|

ओखलढुंगा : पर्यटक वर्ष  २०२० मा ओखलढुंगाको पोकलीमा २० हजार पर्यटक भित्र्याइने भएको छ। पर्यटन वर्ष २०२० भित्र नेपालमा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको घोषणाअनुसार पोकली झरनामा २० हजार पर्यटक ल्याउने योजना रहेको हो।

ओखलढुंगाको पोकलीमा पर्यटन प्रवर्धनका लागि विभिन्न पूर्वाधार निर्माण गर्नमा आफूहरू लागिपरेको पोकली झरना सेवा समाजका अध्यक्ष मिलनकुमार विष्टले बताए।

२०२० मा कम्तीमा २० हजार विदेशी पर्यटक पोकली झरना देखाउन ल्याउने र महोत्सव सहितका औपचारिक कार्यक्रम गरी झरना र पोकली यहाँको विशेषता सहितको वृतचित्र बनाएर विश्वभर प्रचार गर्ने तयारी भइरहेको उनको भनाइ छ।

प्रचारप्रसारको अभावले ओझेलमा परेको पोकली झरनाको विश्वमा प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखी ०६५ देखि निरन्तर ३ वटा पोकली झरना महोत्सवसमेत भएका थिए। पर्यटकीय क्षेत्र पोकली झरनाको प्रचारप्रसारका लागि कात्तिक १६ गते सांस्कृतिक महोत्सवसमेत गरिन लागेको पोकली झरना सेवा समाजले जनाएको छ।

सांस्कृतिक महोत्सवमा इन्द्रेणी समाज काठमाण्डौ र जिल्लाका कलाकारहरुको प्रस्तुति रहनेछ। महोत्सवमा तामाङ, सुनुवार, ब्राह्मण, शेर्पा, मगर सहितका जातजातिले आ–आफ्नो जातीय पहिचान झल्काउने सांस्कृतिक झाँकी प्रदर्शन गर्नेछन्। सांस्कृतिक महोत्सवको पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम तय भएको सेवा समाजले जनाएको छ।

सय गन्तव्‍य सूचीमा

१ सय ३० मिटर अग्लो पोकली झरना सौदर्यता र पाकृतिको अमूल्य उपहारको रूपमा रहेको छ। वर्षयाममा झरनाको मनमोहक दृश्य देख्‍न सकिन्छ। हिउँद याममा क्यानोनिङका लागि साह्रै उपयुक्त मानिन्छ।

लिखु गाउँपालिका ९, ओखलढुंगामा पर्ने पोकली झरना पर्यटन वर्ष २०२० को १०० गन्तव्य सूचीमासमेत परेको छ। आन्तरिक तथा बाह्य पर्यटक दुवैका लागि एकपटक पुग्नै पर्ने गन्तव्य हो पोकली झरना।

धेरै नेपालीले समेत हुलाकका टिकट र खाममा पोकली देखे पनि यसको प्रत्यक्ष अवलोकन गर्न पुगेका छैनन्। त्यसैले पर्यटन वर्षमा घुम्ने योजनामा हुनुहुन्छ भने त्यसको सूचीमा पोकलीलाई राख्न सक्नुहुन्छ।

पोकली झरनासम्मै पुग्‍छ गाडी

पोकली जानका लागि सबैभन्दा छोटो बाटो हालसम्म रामेछाप सदरमुकाम मन्थलीबाट पुगिन्छ। काठमाडौंदेखि मन्थली चार घण्टामा र त्यहाँबाट कच्ची बाटो तीनदेखि साढे तीन घण्टामा पोकली पुग्न सकिन्छ। बाटो कच्ची भएकोले वर्षमायामा केही समस्या हुने गरे पनि अबको समय पोकली सहज रुपमा पुग्न सकिन्छ।

वर्षमायामा फोर ह्विल गाडी लिएर जाँदा पोकलीसम्मको यात्रा सहज हुने गर्दछ। हिउँद लागेसँगै साना गाडी तथा बसहरू नै पोकली झरनासम्म पुग्छन् अहिले पनि गत आइतबारदेखि अरनिको यातायातका बसहरु सञ्‍चालनमा आइसकेका छन्।

मोटरसाइकलमा पनि पोकली जान सकिन्छ। काठमाडौँबाट खुर्कोट, मन्थली, धोबी, सिरिसे, ढाडे हुँदै पोकली जान सकिन्छ। अफरोड मोटरसाइकल चलाउनले वैकल्पिक ट्यूब र हातेपम्प जस्ता सामग्री साथै लिएर जान सके बाटोमा सहज हुन्छ। यस्तैगरी, रामेछापको मन्थली सालु हुँदै साँघुटार बजारबाट लिखु गाउँपालिकाको केन्द्र यसम हुँदै पनि पोकली पुग्न सकिन्छ।

पोकलीदेखि पिके पदयात्रा

पोकली झरनासँग जोडेर सोलुखुम्बुको पिकेसम्म पदमार्ग निर्माण गर्ने तयारी भएको छ। यसलाई पोकली टु पिके ट्रेल नामकरण गरिने बताइएको छ। पोकली झरनादेखि चुली गौरीवन हुँदै देम्बाडाँडा र सोलुखुम्बुको पिकेसम्म पदमार्ग निर्माण गरिनेछ।

यस पदमार्गमा गुराँस फूल्ने र डाँफे भेटिने जंगल हुँदै सगरमाथा हिमशृंखला नजिकबाट नियाल्ने ४ हजार २ सय मिटर उचाइको पिके डाँडा पर्दछ। यो पदयात्रा थोरै खर्चमै अत्यन्तै आकर्षक गन्तव्यहरू हेर्दै गरिने नयाँ पदमार्गको रूपमा विकास हुँदै छ।

पदमार्गका लागि संविधानसभाको निर्वाचनपश्चात संविधानसभाका पूर्वसभासद बालकृष्ण ढुंगेलसहित पोकलीको  एउटा समूह नै सक्रिय भएर लागि परिरहेको छ। पोकली पर्यटकीय क्षेत्र भए पनि २०६४ को निर्वाचनअघि यसको प्रचारप्रसार अभावमा पर्यटन भित्र्याउन नसकिएको स्थानीय बताउँछन्।

 पवर्द्धनका लागि २०६५ मा पहिलो पोकली झरना महोत्सव भएपछि पोकली झरना आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थान बन्न सफल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.