फौजि किरा भेटिएको थियो। 

    हालसम्म अमेरिकन फौजि किराले प्रदेश १ का ८ जिल्लाको १० हजार ६७८ घरधुरी किसानको २ हजार ७१० हेक्टर क्षेत्रफलको मकै बाली सखाप पारेको निर्देशनालयले जनाएको छ। हाल धानमा भने यो किरा देखा नपरेको र यो सिजनमा नियन्त्रणमा आएको निर्देशनालयको बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठले जानकारी दिइन्। यो किराको प्रकोप सबैभन्दा बढी पाँचथरमा देखिएको छ। पाँचथरको तेम्बेवा, कुमायक, फाल्गुनन्द, मिक्लाजुङ, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकामा मात्रै ३ हजार ६ सय ३२ घरधुरी किसानको १ हजार ३ सय ४५ हेक्टर क्षेत्रको मकैबाली नष्ट भएको छ। 

    यस्तै ओखलढुंगाको मानेभन्ज्याङ, सुनकोशी, चिशंखुगढी गाउँपालिका तथा सिद्धिचरण नगरपालिकाको २ हजार १८० घरधुरी किसानको ५ सय हेक्टर, भोजपुरको भोजपुर नगरपालिका, हतुवागढी, अरुण, पौवादुम्बा, आमचोक र रामप्रसाद राई गाउँपालिकाका ८०५ घरधूरी किसानको २८९ हेक्टर, उदयपुरको त्रियुगा, कटारी नगरपालिका तथा रौतामाई गाउँपालिकाको १२९ घरधूरी किसानको २२ हेक्टर क्षेत्रफलमा लगाएको मकै बाली नष्ट भएको छ।

    यस्तै खोटाङको हलेशी तुवाचुङ नगरपालिका, रावावेशी, खोटेहाङ र दिप्रुङचुइचुम्का गाउँपालिकाको ६६० घरधुरीको २२२ हेक्टर, धनकुटाको धनकुटा, पाख्रीबास, महालक्ष्मी नगरपालिका, चौबिसे, साँगुरीगढी, छथर जोरपाटी र सहिदभूमि गाउँपालिकाको गरी १ हजार ७ सय घरधूरीको १८१ हेक्टर, तेह्रथुमको म्याङलुङ नगरपालिका, फेदाप, आठराई, लालिगुराँस र छथर गाउँपालिकाका १ हजार ५७० घरधूरी किसानको १४८ हेक्टर र झापाको भद्रपुर नगरपालिकाको २ वटा घरधुरीको ३ हेक्टर क्षेत्रफलमा लगाएको मकै बाली अमेरिकन फौजि किराले नष्ट गरेको तथ्यांक छ। 

    अबको मकै बाली जोगाउने चिन्ता

    अमेरिका हुँदै भारतसम्म आइपुगेका अमेरिकन फौजी किरा नेपालमा भने वैशाख २७ गते फेला परेको थियो। यस किराको लार्भाले अन्नबालीलगायत विभिन्न ८० प्रकारका बालीनालीमा क्षति पुर्‍याउने गरेको विज्ञहरूको भनाइ छ। 

    मुख्यतः मकै मन पराउने यो कीराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखुबाली, घाँसेबाली, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबालीमा समेतमा क्षति पुर्‍याउने गरेको छ। यो सिजनमा अमेरिकन फौजी किरा नियन्त्रणमा आइसकेको बताइए पनि अब तराई–मधेसमा लगाइने मकै बाली कसरी जोगाउने भन्ने चिन्ताले प्रदेश कृषि निर्देशनालयलाई सताएको छ। 

    ‘यो पटक त लगभग नियन्त्रणमा आइसक्यो’, निर्देशनालयकी बालि संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ, ‘अब तराइमा लगाइने मकै बालीमा यो किरा आएर सखाप पार्ने हो कि भन्ने हामीलाई पनि चिन्ता छ।’ यसका लागि किसानले एउटै समयमा बाली लगाउनु पर्ने, जैविक तथा रासायनिक विषादी तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ। 

