|

विश्व टेस्ट च्याम्पियनसिपमा भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको  टेस्ट सिरिजमा प्रभावसाली जित निकालेको छ।  तीन खेलको सिरिज क्लीन स्वीप गर्ने क्रममा दक्षिण अफ्रिका विरुद्ध इनिङ र २०२ रनको जित निकालेको हो। 

भारतले तेस्रो टेस्टमा दक्षिण अफ्रिकालाई सहज रुपमा पराजित गर्ने क्रममा मङगलबार केवल दुई ओभरनै पर्याप्त बन्यो। राँचीमा भएको तेस्रो टेस्टमा फलोअनमा परेको दक्षिण अफ्रिका दोस्रो इनिङमा १३३ रनमै अलआउट भयो। अघिल्लो दिन ८ विकेट गुमाएको दक्षिण अफ्रिकाको अन्तिम २ विकेट भारतका साहबाज नदीमले लिए। दोस्रो इनिङमा दक्षिण अफ्रिकाका लागि जर्ज लिन्डले सर्वाधिक २७ रन जोड्नु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन्। बलिङमा भारतका मोहमद सामीले ३ विकेट लिँदा उमेश यादव र नदीमले समान २–२ विकेट लिए।

पहिलो इनिङमा दक्षिण अफ्रिका १६२ रनमै अलआउट हुँदा फलोअनमा परेको थियो। दक्षिण अफ्रिकाका लागि पहिलो इनिङमा जुबायर हम्जाले सबैभन्दा बढी ६२ रन जोड्दा बलिङमा भारतका उमेश यादवले ३ विकेट लिए। मोहमद सामी, नदीम र जडेजाको नाममा २–२ विकेट रह्यो।

पहिलो इनिङमा भारतले ९ विकेटको क्षतिमा ४९७ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो। भारतका लागि ओपनिङ ब्याट्सम्यान रोहित शर्माले टेस्ट करिअरमा पहिलो दोहोरो शतक प्रहार गरेका थिए। उनले २५५ बलमा २८ चौका र ६ छक्काको मद्दतमा २१२ रन बनाएका थिए।  त्यस्तै अजिंन्क्य राहाणेले ११५ रनको योगदान दिए। उनले १९२ बलमा १७ चौका र १ छक्का हिर्काए। रवीन्द्र जडेजाले ५१ रनको योगदान दिए।

बलिङमा दक्षिण अफ्रिकाका जर्ज लिन्डले ४ विकेट र कागिसो रबाडाले ३ विकेट लिए। जारी टेस्ट च्याम्पियनसिपमा भारतको यो लगातार पाँचौ खेलमा जित हो। शीर्ष स्थानमा रहेको भारतले २४० अंक जोडिसकेको छ। २ खेलमा १ जित हात पारेको न्युजिल्यान्ड ६० अंकका साथ दोस्रो स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.