१२ जना चिकित्सक पठाइने

|

डडेल्धुरा : डडेल्धुरा अस्पतालका लागि दरबन्दीअनुसारका चिकित्सक पठाइदिन जनप्रतिनिधिसहितको सर्वपक्षीय टोलीले मन्त्रीसँग हारगुहार गरेका छन्। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई भेट्न काठमाडौं पुगेको टोलीले अस्पतालमा चिकित्सक नहुँदा नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित रहेको गुनासो गरे।

सोमबार प्रतिनिधिसभा सदस्य निरादेवी जैरुको नेतृत्वमा गठित समितिले मन्त्री यादवलाई मन्त्रालयमै पुगेर ज्ञापन पत्र समेत बुझाएको छ। ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले डडेल्धुरा अस्पतालका लागि अहिले १२ जना चिकित्सक पठाइने बताए।

जिल्ला सदरमुकाममा रहेको ‘डडेल्धुरा अस्पताल’ हाल एक जना चिकित्सकको भरमा संचालन भइरहेको छ। दरबन्दी अनुसारका चिकित्सक नहुँदा आफैँ थला परेको हो।  दरबन्दीअनुसारका चिकित्सक नपाइकनै नाम परिवर्तन गरी संघीय सरकारको मातहतमा रहेको अस्पताल कर्मचारी समायोजनको चपेटामा परेको हो। 

ज्ञापनपत्र बुझाउन सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल, आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ, उपाध्यक्ष जलादेवी बोगटी, नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्मरी ओली, भागेश्वर गाउँपालिकाका उपाध्यक्ष पदमबहादुर बोहरा, जिल्ला समन्वय समिति सदस्य रामचन्द्र अवस्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट, महासंघका पूर्व केन्द्रीय सदस्य छत्र साउद, अमरगढी नगरपालिका ३ का अध्यक्ष गोविन्द बोहरालगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख, राजनैतिक दल, बार एसोसियसन, नागरिक समाज, पत्रकारलगायत सम्मिलित समिति बनाइ अस्पतालमा रिक्त दरबन्दी पूर्ति र व्यवस्थापनका लागि सम्बन्धित निकायलाइ घचघचाउने प्रतिबद्धता जनाइएको थियो। सोही अनुसार जनप्रतिनिधिसहितको सर्वपक्षीय टोली काठमाडौं पुगेको हो।

सधैंजसो चिकित्सक अभाव झेलिरहेका ‘देशको विशिष्ट’ अस्पताल 

सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यसहित डडेल्धुरा सदरमुकाममा उपक्षेत्रीय अस्पताल स्थापना भयो। त्यतिबेलाको उपक्षेत्रीय अस्पतालले २०७० साल असार १ गतेदेखि सेवा दिन थालेको थियो।  

टिम अस्पताल र जिल्ला अस्पताललाई गाभेर उपक्षेत्रीय अस्पतालका रुपमा एक सय शय्याको उप क्षेत्रीय अस्पताल बनाइसेवा प्रवाहको अस्पताल गत विशेष विशेषज्ञ सेवासहितको ‘डडेल्धुरा अस्पताल’ बनाइए पनि प्रभावकारी ढंगले उपचार सेवा भने छैन। १०० शय्य बनाइ ३९ जना चिकित्सकको दरबन्दी रहने व्यवस्था भएको डडेल्धुरा अस्पताल अहिले विषेश विषेशज्ञ सेवासहितको ‘डडेल्धुरा अस्पताल’ बनाइएको छ।

संघीय सरकारको मातहतमा रहेको यो अस्पताल सुदूरपश्चिम प्रदशको एक मात्र अस्पताल हो। तर, अस्पतालमा अहिले चार जना मात्रै चिकित्सक छन्। त्यसमा पनि एक जना मात्रै स्थायी दरबन्दीका चिकित्सक हुन भने तीनजना करारमा छन्। सेवाग्राहीको भीड उपक्षेत्रीय अस्पताका रुपमा दर्ज गरिँदा १४ वटा विभाग र १० वटा शाखा रहने व्यवस्था थियो। हाल त्यो भन्दा पनि ठूलो ५०० शय्याको अस्पताल घोषणा गरिएपनि दरबन्दी तोकिएका छैनन्। 

अस्पातालमा ११ औँ तहको मेडिकल सुपरिटेनडेण्ट रहनुपर्नेमा हालसम्म यो पद रिक्त छ। कर्मचारी समायोजनले भएका मेडिकल अधिकृतहरू पनि अन्तै गएपछि अस्पतालले दिँदै आएका सेवा समेत प्रभावित भएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए। 

उनका अनुसार कन्सल्टेण्ड चिकित्सक १९ जना र मेडिकल अधिकृत १८ जना, ४४ प्रकारका कर्मचारीलगायत रहने गरी १०९ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो।  

‘हाल हेर्ने हो भने एक जना भर्खरै पढाइसकेर आउनुभएका मेडिकल अधिकृत छन्। उनी नै अहिले अस्पतालका निमित्त मेसु छन्। तीन जना चिकित्सक करारमा छन्’ उनले भने, ‘एकजना डेण्टल सर्जन छन्। प्रदेश सरकारदले पठाएको। एक जना छात्रवृत्ति करारमा फिजिसियन मेडिसिन (एमडी) र एकजना बाल रोग विषेशज्ञ छन्।’

अस्पताल संघको मातहतमा रहँदा पनि दरबन्दीअनुसार चिकित्सक नपाउँदा सेवा दिन अप्ठ्यारो भइरहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.