    किसान आफैं सचेत हुँदा पनि यसको नियन्त्रणमा धेरै सघाउ पुग्ने बताउँदै श्रेष्ठले मकै उमेरदेखि नियमित अनुगमन गर्नुपर्ने, मकैको घोगामा नोक्सान गर्ने भएकोले खोस्टाले पुरा घोगा छोपिने जातको मकै लगाउन सुझाव दिए। यस्तै सकेसम्म मिश्रित बाली लगाउने, डेस्मोडियम घाँस (एक किसिमको गन्ध आउने विरुवा) मकै बालीको बीचबीचमा लगाउने, नेपियर घाँसलगाएर त्यस बालिमा विषादी प्रयोग गरेर किरा मार्ने, नीमजन्य विषादी एजाडिराक्टिन पानीमा मिसाएर छर्न निर्देशनालयको किसानलाई सुझाव छ। 

    अमेरिकन फौजी किराको इतिहास

    अमेरिका पछि अफ्रिकी महादेशको नाइजेरियामा पहिलो पटक सन् २०१६ को जनवरी महिनामा देखा परेपश्चात यो कीरा ४० अफ्रिकी मुलुकमा फैलिसकेको छ। यो किराले गर्दा सन् २०१७ मा अफ्रिकाको मकै उत्पादन गर्ने १२ देशमा मात्र ४ करोड जनसंख्यालाई असर गरेको छ भने ५३ प्रतिशत मकै उत्पादनमा कमी ल्याएको बताइएको छ। यसबाट झण्डै ६.१९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी पनि भएको छ।

    सन् २०१८ मा भारतको कर्नाटका राज्यमा सो कीरा भेटिएको थियो। तत्पश्चात यस किरा बंगलादेश, श्रीलंका, म्यानमार, भियतनाम, थाइल्याण्ड तथा चीनमा समेत फेला परिसकेको छ।

    यसका लागि नेपालमा उक्त किराको जीवनी, आनिबानी तथा व्यवस्थापनका विभिन्न पक्षको बृहत अध्ययन अनुसन्धान समेत गर्नेुपर्ने देखिएको छ। अमेरिकन फौजी किराको वयस्क पुतली १ दिनमा १ सय किलोमिटरसम्म पनि उडेर जान सक्ने विज्ञहरू बताउँछन्।  यसको आयु २ महिनासम्म रहेको बताइएको छ। 

    स्थानीय फौजी किराको प्रकोपले धान सखाप हुँदै

    निर्देशनालयल दिएको तथ्यांक अनुसार स्थानीय जातको फौजी किराले झापा, सुनसरी, मोरङ र उदयपुरको ५१३ हेक्टर क्षेत्रफलको धानबाली नष्ट गरेको छ। तथ्यांक अनुसार फौजी किराले झापाको भद्रपुर, हल्दीबारी, झापा नगरपालिका, गौरादह, शिवसतासी, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा, बारहदशी, कमल र कन्काईलगायतका स्थानीय तहका ४२२ घरधूरी किसानको २८३ हेक्टर क्षेत्रफलको धानबाली नष्ट गरेको छ।

    यस्तै सुनसरीको धरान उपमहानगरपालिका र बराह नगरपालिकाको ६५ घरधूरी किसानको ७७ हेक्टर, मोरङको सुनवर्षी नगरपालिकाको १२ हेक्टर र उदयपुरको चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाको गरी १४१ हेक्टर क्षेत्रफलको धानबाली नष्ट गरेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

    स्थानीय फौजी किरा भने अमेरिकन फौजी किरा भन्दा कम क्षति गर्ने प्रजातिको किरा हो। यद्यपि यसको नियन्त्रण पनि चुनौति बन्दै गएको निर्देशनालयले जनाएकोछ।

अर्जुन आचार्य

आचार्य थाहा खबरका मोरङ समाचारदाता हुन्। इमेल : jorarjun@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]