पर्वत : पर्वतको बिहादी गाउँपालिका २ बर्राचौर र ३ रानीपानीका स्थानीयलाई सुविधाजनक तरिकाले धारामा आएको पानी पिउन पाउँला जस्तो लागेको थिएन।
खानेपानीको मूल प्रयोग गर्ने बारेमा आएको विवादले सजिलोसँग पानी भर्न पाउने उनीहरूको धोको अधुरो रहेको थियो। आधा घण्टाभन्दा लामो समय हिँडेर गाग्रीमा पानी ओसार्नुपर्ने उनीहरूको बाध्यता अब हटेको छ।
२०५३ सालमा निर्माण प्रारम्भ गरिएको ‘लिसे गैह्रा खानेपानी तथा सरसफाइ योजना’ २३ वर्षपछि सम्पन्न भएको हो। बर्राचौर र रानीपानीमा पानीको समस्या रहेकोले खानेपानी योजना निर्माण गर्न थालिएको थियो।
पछिल्लो समयमा मूलको विवाद समाधान गरेपछि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसरफाई परियोजना (दोस्रो चरण) र उपभोक्ताको श्रमदानबाट योजना सम्पन्न गरेर बर्राचौर र रानीपानीका बासिन्दाको २३ वर्षदेखिको सपना पूरा गरिएको हो। २०४२/०४३ सालमा नै खानेपानीको योजनाको सर्वेक्षण भए पनि निर्माण हुन नसकेको तर २०५३ मा निर्माण सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष श्यामलाल गिरीले बताए।
‘मुख्य पाइपलाइन, ट्यांकी निर्माण भएपछि मूलको विषयमा विवाद हुँदा ७० प्रतिशत काम पुरा भए पनि त्यसै छाडिएको थियो।’ उनले भने, ‘सबै क्षेत्रको अथक प्रयासबाट तीन दशक अघि देखिको सपना बल्ल पूरा भएको छ।’
योजना सम्पन्न भएसँगै सबैभन्दा बढी घरको काम गर्दै आएका महिलाहरूमा खुसीयाली छाएको छ। ‘बिहान र बेलुका पानीको जोहो कसरी गर्ने? भन्ने चिन्ताले सताउँथ्यो। डोकोमा पानी बोक्दा बोक्दा हैरान परिन्थ्यो’ उपभोक्ता हिरा के.सी. भन्छिन्, ‘एक महिनासम्म निरन्तर श्रमदान गरेर भए पनि हामीले पानी बोक्ने दुःखको अन्त्य गर्न सफल भएका छौँ। घरका काम गर्ने महिलाहरूलाई बढी दुःख भएको थियो। अब अलि सुख हुने भयो।’
आयोजना सम्पन्न भएपछि दुई वडाका १९३ घरमा एक/एक ओटाको दरमा धारा निर्माण गरिएको छ भने विद्यालय, सार्वजनिक संस्था, मन्दिरहरूमा सामुदायिक धारा समेत निर्माण गरिएका छन्। खानेपानी योजना १ करोड ४३ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो। त्यसमध्ये उपभोक्ताले जनश्रमदान र नगद गरी ५० लाख भन्दा बढी खर्च गरेका छन्।
खानेपानी योजनाको प्रतिनिधिसभाका सदस्य पदम गिरीले उद्घाटन गरे। उनले पर्वत जिल्लाका प्रति घरधुरीमा एक धारा पुर्याउने लक्ष्य आफ्नो कार्यकालभित्रै पुरा गर्ने प्रतिबद्धता समेत जनाए।
‘पर्वत जिल्लाका धेरै ठाउँमा अझैं पनि पानीको चरम समस्या रहेको अवस्था छ’ गिरीले भने, ‘मैले मेरै पालामा त्यस्ता ठाउँहरूमा पानीको सहज आपूर्ति गराउँछु भनिरहेको छु। यो मेरो प्रतिबद्धता हो। पूरा हुन्छ।’
बिहादी गाउँपालिकाका केही वडामा खानेपानीको अधिक समस्या भएकाले पालिकाले समस्या पहिचान गरी एक घर एक धारा निर्माणको काम गरिरकेको गाउँपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।